विकासको काम गर्ने सरकार नै प्रदेश सरकार : इन्द्र बानियाँ
बानियाँले केन्द्र सरकारले नीति बनाउने, स्थानीय सरकारले जनतालाई आवश्यक सेवा दिने र विकासको काम प्रदेश सरकारले गर्ने परिकल्पना संविधानले गरेको बताए।
रामेछाप, मंसिर २८ : वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले विकासको काम गर्ने मुख्य सरकार नै प्रदेश सरकार भएको बताएका छन्।
नुवाकोटको ढाँडेखोला सडक पुल निर्माण कार्यको शिलान्यास तथा सुपारी खोल्सीमा बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउँपालिका–३ लाई जोड्ने मोटरेबल पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले केन्द्र सरकारले नीति बनाउने, स्थानीय सरकारले जनतालाई आवश्यक सेवा दिने र विकासको काम प्रदेश सरकारले गर्ने परिकल्पना संविधानले गरेको बताए।
गाउँमुखी, आयमुखी, न्यायमुखी काम गर्ने वाग्मती प्रदेश सरकारको प्रतिबद्धता रहेको उनले बताए। गणतन्त्र स्थापना भएपछि नेपालेले विकासमा फड्को मारेको पनि उनले प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्री बानियाँले नेपालको राजनीतिक परिवर्तनसँगै जनताको आर्थिक समृद्धिका लागि तीन तहका सरकार बनेको बताए। उनले पूर्वाधार विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सडक र पुल, कृषि र पशुपालनमा लगानीले ग्रामीण भेगको आर्थिक तथा सामाजिक जीवनमा ठुलो परिवर्तन ल्याउने बताए।
उनले दुर्गम बस्तीलाई केन्द्रसँग जोड्ने पुल निर्माणले सेवा, सुविधा र बजार पहुँच सहज हुने विश्वास व्यक्त गरे।
ढाँडेखोला सडक पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले वर्षायाममा भोग्दै आएको आवागमनको समस्या समाधान हुने अपेक्षा गरिएको छ। लामो समयदेखि पुल अभावमा जोखिम मोल्दै आएका स्थानीयवासीको लागि यसले सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनेछ।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, सरकारी कर्मचारी, निर्माण व्यवसायी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले पुल निर्माण तथा शिलान्यास कार्यप्रति खुसी व्यक्त गर्दै समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न आग्रह गरेका छन्।












