राष्ट्रिय एकताका लागि सबै एक ठाउँमा आउन दुर्गा प्रसाईंको आग्रह
पछिल्लो समय विभिन्न व्यक्तित्व वा व्यवस्थाको पक्षमा देखिएको विभाजनले राष्ट्रिय उद्देश्यमा बाधा पु¥याएको उनको भनाइ थियो। कार्यक्रममा प्रसाईंले राजसंस्थाको आवश्यकतामाथि पनि जोड दिए।
काठमाडौं, पुस २० : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले देशको वर्तमान अवस्था गम्भीर रहेको भन्दै राष्ट्रिय एकताका लागि आन्दोलनको आवश्यकता औंल्याएका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय संकल्प : पृथ्वीपथ’ विषयक कार्यक्रममा बोल्दै प्रसाईंले अहिले अधिकांश नेपाली आर्थिक रूपमा कंगाल भइसकेको अवस्थामा रहेको दाबी गरे।
उनले युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेको उल्लेख गर्दै देश कति सुरक्षित छ भन्ने विषयमा गम्भीर रूपमा सोच्नुपर्ने समय आएको बताए। उनले देश निर्माणका लागि सबै एक ठाउँमा आउन आवश्यक रहेको भन्दै व्यक्तिवाद र विभाजनकारी प्रवृत्ति त्याग्न आग्रह गरे।
‘आज हरेक नेपालीहरु सबै कंगाल भइसकेको स्थिति हो, यो कुरा सबैले बुझ्नुपर्छ। अहिले युवाहरु विदेशिएका छन्। हामी कति सुरक्षित छौं वा छैनौं सोच्नुपर्ने समय आएको छ । देश एकीकरण गरौं र आउनुस् आन्दोलन गरौं,’ उनले भने, ‘देश बनाऔं त्यसको लागि एक हौं । जेनजीलाई अघि बढाउनुपर्छ की कसलाई अघि बढाउनुपर्छ तयार हुनुपर्छ । तर केही मान्छे रवि, बालेन, हर्क भनेका छन् भने केहीले राजा राजा भन्दै आइरहेका छन्। तर यो देश बनाउने नै हो भने यो प्रवृत्ति छोड्नुपर्यो र एक ठाउँमा आउनुपर्यो।’
पछिल्लो समय विभिन्न व्यक्तित्व वा व्यवस्थाको पक्षमा देखिएको विभाजनले राष्ट्रिय उद्देश्यमा बाधा पु¥याएको उनको भनाइ थियो। कार्यक्रममा प्रसाईंले राजसंस्थाको आवश्यकतामाथि पनि जोड दिए।
उनले राजसंस्था चाहिने हो भने त्यसका लागि त्याग गर्न तयार हुनुपर्ने उल्लेख गर्दै आफू आधा सम्पत्ति दिनसमेत तयार रहेको बताए । उनले देश र राष्ट्रको संरक्षणका लागि सबै पक्ष एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
‘राजा चाहियो भने नि म जस्तो जोगी भएर हिड्नुहोस्। सबै त्यागेर आउनुहोस्। मेरो आधा सम्पत्ति दिन तयार छु, राजा ल्याउन लडौं। आजको आवश्यकता राजसंस्था हो,’ उनले भने।












