राष्ट्रिय सभा निर्वाचन : कांग्रेस–एमाले गठबन्धनबाट नेकपा बाहिरियो
बुधबार बिहान भएको सहमति अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा–लोसपाले १ सिट पाउने गरी नयाँ सहमति भएको छ। लोसपाबाट महन्थ ठाकुरको नाम सिफारिस भएको छ।
काठमाडौं, पुस २३ : आसन्न राष्ट्रिय सभामा निर्वाचनमा बनेको कांग्रेस–एमालेबीचको गठबन्धनबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाहिरिएको छ। कांग्रेस–एमालेसँग सिट संख्यामा सहमति जुट्न नसकेपछि नेकपा गठबन्धनबाट बाहिरएको हो।
नेकपा बाहिरिएसँगै राष्ट्रिय सभा निर्वाचनमा एमाले, कांग्रेस र मधेशी दलबीच मात्रै नयाँ समिकरण बनेको छ।
मंगलबार दलहरुबीच कांग्रेसलाई ७, एमालेलाई ७, माओवादीलाई ३ र लोसपा–जसपालाई १ सिट दिने विषयमा मोटामोटी सहमति भए पनि पार्टीभित्रको आन्तरिक समिकरण मिलाउन न्यूनतम ४ सिट मागेपछि नेकपा गठबन्धनबाट बाहिरिएको हो।
बुधबार बिहान भएको सहमति अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा–लोसपाले १ सिट पाउने गरी नयाँ सहमति भएको छ। लोसपाबाट महन्थ ठाकुरको नाम सिफारिस भएको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुँदैछ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो।












