कुनैपनि पदाधिकारी वा व्यक्तिलाई विशेष महाधिवेशन बोलाउने अधिकार छैन : डा. कोइराला
उनले ४०प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउने अधिकार राखेपनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि भने केन्द्रीय कार्यसमितिले मात्रै बनाउनुपर्ने बताए।
काठमाडौं, माघ २ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गरेका छन्।
निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पुगेका नेता कोइरालाले विशेष महाधिवेशनको सम्पूर्ण कार्यतालिका केन्द्रीय कार्यसमितिले नै तय गर्नुपर्ने बताएका छन्।
विधानको स्पष्ट व्यवस्था उल्लेख गर्दै उनले ४०प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउने अधिकार राखेपनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि भने केन्द्रीय कार्यसमितिले मात्रै बनाउनुपर्ने बताए। नेपाली कांग्रेसको सिंगो केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमै उपस्थित रहेको उल्लेख गर्दै उनले केही व्यक्ति मात्र अलग्गिएको टिप्पणी गरे।
‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले बोलाउने अधिकार छ। तर विशेष अधिवेशन कार्यसूची, कार्यतालिका, कार्यविधि सबै केन्द्रीय कार्य समितिले बनाउनुपर्छ भन्ने कुरा प्रष्ट रुपले विधानले भनेको छ,’ उनले भने, ‘नेपाली कांग्रेसको सिंगो केन्द्रीय कार्य समिति निर्वाचन आयोगमै हुनुहुन्छ। केही चोइटिएर जानुभएको होला। विधानमा कुनै पदाधिकारीलाई विशेष अधिवेशन बोलाउने अधिकार नै छैन। कसैले कुनै पदाधिकारी या कसैले पनि विशेष अधिवेशन बोलाउने अधिकार छ की छैन, कांग्रेसको विधानले त्यो अधिकार दिएको छैन।’
डा. कोइरालाले नेपाली कांग्रेसको विधानअनुसार कुनैपनि पदाधिकारी वा व्यक्तिलाई एकल रूपमा विशेष महाधिवेशन बोलाउने अधिकार नदिइएको स्पष्ट पारे । विशेष महाधिवेशनका लागि संकलन गरिएका हस्ताक्षरमध्ये धेरै फिर्ता भइसकेको दाबी गर्दै नेता कोइरालाले ती हस्ताक्षर फिर्ता भएको निस्सा प्रमाणका रूपमा आफूहरूले ल्याएको समेत बताए।
‘व्यक्ति होइन हामीले संस्था खोजेको हो। त्यो संस्थालाई हेरेर अगाडि जानुपर्ने हुन्छ । सिग्नेचरहरु फिर्ता भएको निस्सा हामीसँग पनि छ,’ उनले भने।
यसैगरी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति बाहेक विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय सभापतिलाई समेत नरहेको बताए।
‘केन्द्रीय कार्यसमिति बाहेक विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय सभापतिलाई पनि छैन, कार्यवाहाकलाई पनि छैन, कुनै पदाधिकारीलाई पनि छैन, व्यक्तिलाई पनि छैन,’ उनले भने।









![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)


