तत्कालीन नगरप्रमुखसहित १६ जनाविरुद्ध तीन करोडको भ्रष्टाचार अभियोग
भवन निर्माणका क्रममा बोलपत्र प्रकाशन गर्ने क्रममै भ्रष्टाचार भएको दाबी अख्तियारको छ। अख्तियारको अनुसन्धानकाक्रममा प्रचलित कानून विपरीतका शर्तहरु राखेर प्रतिस्पर्धालाई साँघुरो पारिएको भेटिएको छ।
काठमाडौं, पुस २० : बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणका क्रममा भ्रष्टाचार भएको दाबीसहित तत्कालिन नगरप्रमुख दीपक विक्रम शाहसहित १६ जनाविरुद्ध मुद्दा दायर भएको छ।
नगरप्रमुख शालसहितको मिलेमतोमा तीन करोड २७ लाख १८ हजार १७७ रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
भवन निर्माणका क्रममा बोलपत्र प्रकाशन गर्ने क्रममै भ्रष्टाचार भएको दाबी अख्तियारको छ। अख्तियारको अनुसन्धानकाक्रममा प्रचलित कानून विपरीतका शर्तहरु राखेर प्रतिस्पर्धालाई साँघुरो पारिएको भेटिएको छ।
बोलपत्र निकाल्दा मिलेमतोमा भवन निर्माणसँग असम्बन्धित विशेष कार्यअनुभवका शर्तहरु राखिएको, साइट भिजिटलाई अनिवार्य योग्यताका रुपमा राखिएको पाइएको छ। जाग्रिति÷एमे नेपाल जेभीलाई नै ठेक्का दिनका लागि कबोल अंक लागत अनुमानभन्दा बढी भएपछि विद्युतीय प्रणाली बाहिरबाट कर छुटको नक्कली पत्र सामेल गराएर ठेक्का स्वीकृत गरिएको दाबी समेत आयोगको छ।
यी हुन् प्रतिबादी
तत्कालीन नगर शाहसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु प्रेम काजी महर्जन र कल्पना कुमारी ठकुल्लालाई भ्रष्टाचारको अभियोगमा विपक्षी बनाइएको छ। इन्जिनियर पारस खाती, सबइन्जिनियर गणेशराज रेग्मी, लेखापाल नवराज जोशी, खरिदार श्यामबहादुर खत्री, तत्कालीन शिक्षा अधिकृत जयराम न्यौपाने, असिसटेन्ट सवइन्जिनियर भिमराज गिरीलाई पनि भ्रष्टाचार निवारण एन, २०५९ अनुरुप कारबाहीको माग छ।
यस्तै, नायव प्राविधिक सहायक सिद्धराज जैसी, प्रशासन सहायक वसन्त बहादुर थापा, निर्माण कम्पनीका प्रतिनिधि पुष्कर रोकाया र सुरत बहादुर शाहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।












