ओलीको अन्तिम परिक्षा
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको चुनावमा एमाले पुराना र नव उदीयमान दलसँगै उनैको नेतृत्वमा प्रतिश्पर्धामा भिड्दै छ । दुई महिनापछि नै हुने चुनावी प्रतिश्पर्धाले एमाले पार्टीको मात्र नभइ राष्ट्रिय राजनीतिको तस्बिर बदलिने छ ।
काठमाडौं, पुस ३ : एघारौं महाधिवेशनबाट एमाले अध्यक्षमा ‘ह्याट्रिक’ गर्दै केपी शर्मा ओलीले चार बर्ष पार्टीलाई नेतृत्व गर्ने छन्। हुन त, ११औँ महाधिवेसनमा एमालेभित्र पुस्तान्तरण र हस्तान्तरणको आवाज नउठेको होइन। तर, महाधिवेशन प्रतिनिधिहरूले पुनः ओलीलाई नै नेतृत्वको भारी सुम्पेर घर फर्किंदै छन्।
मतपेटिकाले ओलीलाई पार्टीमा थप शक्तिशाली बनाएको सन्देश दिएको छ। सबै भन्दा ठूलो कुरा त यो महाविधेशनले एमाले पार्टी भित्र लोकतन्त्रको आयतन बढाएको छ। महाधिवेशनबाट मूल नेतृत्वमा पुस्तान्तरणको बिषयलाई अस्विकृत गरे पनि पार्टी कमिटीभित्र युवा अनुहारको जबर्जस्त उपस्थिति देखिएको छ।
पार्टीमा काम गर्नका लागि अध्यक्ष ओलीलाई चार बर्षको पर्याप्त समय छ। यसपछि उमेरका कारणले पनि परिस्थिति उनको काबुमा नहुनसक्छ। यस विचमा उनले पार्टी र देशलाई गुन लगाउँछन् कि लगाउँदैनन्– समयले बताउने छ। मुलुकको ठूलो पार्टीको नेताको हैषियतले एउटा थिति बसाउन उनले अन्तिम मौका भने पाएका छन्। लोकतान्त्रिक प्रणालीमा चुनावमा हारजित एउटा स्वभाविक प्रक्रिया नै हो। चार बर्षे अवधिमा आफ्नो समूहलाई मात्र प्रश्रय नदिएको, पार्टीमा ठिक ढंगले काम भएको, नियुक्तिहरुमा काखापाखा नगरेको, पार्टीभित्र निरङकुशस ढंगले हस्तक्षेप नगरेको, आफन्त–आसेपासे भन्दा योग्य र सक्षमले मौका पाएको, पार्टीभित्रका विकृति र व्यथितिविरुद्ध वस्तुनिष्ट ढंगले कारबाहीको डन्डा चलाएको, न्यायोचित ढंगले दण्ड र पुरस्कारको थिति बसाएको, सुशासनका लागि देखिने गरी कम्तिमा दुई–चारवटा कदम चालेको हेर्न एमाले पङ्ती मात्र नभै पार्टी बाहिरको जनसुमदाय पनि व्यग्र प्रतीक्षारत छ।
यति मात्रै काम हुँदा मान्छेहरु ‘ओलीले अन्तिममा गरे है’ भन्न थाल्ने छन्। अर्कातिर एमालेको मात्र नभै परम्परागत रुपमा इतिहासको विरासत बोकेका अरु दलहरुमा पनि एउटा सकारात्मक सन्देश पुग्ने छ। त्यसपछि खासगरी जेनजी आन्दोलनपछि ठूला दलहरुप्रति खस्किएको विश्वास अंकुरित हुन बेर लाग्ने छैैन। पार्टीलाई निर्विवाद ढंगले संस्थागत सुधार गर्न पहिलो जिम्मेवारी नेतृत्वकै हो। त्यसपछि मात्र टीमको कुरा आउँछ। नेतृत्वले राजनीतिका स्थापित मूल्य, मान्यता, विधी, पद्धतीभित्र रहेर काम गर्दासम्म मात्र पार्टीप्रतिको विश्वास तलमाथि हुँदैन। यी कुरा राजनीतिमा झण्डै ६ दशक खर्चिंदै जिवनको करिव उत्तराद्र्धमा पुग्न थालेका अनुभवीलाई भनिरहनुपर्दैन। यस्कारण एमालेको श्रीबृद्धिका लागि ओली आफैंबाट पहिले विधी विधानको कठोरताका साथ पालना गर्नैपर्छ।
