वार्ता टोलीको निष्कर्ष आएपछिमात्रै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने
वार्ता नटुंगिएका कारण बैठकका लागि नेताहरूले वार्ता समितिको निष्कर्ष कुरिरहेका छन् । वार्ता टोलीको निष्कर्ष आएपछि मात्र केन्द्रीय कार्यसमितिको बैठक बस्ने जनाइएको छ।
काठमाडौं, पुस २९ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न ढिलाई भएको छ। विशेष महाधिवेशन पक्षधरसँग वार्ता टोलीको छलफल जारी रहेकाले बैठकमा ढिलाइ भएको हो।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म पनि बसेको छैन। अहिले कांग्रेस संस्थापन पक्ष, विशेष महाधिवेशन पक्ष र मध्यमार्गी भूमिकामा रहेका डा.शेखर कोइराला पक्षको टोलीबीच दिउँसो ३ बजेदेखि वार्ता जारी रहेको छ।
विशेष महाधिवेशनका कारण कांग्रेसमा उत्पन्न विवाद समाधानका लागि तीनै पक्षका वार्ता टोलीका सदस्य दोस्रो पटक छलफलमा बसिरहेका छन्।
पार्टी एकता बचाउन र मेलमिलापका लागि सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू रमेश लेखक र बालकृष्ण खाण, डा.शेखर कोइराला पक्षीय नेताहरू सहमहामन्त्री जीवन परियार र नेता मीनेन्द्र रिजाल तथा महामन्त्रीद्वय थापा र शर्मा पक्षीयहरू नेता प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसेले विभिन्न कोणबाट छलफल गरिरहेका छन्।
विशेष महाधिवेशनले बनाएको केन्द्रीय निर्वाचन समितिले निर्वाचनका कार्यक्रम तय गरीसकेको छ । मंगलबार साँझ ५ बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको छ । यद्धपी, निर्वाचन समितिले मतदान भने बुधबारका लागि तय गरेको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएपछि कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठक डाकेका थिए।
वार्ता नटुंगिएका कारण बैठकका लागि नेताहरूले वार्ता समितिको निष्कर्ष कुरिरहेका छन् । वार्ता टोलीको निष्कर्ष आएपछि मात्र केन्द्रीय कार्यसमितिको बैठक बस्ने जनाइएको छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










