मधेश प्रदेशकी प्रदेश प्रमुखको कदम असंवैधानिक छ : प्रवक्ता झा
उनले प्रदेश प्रमुख सुवेदीले बर्दिबासको एउटा रिसोर्टमा अन्य दल, संवैधानिक आयोग र नियोगको उपस्थितिबिना यादवलाई सपथ ग्रहण गराएको भन्दै यो संविधान मान्ने कुनैपनि राजनीतिक दललाई स्वीकार्य नहुने बताए।
काठमाडौं, कात्तिक २४ : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले मधेश प्रदेशको प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई सपथ ग्रहण गराएको विषयको विरोध गरेका छन्।
सोमबार मधेस प्रदेशमा हिजो राति अबेरदेखि हुँदै गरेको अनपेक्षित राजनीतिक घटनाक्रमवारे धारणा राख्दै उनले प्रदेश प्रमुख सुवेदीले बर्दिबासको एउटा रिसोर्टमा अन्य दल, संवैधानिक आयोग र नियोगको उपस्थितिबिना यादवलाई सपथ ग्रहण गराएको भन्दै यो संविधान मान्ने कुनैपनि राजनीतिक दललाई स्वीकार्य नहुने बताए।
‘मधेश प्रदेशको प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीजीले मुख्यमन्त्रीको जिम्मेवारीमा रहनु भएका जितेन्द्र सोनलजीलाई मध्यरातमा मेरो स्वास्थ्य अवस्था ठिक छैन्, काठमाडौं जानुपर्यो भनेर खबर गर्नुभयो,’ उलने भने, ‘तर बर्दिबासको एउटा रिसोर्टमा आएर नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई असंवैधानिक रुपमा सपथ गराउनु भयो । यसको हामी विरोध गर्दछौं।’
उनले यसप्रकारको कामलाई राष्ट्रघाती, संविधान विरोधी र नेपालमा संघीयताको अभ्यासलाई नियतबस कमजोर पार्न खोज्ने एउटा कू–प्रयासको रुपमा लिएको बताए।
सुवेदीको कदम विरुद्ध जसपालगायत सात दलीय गठबन्धनका सांसद तथा पार्टीका कार्यकर्ताहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड पनि गरेका छन्।












