सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम
मन्त्री इङ्नामले मालपोत कार्यालयलगायत सार्वजनिक निकायमा व्याप्त भ्रष्टाचार, विचौलिया र दलाली प्रवृत्तिको सबै तहबाट कडा विरोध गर्नुपर्ने आवश्यकता औंल्याए।
काठमाडौं, माघ २ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा. कुमार इङ्नामले सुशासनको सुरुआत अब हरेक निकाय र व्यक्ति आफैँबाट हुनुपर्ने बताए।
आज कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयबाट जग्गा प्रशासनसम्बन्धी मालपोत कार्यालयका सेवा–सुविधा प्रदान गर्ने कार्यको शुभारम्भ कार्यक्रममा उनले भ्रष्टाचार, विचौलिया र दलालीलाई निस्तेज नगरी सुशासन सम्भव नहुने स्पष्ट पारे।
मन्त्री इङ्नामले मालपोत कार्यालयलगायत सार्वजनिक निकायमा व्याप्त भ्रष्टाचार, विचौलिया र दलाली प्रवृत्तिको सबै तहबाट कडा विरोध गर्नुपर्ने आवश्यकता औंल्याए।
सुशासनको स्थापनाका लागि अब नेतृत्व तहदेखि कर्मचारी र आमनागरिकसम्म सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। मन्त्री इङ्नामले कुशासनको अन्त्य गर्दै पारदर्शी र जवाफदेही प्रशासनिक प्रणाली विकास गर्नु आजको अपरिहार्यता भएको बताए।
‘हामी सबै कुशासनविरोधी कुरा गर्छौं। अब सुशासनको सुरुआत हामीबाट नै हुनुपर्छ । भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिन सक्नुपर्छ । विचौलिया र दलालीको सामूहिक रूपमा विरोध गर्न सक्नुपर्छ,’ उनले भने।
मन्त्री इङ्नामले हाल आमनागरिक कुशासनका कारण विभिन्न समस्यामा परिरहेको उल्लेख गर्दै कुशासनको मूल जड नै भ्रष्टाचार भएको धारणा राखे। भ्रष्टाचार नियन्त्रण नगरेसम्म जनताले राज्यप्रति विश्वास गर्न नसक्ने भन्दै त्यसको अन्त्यका लागि कडा कदम चाल्न आवश्यक रहेको उनको भनाइ थियो।












