कांग्रेस संस्थापन पक्षका नेता र पूर्वमन्त्रीको छलफल– पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन रोक्न आग्रह
छलफल सकिएपछि सहभागि एक नेताका अनुसार पार्टी कमजोर बनाउनेहरू सक्रिय भएकोले त्यसलाई कसरी रोक्न सकिन्छ भनेर छलफल भएको हो। भेलाले कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने भएकाले कुनै हालतमा विभाजन रोकिनुपर्ने संस्थापन पक्षीय नेताहरुको जोड छ।
काठमाडौं, पुस २५ : नेपाली कांग्रेसको संस्थापन समूहका पूर्वमन्त्री र पार्टीका नेताहरूको छलफलले पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन पनि रोक्न आग्रह गर्ने निचोड निकालेको छ।
संस्थापन पक्षीय नेताहरुविच शुक्रबार दिउँसो भएको छलफलले यस्तो निश्कर्ष निकालेको हो। छलफलका लागि काठमाडौंको बानेश्वरस्थित अनन्दभूमि इभेन्टमा कांग्रेस केन्द्रीय सदस्यहरू कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामालगायत नेताहरु जुटेका थिए।
छलफल सकिएपछि सहभागि एक नेताका अनुसार पार्टी कमजोर बनाउनेहरू सक्रिय भएकोले त्यसलाई कसरी रोक्न सकिन्छ भनेर छलफल भएको हो। भेलाले कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने भएकाले कुनै हालतमा विभाजन रोकिनुपर्ने संस्थापन पक्षीय नेताहरुको जोड छ।
भूराजनीति तथा राष्ट्रिय राजनीतिका कारण पनि संवेदनशिल अवस्था रहेकाले कांग्रेस विभाजन हुन नदिन देश भरका नेता कार्यकर्तालाई आह्वान गर्ने निर्णय संस्थापन पक्षका नेताहरुले गरेका छन्।
छलफलबाट युवा र जिल्ला सभापतिको भेला बोलाएर एकतामा ल्याउन पहल गर्ने निचोड पनि आएको छ। नेपाली कांग्रेसको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका छन् ।यता, संस्थापन समूहले सोही दिन युवा तथा जिल्ला सभापति भेला डाकेको छ।












