नेपालमा नेपाली सरकार हुनुपर्दछ, विदेशीको सरकार होइन : ओली
‘इतिहासमा पहिले पनि संघर्ष थियो, अहिले पनि छ। बलिदानको शृङ्खला पहिले पनि थियो, अहिले पनि जारी छ। जनतामाथि आक्रमण र दमनका बीचमा पनि जनताले संघर्ष जारी राख्दै उपलब्धि हासिल गरेका छन्।’
काठमाडौं, माघ १ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालमा नेपालीकै सरकार हुनुपर्नेमा जोड दिएका छन्।
४२औँ ‘पिस्कर सहिद स्मृति’ दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले इतिहासदेखि नै संघर्ष, त्याग र बलिदानको परम्परा निरन्तर चलिरहेको बताए।
अध्यक्ष ओलीले संघर्ष आफूहरूबाट मात्रै सुरु नभएको उल्लेख गर्दै भने, ‘इतिहासमा पहिले पनि संघर्ष थियो, अहिले पनि छ। बलिदानको शृङ्खला पहिले पनि थियो, अहिले पनि जारी छ। जनतामाथि आक्रमण र दमनका बीचमा पनि जनताले संघर्ष जारी राख्दै उपलब्धि हासिल गरेका छन्।’
उनले उपलब्धि र संघर्ष दुवै सँगसँगै अघि बढिरहेको उल्लेख गर्दै अझैपनि त्याग र बलिदान गर्नुपरेको बताए।
अध्यक्ष ओलीले वर्तमान राजनीतिक संघर्षको मुख्य विषय नेपालमा नेपालीकै सरकार स्थापना गर्ने रहेको स्पष्ट पारे। उनले नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र भएकाले यहाँ विदेशी होइन, नेपाली सरकार हुनुपर्ने धारणा राखे।
‘आजको राजनीति हामीले बुझ्न जरुरी छ। आजको राजनीति र राजनीतिक लडाई दुईवटा कुराको बीचमा छ। पछिको गन्तव्य अर्को होला प्रतिक्रियावादीहरुको । आजको गन्तव्य नेपालमा नेपाली सरकार बन्नु हुँदैन,’ उनले भने, ‘उनीहरुको कुरा यस्तो छ, अहिले हाम्रो संघर्ष अरु भन्दा पनि नेपालमा नेपालीको सरकार हुनुपर्छ। नेपाल सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो। यो स्वतन्त्र राष्ट्र हो र यहाँ नेपाली सरकार हुनुपर्दछ। विदेशीको सरकार होइन।’
उनले नेपालीकै सरकार हुनुपर्छ भन्ने शक्तिहरूमाथि आक्रमण भएको आरोपसमेत लगाए। उनले मनोबल कमजोर पार्न व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका भवनमा आगजनी गरिएको तथा नेपाली अर्थतन्त्र बलियो हुनुपर्छ भन्ने उद्योग–व्यवसायहरूमा आक्रमण गरिएको बताए।
अध्यक्ष ओलीले यस्ता गतिविधिविरुद्ध सचेत रहँदै राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
‘नेपालीको सरकार हुनुपर्छ भन्नेहरुको घरहरुमा छानीछानी आगो लगाइयो। त्यस्तो भन्ने राजनीतिक पार्टीहरु जलाइएका छन्। नेपालीकै सरकार भएको हुनाले नेपालीको सरकार हुनुपर्छ भन्नेको मनोबल टुटाउन व्यवस्थापिका भवन आगो लगाउने, कार्यपालिका भवन आगो लगाउने, न्याय पालिका भवन आगो लगाउने, नेपालको राष्ट्रिय अर्थतन्त्र, नेपाली अर्थतन्त्र हुनुपर्छ भन्ने अरुका उद्योगहरु जलाउने काम भए,’ उनले भने।









![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)


