कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
बैठक बोलाउनु अघि कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित केही पदाधिकारी र पूर्वपदाधिकारीहरूवीच महाराजगञ्जस्थित देउवा निवासमा छलफल भएको थियो।
काठमाडौं, पुस २० : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिो बैठक डाकेको छ। सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसम्पादन समिति बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
बैठक बोलाउनु अघि कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित केही पदाधिकारी र पूर्वपदाधिकारीहरूवीच महाराजगञ्जस्थित देउवा निवासमा छलफल भएको थियो। उक्त छलफलपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो।
केन्द्रीय कार्यसम्पादन समिति बैठकले यसअघि बहुमतको निर्णउय अनुसार वैशाखमा १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरिसकेको छ। उक्त कार्यतालिकामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जना केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूले फरक मत राखेका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशनको आयोजना गरेका छन् । कांग्रेस बैठकबाट केही महत्वपूर्ण निर्णय लिने तयारी रहेको जनाइएको छ।