साथै, नेतृत्वले यसतर्फ बेवास्ता गर्दा अहिले बाहिर विशेषगरी जेनजी आन्दोलनपछि उठेका आलोचनाबाट पार्टी थप आघातित बन्ने कुराको हेक्का राख्नु जरुरी छ। जेनजी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटना र बदलिँदो परिस्थितिबीच नेतृत्व गर्ने चुनौती ओलीसमक्ष रहेको छ। मुलुकको एउटा ऐतिहासिक पार्टीको नेताले विगतका कमीकमजोरी सुधार गरी सही र गलत कुरालाई पर्गेल्न नसके एमाले मात्र नभै अरु दलप्रतिको जनविश्वास पनि खलवलिने अवस्था आउनसक्छ। ओलीका लागि अब उमेर, समय सबै कारणले संभवतः शंकाको सुविधा थोरै मात्र छ।
राजनीतिक भुक्तभोगी भन्छन्, पार्टीमा नेतृत्व मात्र ठिक भए ९० प्रतिशत त्यसै राम्रो हुन्छ। चार बर्षपछि अध्यक्षबाट विदाई लिँदैगर्दा कम्तिमा सार्वजनिक सरोकारका बिषयमा सम्झिन लायक दुईचार काम गरे पनि पार्टी र मुलुकप्रति न्याय हुने छ। तर पहिले आफैं उदाहरण बनेर देखाउन जरुरी छ। सुधार आफैभित्रबाट प्रारम्भ हुनुपर्छ। त्यस्का लागि तीनवटा मात्र चिज भए पुग्छ– निष्टा, प्रतिबद्धता र इमान्। सुशासनको मामलामा कमजोर भनेर एमाले वृत्त बाहिर लाग्दै आएका दोषहरुलाई मेटाउने गतिलो अवसर पनि हो, यो सफलता। जिवनको उत्तराद्र्धमा राजनीतिबाट विश्राम लिँदै गर्दा गुमनाम, बदनाम वा सुनाम के लिएर जाने हो, आफ्नै हातमा छ।
बाहिरबाट हेर्दा स्वभावजन्य कमजोरीहरुका बाबजुत संकटको खुलेर सामना गर्ने, अनेक हाँकलाई सहजतापूर्वक स्विकार्ने र आफ्ना दृष्टिकोणमा दृढ अडानका साथ अघि बढ्न सक्ने, आत्मविश्वासी, हठी, चतुर राजनीतिक खेलाडीको रुपमा ओलीको पहिचान छ। फेरी पनि कमजोरीहरु पनि नभएका हेइनन्। चितवनमा भएको १० औं महाधिवेशनका बेला ओलीमाथि ‘टिके प्रथा’ चलाएको, पार्टीमा हैकमबाद लादेको, आन्तरिक लोकतन्त्रलाई नियन्त्रण गरेको भनेर आरोप खेप्नुपरेको थियो। तर यसपटक ११ औं महाधिवेशनको प्रतिश्पर्धासम्म आइपुग्दा ति आरोपहरु स्वतः मेटिएका छन्। उनले चुनावी प्रतिस्पर्धामा भारी मतसहित नेतृत्वको हक सिद्ध गरे। मत परिणामले एमालेको संगठन र कार्यकर्तामा ओलीको प्रभाव अझै बलियो रहेको पुष्टि गरेको छ। अनेकौँ आरोहअवरोहबीच पनि अहिलेसम्म ओली राजनीतिक केन्द्रमा रहन सफल भएकै हुन्। तीनपटक त देशको नेतृत्व नै गरिसकेका छन्।
महाधिवेशनबाट ओली आफु मात्र नभइ अपबादलाई छाडेर निकटलाई एमाले केन्द्रमा ल्याउन सफल भएका छन्। यसले उनलाई निर्णय लिन सहज तुल्याउने छ। तर अझै पनि तत्कालका लागि एउटा अहम् प्रश्न भने उठ्ने छ– आउँदै गरेको चुनावको मुखमा एमालेलाई एकताबद्ध बनाएर, महाधिवेशनमा हारजित भएक सबैलाई समेटेर एकसाथ लैजालान् ? ओलीको ‘ह्याट्रिक’ विजयको पहिलो परिक्षा तत्कालैदेखि राष्ट्रिय राजनीतिबाट शुरु हुँदै छ।
किनभने आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको चुनावमा एमाले पुराना र नव उदीयमान दलसँगै उनैको नेतृत्वमा प्रतिश्पर्धामा भिड्दै छ। दुई महिनापछि नै हुने चुनावी प्रतिश्पर्धाले एमाले पार्टीको मात्र नभइ राष्ट्रिय राजनीतिको तस्बिर बदलिने छ । महाधिवेशनको अल्पमत र विचारसँग असहमतलाई पेल्न छाडेर भावनाको प्रतिनिधित्व हुने गरी अघि बढे चुनावी फाइदा पार्टीलाई, जस ओलीको पोल्टामा हुन बेर लाग्दैन। महाधिवेशनमा पराजित भए पनि आफ्नो विचारसँग असहमत हुने समूह पनि पार्टीभित्र कमजोर अवस्थामा छैन भनेर बुझ्नलाई ओलीले ढिलाई गर्नुहुँदैन।












