Kathmandu Press

कांग्रेसका जिल्ला नेताहरू विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी

सभापति बानियाँले बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष महाधिवेशन सहभागी हुन आह्वान गरेका हुन्। तर शुक्रबार नै काठमाडौंकै नौ जना क्षेत्रीय सभापतिले संयुक्त विज्ञप्ति जारी गर्दै विशेषको विपक्षमा उभिएका हुन्।
कांग्रेसका जिल्ला नेताहरू विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी

काठमाडौं, पुस २५ : नेपाली कांग्रेस नियमित र विशेष महाधिवेशनका सवालमा तल्लो तहदेखिका नेताहरु विभाजित देखिन थालेका छन्।

काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तिब्र भइरहेका बेला क्षेत्र र जिल्लादेखिका नेताहरुले फरक फरक विज्ञप्ति जारी गर्दै विशेष र नियमित महाधिवेशनको पक्ष एवम विपक्षमा उभिएका हुन्।

बिहीबार मात्र काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबजु)ले महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेको भोलिपल्ट नै काठमाडौंकै क्षेत्रीय नेताहरु विशेषका विपक्षमा उभिएका छन्।

Hardik ivf

सभापति बानियाँले बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष महाधिवेशन सहभागी हुन आह्वान गरेका हुन्। तर शुक्रबार नै काठमाडौंकै नौ जना क्षेत्रीय सभापतिले संयुक्त विज्ञप्ति जारी गर्दै विशेषको विपक्षमा उभिएका हुन्।

उनीहरुले नेपाली कांग्रेसले पार्टीको विधानअनुसार तय भइसकेको नियमित महाधिवेशनको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा अंवैधानिक ढंगबाट आह्वान गरिएको विशेष महाधिवेशन वैधानिक नहुने स्पष्ट पारेका छन्।

पार्टीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, मिति २०८२ मंसिर १५ गतेका लागि तय गरिएको महाधिवेशन कार्यतालिका २०८२ पौष १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संशोधन गर्दै १५औँ महाधिवेशनको मिति २०८३ वैशाख २८ देखि ३१ गतेसम्म तय गरिसकेको छ।

विज्ञप्तिमा वर्तमान संवेदनशील राजनीतिक अवस्थामा विशेष महाधिवेशनको आयोजना गर्नु पार्टी हितविपरीत हुने र यसले पार्टीलाई विभाजनतर्फ धकेल्न सक्ने खतरा औंल्याइएको छ । साथै विशेष महाधिवेशनको मागलाई अघि बढाउँदा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई गम्भीर क्षति पुग्ने उल्लेख गरिएको छ।

देशलाई अस्थिरतातर्फ जानबाट रोक्न र आम निर्वाचनको तयारीमा एकताबद्ध भई लाग्न केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरी परिपत्र गरिसकेको अवस्थामा पार्टीको आधिकारिक निर्णयको कार्यान्वयन गर्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरिएको छ।

विज्ञप्तिमा एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै ‘जय नेपाल’को नारा उल्लेख गरिएको छ। उक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा काठमाडौंका विभिन्न क्षेत्रीय सभापतिहरू रहेका छन्।

हस्ताक्षरकर्ताहरूमा काठमाडौं क्षेत्र नम्बर १ का सभापति कवीर शर्मा, क्षेत्र नम्बर ५ का सभापति श्यामबहादुर खड्का, क्षेत्र नम्बर ६ का सभापति श्यामकृष्ण खड्गी, क्षेत्र नम्बर ७ का कावा सभापति नविन मानन्धर, क्षेत्र नम्बर ८ का सभापति राजेश श्रेष्ठ, क्षेत्र नम्बर ९ का सभापति जयकृष्ण महर्जन, क्षेत्र नम्बर १० का सभापति पुकार महर्जन तथा काठमाडौं महानगर समितिका सभापति निलकाजी शाक्य रहेका छन् ।

त्यस्तै, कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठले विशेष महाधिवेशनमा जिल्लाका सबै महाधिवेशन प्रतिनिधिलाई अनिवार्य सहभागी हुन आग्रह गरेलगत्तै पार्टी प्रवक्ता त्यसको विपक्षमा देखिएका छन्। प्रवक्ता सन्तोष राज केसीले अलगै विज्ञप्ति जारी गरेर जिल्ला सभापति श्रेष्ठको विज्ञप्ति अवैधानिक र एकतर्फी भएको जनाएका छन्।

यता, कांग्रेसका १७ भ्रातृसंस्थाले जनतालाई सङ्कट मुक्त गर्न एक ढिक्का भएर अघि बढ्न पार्टी नेतृत्व र पदाधिकारीहरूलाई अपिल गरेका छन्। उनीहरूले शुक्रबार संयुक्त अपिल जारी गर्दै भनेका छन्, ‘हालको अवस्थामा देश र जनतालाई सङ्कट मुक्त गर्न एक ढिक्का भएर अघि बढ्न सबैमा आह्वान गर्दछौँ।’ 

उनीहरूले अपिलमा निर्वाचनको मिति तोकिएर प्रक्रिया अगाडि बढेको अवस्थामा पार्टी एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको पनि बताएका छन्।

प्रकाशित मिति: १७:५० बजे, शुक्रबार, पुस २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्