पृथ्वीनारायणलाई सम्झिन नसक्नेहरु नेपाली होइनन् : पूर्वमन्त्री विष्ट

कीर्तिपुर, पुस २७ : राष्ट्रिय शक्ति नेपालका अध्यक्ष एवम पूर्वमन्त्री केशर बहादुर बिष्टले पृथ्वीनारायण शाहले पहिलै सबै जातको फूलबारी भनेको देशलाई आज फुटाएर सकाउन खोजिएको बताएका छन्।
आइतबार कीर्तिपुरको लाइब्रेरी चोकमा आयोजित कार्यक्रममा उनले पृथ्वीनारायण शाहले सबै जातको फूलबारी भनेको देशलाई आज फुटाउन खोजिएको भन्दै त्यसकारण पनि पृथ्वी जयन्ती मनाउन आवश्यक रहेको बताए।
नेपाली भनेर गौरव गर्ने हो भने पृथ्वीनारायणलाई सम्झिनैपर्ने भन्दै शाहलाई सम्झिन नसक्ने मान्छे नेपाली नभएको पनि उनको भनाई छ।
‘पृथ्वीनारायण शाहले त्यहीबेला सबै जातको फूलबारी भनेको देशलाई आज फुटाएर वा मासेर सकाउन खोजिएको छ। त्यसकारण नै पृथ्वी जयन्ती मनाउनपर्छ। पृथ्वीनारायण शाहको जय गर्नुपर्छ,’ उनले भने, ‘हामीले नेपाली भनेर गौरव गर्ने हो भने पृथ्वीनारायणलाई सम्झिनैपर्छ नत्र त्यो नेपाली हुन सक्दैन।’
यस्तै, उनले अहिले सार्वभौम भई फैलिएको मेची–महाकाली भनेर राष्ट्रिय गान गाउने गरेको उल्लेख गर्दै त्यो सार्वभौम भएर होईन् खुम्चिएर मेची महाकाली भएको बताए।
‘हामीले अहिले सार्वभौम भइ फैलिएको मेची महाकाली भनेर राष्ट्रिय गान गाउँछौ तर त्यो सार्वभौम भएर होइन, खुम्चिएर मेची–महाकाली भएको हो । बेलायतसँग भएको सम्झौता र सुगौली सन्धिले हामीलाई मेची–महाकालीमा खुम्चाएको हो,’ उनले भने।
देश बिगार्ने षड्यन्त्र अहिले मात्र होइन पृथ्वीनारायण शाहको समयदेखि नै रहेको भन्दै हिन्दु धर्मको रक्षाको लागि पृथ्वी नारायण शाहले बसालेको जगको विरुद्ध इसाईहरुले षड्यन्त्र गरेको पनि उनको भनाई छ।
‘देश बिगार्ने षड्यन्त्र अहिले मात्र होइन पृथ्वी नारायण शाहको समयदेखि नै थियो। हिन्दु धर्मको रक्षाको लागि उनले जग बसाले इसाईहरुले हाम्रो विरुद्धमा षड्यन्त्र गरे। एउटा सानो किताबमा लेखेको भरमा पृथ्वीनारायण शाहले नाक र कान काट्यो भनेर आजसम्म कीर्तिपुरका जनताले चित्त दुखाइरहेका छन्,’ उनले भने।
कार्यक्रममा कीर्तिपुर–४ स्थित लाइब्रेरी चोक नजिक निर्माण गरिएको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरिएको थियो। स्थानीय समाजसेवी ध्रुव बस्नेतको अगुवाइमा भएको कार्यक्रममा इतिहास जगेर्ना गर्न सबै एकजुट हुनुपर्नेमा वक्ताहरुले जोड दिए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










