चन्द्र भण्डारी र सुनील शर्मा भन्छन्- पार्टी विभाजन हुन दिंदैनौं
शनिबार काठमाडौंमा आयोजित विशेष महाधिवेशनसम्बन्धी संयुक्त पत्रकार सम्मेलनमा उनले अहिले पार्टीभित्र विवादको अवस्था सिर्जना भएको र पार्टी फुट्ने हो क , टुक्रिने हो की भन्ने प्रश्न उठेको भन्दै कुनैपनि हालतमा पार्टीलाई विभाजन हुन नदिने बताए।
काठमाडौं, पुस २६ : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कुनै पनि हालतमा पार्टीलाई विभाजन हुन नदिने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित विशेष महाधिवेशनसम्बन्धी संयुक्त पत्रकार सम्मेलनमा उनले अहिले पार्टीभित्र विवादको अवस्था सिर्जना भएको र पार्टी फुट्ने हो क , टुक्रिने हो की भन्ने प्रश्न उठेको भन्दै कुनैपनि हालतमा पार्टीलाई विभाजन हुन नदिने बताए।
‘नेपाली जनताको निराशा पैदा भएको बेला काङ्ग्रेस पार्टीभित्रको विवादले झन् दुःख पैदा गरेको छ। पार्टीमा जुन विवाद आइ रहेको छ, यस्तोबेला हाम्रो भूमिका के हो भन्ने प्रश्न सबैमाथि उठेको छ,’ उनले भने, ‘पार्टी फुट्ने होकि, टुक्रिने हो की भन्ने पनि छ। देशभर भएका साथीहरुलाई के आग्रह गर्न चाहन्छौं भने कुनैपनि हालतमा पार्टीलाई विभाजन हुन दिदैँनौ।’
अहिले जुन विशेष महाधिवेशनको नाममा देशभरबाट आएका सदस्यहरुलाई उत्साहित गर्दै चार महिना पछि हुने महाधिवेशनमा आउन आग्रह गर्ने पनि उनको भनाई छ। उनले पार्टीलाई विभाजन नगरी इतिहासले दिएको कुरालाई अगाडि लान पनि आग्रह गरेका छन्।
सोही क्रममा नेपाली कांग्रेसका नेता सुनील शर्माले संस्थापन पक्षले विधानको व्यवस्थालाई बेवास्था गरेको कारणले आज भीरमा गएर काङ्ग्रेस अड्किएको बताए।
‘५४ प्रतिशत साथीहरुले मुलुकभरबाट विशेष महाधिवेशनको बारेमा छलफल गरौं भनेर विधानसम्मत हिसाबले छलफल गरेको अवस्थामा विधानको व्यवस्थालाई बेवास्था गरेर संस्थापन पक्षले कमजोरी गरेको छ,’ उनले भने, ‘जसका कारण आज अवस्था यस्तो भयो कि एउटा डिलमा भीरमा गएर काङ्ग्रेस पार्टी अड्किएको अवस्था छ।’
नेता शर्माले यस विषयमा रात दिन निन्द्रा, भोक र प्यास नभनी एक हप्तादेखि लागि परेको पनि उनको भनाई छ।
‘हामी एक हप्तादेखि बिहानको २ बजेसम्म छलफल गरेर मात्र सुत्ने गरेका छौं। न निन्द्रा, न भोक, न प्यास। तर उपलब्धी निर्णायक ठाँउमा पुगेको छैन। सेमीफाइनलको अवस्थामा पुगेका छौं,’ उनले भने, ‘हामीले गगनजी, विश्वप्रकाशजीलगायत अन्य साथीहरुलाई भेटेर छलफल गर्ने क्रममा छौं।’












