Kathmandu Press

मन्त्रीबाट राजीनामापछि कुलमानले भने- पद होइन, सिद्धान्त र जनता ठूलो

जेनजी आन्दोलनपछि गठन भएको सरकारमा ११५ दिन जिम्मेवारी सम्हालेका घिसिङले राजीनामापछि पत्रकार सम्मेलन गर्दै उनले कुर्सीभन्दा माथि आत्मसम्मान र सरकारभन्दा ठूलो जनता रहेको बताए।
मन्त्रीबाट राजीनामापछि कुलमानले भने- पद होइन, सिद्धान्त र जनता ठूलो

 

काठमाडौं, पुस २४ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफ्नो निर्णय भाग्ने वा जिम्मेवारीबाट पन्छिने नभई आत्मसम्मान, नैतिकता र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता भएको स्पष्ट पारेका छन्।

जेनजी आन्दोलनपछि गठन भएको सरकारमा ११५ दिन जिम्मेवारी सम्हालेका घिसिङले राजीनामापछि पत्रकार सम्मेलन गर्दै उनले कुर्सीभन्दा माथि आत्मसम्मान र सरकारभन्दा ठूलो जनता रहेको बताए।

Hardik ivf

‘मैले लिएको राजीनामाको निर्णय न त भाग्ने निर्णय हो, न त जिम्मेवारीबाट विमुख हुने प्रयास। यो मेरो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो,’ उनले भने, ‘पदमा रहँदा मात्रै होइन, पदबाट बाहिर रहेर पनि देश र जनताको पक्षमा उभिनु नै साँचो कर्तव्य ठानेको छु । म मान्छु—पदभन्दा ठूलो मूल्य हुन्छ, सिद्धान्त। कुर्सीभन्दा माथि हुन्छ, आत्मसम्मान। र, सरकारभन्दा ठूलो हुन्छ, जनता।’

प्रधानमन्त्रीको आग्रह र जेनजी आन्दोलनको चाहनाअनुसार मन्त्री बनेको उल्लेख गर्दै उनले आफूलाई विश्वास गर्ने प्रधानमन्त्री र परिवर्तनको पक्षमा उभिएका युवाप्रति आभार प्रकट गरे। उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहमति भए पनि हालसम्म कुनै दलको औपचारिक सदस्यता नलिएको उनले स्पष्ट पारे।

राजीनामापछि ‘आफ्नो मान्छे’ नियुक्त गर्न दबाब दिएको भन्ने आरोपलाई उनले नियोजित भ्रमको संज्ञा दिँदै खण्डन गरे। अन्तरिम तथा चुनावी सरकारमा पदमै रहेर निर्वाचन लडिएको इतिहास स्मरण गराउँदै उनले आफ्नो निर्णयलाई अस्वाभाविक नठान्न आग्रह गरे।

घिसिङले मन्त्रीको कार्यकाल छोटो भए पनि नीतिगत सुधारको बलियो जग बसालिएको दाबी गरे। सर्लाही र रौतहटमा ५०० डिप ट्युबेलमार्फत २२ हजार ५०० हेक्टर जमिनमा सिँचाइ विस्तार, रानीजमरा कुलरिया लगायत आयोजनामा कृषकको लगानी सुनिश्चित गर्ने तयारी, नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनमार्फत थप ५ हजार मेगावाट विद्युत आयात–निर्यातको वातावरण निर्माण, तथा बंगलादेशतर्फ विद्युत निर्यात विस्तारलाई उनले महत्वपूर्ण उपलब्धि रूपमा प्रस्तुत गरे।

त्यस्तै, वर्षौंदेखि अलपत्र परेका रुग्ण ठेक्काहरू तोडेर पुनः निर्माण प्रक्रिया अघि बढाइएको, सुनकोशी–मरिन, कन्काई पुल, हुलाकी राजमार्ग, कमला पुलजस्ता आयोजनाले गति लिएको, तथा बञ्चरेडाँडा फोहोर व्यवस्थापन, मेलम्ची पानी, कोदारी नाका र बीपी राजमार्ग सञ्चालनमा आएको उल्लेख गरे।

मनसुनजन्य विपद् व्यवस्थापनमा राज्यको उपस्थिति कागजमै सीमित नरहेको दाबी गर्दै उनले समयमै सूचना, पूर्वतयारी र हस्तक्षेपका कारण ठूलो क्षति टरेको बताए।

घिसिङले आफू पदबाट बाहिरिए पनि राष्ट्रको हित, जनताको पक्ष र सत्यको बाटोबाट नहट्ने उद्घोष गर्दै उज्यालो नेपाल निर्माणका लागि सशक्त रूपमा राजनीतिक यात्रामा होमिने घोषणा गरे।

 

प्रकाशित मिति: ०७:४६ बजे, बिहीबार, पुस २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्