वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘नक्कली फ्याकल्टी र बिरामी’ बनाएर पीजी सिट लिएको सांसद अन्सारीको आरोप
‘नक्कली बिरामी, नक्कली टिचर, नक्कली निरीक्षणको नाममा राज्यमा यसरी गोरखधन्दा चलाएर रहेका कलेजहरूलाई राज्यले आफ्ना गहनाहरू, विद्यार्थीहरूको भविष्य अन्योलमा पार्न मिल्दैन,’ उनले भने।
काठमाडौं, असाेज १६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा नक्कली फ्याकल्टी र बिरामी देखाएर चिकित्सा शिक्षा आयोगको निरीक्षणमा अनियमितता गरिएको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अन्सारीले विगत १० दिनदेखि नेशनल मेडिकल कलेजमा अध्ययनरत पोस्ट ग्र्याजुएट (पीजी) विद्यार्थीहरू आन्दोलनरत रहेको बताए।
उनका अनुसार १० दिनअघि पीजी विद्यार्थीहरूलाई होस्टेल खाली गर्न, अस्पतालमा काम गर्न र कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको छ।
अन्सारीले विद्यार्थीहरूले मेडिकल कलेजको नाममा भइरहेको भनिएको अनियमितताको पर्दाफास गरेपछि उनीहरूमाथि यस्तो व्यवहार गरिएको दाबी गरे।
‘त्यस मेडिकल कलेजमा लगभग २५ जना फेक फ्याकल्टी मेम्बर—कामै नगर्ने प्रोफेसरहरू, नक्कली प्रोफेसरहरू देखाएर पीजी सिट लिइएको छ,’ उनले भने।
चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा समेत कलेज व्यवस्थापनले सुरक्षा गार्डलाई बिरामी बनाएर इमर्जेन्सीमा राख्ने र पानी चढाउन लगाउने गरेको आरोप उनले लगाए।
‘नक्कली बिरामी, नक्कली टिचर, नक्कली निरीक्षणको नाममा राज्यमा यसरी गोरखधन्दा चलाएर रहेका कलेजहरूलाई राज्यले आफ्ना गहनाहरू, विद्यार्थीहरूको भविष्य अन्योलमा पार्न मिल्दैन,’ उनले भने।
अन्सारीले विगतमा प्रभावशाली राजनीतिक व्यक्तिसँगको सम्बन्धका कारण यस्ता गतिविधिमा संलग्न संस्थामाथि कारबाही हुन नसकेको दाबीसमेत गरे। उनले चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालयको डिन कार्यालय, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनसमेत प्रभावमा परेको आरोप लगाए।
‘आज ती विद्यार्थीहरू काठमाडौंको सडकमा घुमिरहेका छन्, कुनै सुनुवाइ भएको छैन,’ उनले भने।
उनले शिक्षामन्त्रीलाई विद्यार्थीहरूको समस्याबारे गम्भीर छानबिन गरी उनीहरूको व्यवस्थापन गर्न आग्रह गरे। कलेजमा समस्या पुष्टि भए विद्यार्थीलाई अन्य मेडिकल कलेजमा व्यवस्थापन गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने उनको भनाइ थियो।
सांसद अन्सारीले कलेजमा एउटा विषय पास गराउन नेपाली विद्यार्थीबाट ३ लाख र विदेशी विद्यार्थीबाट ५ लाख रुपैयाँ लिने गरेको आरोपसमेत लगाए। उनका अनुसार रकम लिएर उत्तरपुस्तिकामै उत्तर लेखेर पास गराउने गतिविधि भइरहेको छ।
उनले यस्ता गतिविधिले भविष्यमा बिरामीको उपचारमा गम्भीर त्रुटि निम्त्याउन सक्ने भन्दै राज्यले तत्काल विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।
‘मुन्ना भाइ’मा हेर्दाखेरि त रमाइलो लाग्थ्यो ३ घण्टा, तर राज्यमा नै खुलेआम ‘मुन्ना भाइ’ चल्दाखेरि यो राज्यको लागि गम्भीर विषय हो,’ अन्सारीले भने।











