विशेष महाधिवेशन विधानविपरीत छ : खड्का
‘कांग्रेसको विधानबारे निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छौँ,’ खड्काले भने, ‘हामीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइसकेका छौँ। सर्वसम्मत निर्णयका आधारमा आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका छौँ।’
काठमाडौं, माघ २ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र केही व्यक्तिले विशेष महाधिवेशनको नाममा अनुशासनबाहिरका गतिविधि गर्दै आएको आरोप लगाएका छन्।
पार्टी विभाजनपछिको अवस्थाबारे नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै उनले विधानविपरीत विशेष महाधिवेशनका नाममा भेला आयोजना गरी निर्वाचन आयोगसम्म पुगेको विषय सञ्चारमाध्यमबाट जानकारी पाएको बताए।
त्यसपछि पार्टीको सिंगो कार्यसमिति निर्वाचन आयोग पुगेर वैधानिकता र अधिकारको विषयमा आफ्नो धारणा राखेको उनले स्पष्ट गरे।
‘कांग्रेसको विधानबारे निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छौँ,’ खड्काले भने, ‘हामीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइसकेका छौँ। सर्वसम्मत निर्णयका आधारमा आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका छौँ।’
उनले नेपाली जनताले कांग्रेसप्रति विश्वास र भरोसा गरेको बेला त्यो विश्वासमा ठेस पुग्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले विशेष महाधिवेशनको भेला रोकिएको बताए। पार्टीमा एकताको भाव कायम गर्न विशेष महाधिवेशनको माग गर्ने नेताहरूसँग संवाद गरिएको भए पनि धेरै विषयमा भ्रम फैलाइएको उनको भनाइ थियो।
टिकटको हस्ताक्षर मैले छाडेर कार्यवाहकको मात्रै होइन, गगनजी तपाईंले जसलाई भन्नुहुन्छ म उसैलाई दिन तयार छु भनेर सभापतिले भन्नुभएको थियो। पार्टीको विखण्डन रोक्नकै लागि यो तयारी गरिएको हो,’ खड्काले सभापति शेरबहादुर देउवाको भनाइ उद्धृत गर्दै भने।
उनले गगन पक्षले सभापति र केन्द्रीय समितिलाई देखाएर झूटा कुराको प्रचार गरेको आरोप लगाए।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)