कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित
दाहालको निधन भएका कारण शोक मनाउन आजका औपचारिक कार्यक्रम स्थगित गरिएको सचिवालयका संयोजक मनोजमणि आचार्यले बताए। दाहालको ८४ वर्षको उमेरमा निधन भएको हो।
काठमाडौं, पुस २६ : नेपाली कांग्रेसको दोस्रो महाधिवेशन व्यवस्थापन सचिवालयले कांग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं अग्रज पत्रकार होमनाथ दाहालको निधन भएका कारण शोक मनाउन आजका औपचारिक कार्यक्रम स्थगित गरिएको जनाएको छ।
दाहालको निधन भएका कारण शोक मनाउन आजका औपचारिक कार्यक्रम स्थगित गरिएको सचिवालयका संयोजक मनोजमणि आचार्यले बताए। दाहालको ८४ वर्षको उमेरमा निधन भएको हो। आचार्यले भोलि र पर्सी हुने विशेष महाधिवेशन भने यथावत् रहेको जानकारी दिए।
नेपालको लोकतान्त्रिक आन्दोलनका अथक साधक, वरिष्ठ पत्रकार, पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दाहालको निधनले पार्टी र लोकतान्त्रिक क्षेत्रमा शोकको छायाँ परेको सचिवालयले जनाएको छ।
प्रजातन्त्र स्थापनाको सङ्घर्षका कठिन दिनमा बीपी कोइरालासँगको सानिध्यतामा रहि उनले अतुलनीय योगदान गरेको बताइएको छ।
‘नेपालको पत्रकारिता र राजनीतिक जगतले एक असल योद्धा गुमाएको छ । प्रजातन्त्र स्थापनाको सङ्घर्षका कठिन दिनमा बीपी कोइरालासँगको सानिध्यतामा राष्ट्र पुकार लगायतका पत्रिकाबाट उहाँले पुरउनुभएको योगदान अतुलनीय रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
‘स्वर्गीय दाहालको सम्मानमा दोस्रो विशेष महाधिवेशन २०८२ का सन्दर्भमा आज पौष २६ गते आयोजित पदयात्रा लगायत आजका निर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको छ । भोलि पौष २७ गते हुने विशेष महाधिवेशनको समुद्घाटन समारोहमा श्रद्धा र सम्मानका साथ प्रारम्भ गर्ने छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।












