निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा ढिलाइ भइसकेको छ : मन्त्री सिन्हा
‘मेरो आफ्नै विचारमा, हामीले यस विषयमा तयारी गर्न निकै ढिलाइ गरिसकेका छौं,’ उनले भने, ‘व्यापार लागत, रसद, नियामक अवरोधका विषयमा धेरै कुरा ग¥यौं तर कार्यान्वयनमा सधैं पछाडि रह्यौं। अब युद्ध मोर्चाजस्तै ठोस कार्ययोजना आवश्यक छ।’
काठमाडौं, पुस २४ : उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकता अभिवृद्धिमा नेपालले ढिलाइ गरिसकेको बताएका छन्।
बिहीबार आयोजित इयु–नेपाल व्यापार तथा लगानी संवाद कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकता महत्त्वपूर्ण रहेको र यसको तयारीमा पहिले नै धेरै ढिलाइ गरिसकेको बताएका हुन्।
उनले प्रस्तुतीकरणमा उठाइएका पाँच मुख्य बुँदामध्ये निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकता सबैभन्दा महत्वपूर्ण भएको बताए।
‘मेरो आफ्नै विचारमा, हामीले यस विषयमा तयारी गर्न निकै ढिलाइ गरिसकेका छौं,’ उनले भने, ‘व्यापार लागत, रसद, नियामक अवरोधका विषयमा धेरै कुरा ग¥यौं तर कार्यान्वयनमा सधैं पछाडि रह्यौं। अब युद्ध मोर्चाजस्तै ठोस कार्ययोजना आवश्यक छ।’
मन्त्री सिन्हाले अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा प्राथमिकता क्षयको विषयमा पनि नेपालले गम्भीर तयारी गर्नुपर्नेमा जोड दिए । ‘हामी सधैं प्राथमिकता उपचार र राज्यको सहयोगमा निर्भर रहन सक्दैनौं। प्रतिस्पर्धी हुन उत्पादनशीलता बढाउन, लागत घटाउन र गुणस्तरीय उत्पादनमा केन्द्रित हुनुपर्छ,’ उनले भने।
उनले उत्पत्तिको नियम र आपूर्ति–पक्ष तयारीमा अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै सीमित समयभित्र ठोस रणनीति आवश्यक रहेको बताए।
लगानी वातावरण र निर्यात–केन्द्रित रणनीति को सन्दर्भमा मन्त्री सिन्हाले नीति र प्रक्रियागत स्पष्टताको अभाव रहेको स्वीकार गरे । उनका अनुसार प्रक्रियाहरू सरल बनाउने, अनावश्यक जटिलता हटाउने र स्पष्टता दिने प्रयासहरू अगाडि बढाइँदै छन्।
मन्त्री सिन्हाले छलफलबाट प्राप्त सिफारिसहरूलाई सरकारका कार्ययोजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरे। ‘समृद्धि फाउन्डेसनबाट प्राप्त सिफारिसहरूलाई देशको आर्थिक लाभ र उज्ज्वल भविष्यका लागि सम्बोधन गर्ने प्रयास हुनेछ,’ उनले भने।










