‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा सामान्य प्रभाव
‘आज र भोलिलाई मौसम सामान्यतया सफा नै छ । अर्णब चक्रवात बङ्गालको खाडीमा रहेको छ । भेरी सिभियर साइक्लोनिक स्ट्रोम धेरै शक्तिशाली चक्रवातको रुपमा बङ्गालको खाडीमा छ, यो जमिनमा विशाखापट्टनममा ल्यान्डफल जमिनमा आउन सक्ने देखिएको छ । जमिनमा आइसकेपछि विस्तारै पश्चिम उत्तर पश्चिमतिर लाग्ने देखिएको छ,’ उनले भनिन्.
काठमाडौं, कात्तिक १० : वरिष्ठ मौसमविद् विभूति पोखरेलले आज र भोलि नेपालको मौसम सामान्यतया सफा रहने बताएकी छन्। उनले बंगालको खाडीमा विकसित ‘अर्णब’ चक्रवातका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा प्रभाव पर्न सक्ने देखिएको बताइन्।
पोखरेलका अनुसार अर्णब चक्रवात हाल बंगालको खाडीमा अति शक्तिशाली चक्रवाती आँधीका रूपमा रहेको छ। उक्त चक्रवात भोलिसम्म भारतको विशाखापट्टनम आसपास जमिनमा प्रवेश गर्ने सम्भावना रहेको छ। जमिनमा प्रवेश गरेपछि भने यो पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्दै क्रमशः कमजोर हुने पूर्वानुमान गरिएको छ।
‘आज र भोलिलाई मौसम सामान्यतया सफा नै छ। अर्णब चक्रवात बङ्गालको खाडीमा रहेको छ। भेरी सिभियर साइक्लोनिक स्ट्रोम धेरै शक्तिशाली चक्रवातको रुपमा बङ्गालको खाडीमा छ, यो जमिनमा विशाखापट्टनममा ल्यान्डफल जमिनमा आउन सक्ने देखिएको छ। जमिनमा आइसकेपछि विस्तारै पश्चिम उत्तर पश्चिमतिर लाग्ने देखिएको छ,’ उनले भनिन्.
क्षेत्रीय विशेष मौसम केन्द्रबाट जारी चक्रवातको मार्गअनुसार नेपाल नजिक आइपुग्दा यसको शक्ति निकै कमजोर हुने र न्यून चापीय क्षेत्र वा चक्रवातीका रूपमा प्रभाव पार्न सक्ने मौसमविद् पोखरेलले बताइन्।
चक्रवातको सम्भावित मार्ग नेपाल आसपास देखिएकाले सतर्कता अपनाउनु पर्ने उनले बताइन्।
यसैलाई ध्यानमा राखेर मौसम पूर्वानुमान महाशाखाले बिहीबार, शुक्रबार र शनिबारका लागि चेतावनी जारी गरेको छ। महाशाखाले यसअघि नै विशेष मौसम बुलेटिनसमेत जारी गरिसकेको छ।
पछिल्लो मौसम विवरणअनुसार चक्रवातको तीव्रतामा केही कमी आएको भए पनि उच्च हिमाली क्षेत्रमा सतर्कता अझै आवश्यक रहेको पोखरेलले बताइन्।
चक्रवातको प्रभावका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। विशेषगरी उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हिमपहिरो र हिमआँधीको जोखिम रहेको उनले बताइन्।
यतिबेला धान काट्ने मौसमसमेत भएकाले मध्यम वर्षाले समेत कृषि क्षेत्रमा असर पार्न सक्ने भन्दै मौसमविद्ले किसानलाई समयमै धान भित्र्याउन आग्रह गरिन्। विशेषगरी बिहीबारअघि नै धान काट्ने तथा सुरक्षित स्थानमा राख्ने व्यवस्था गर्न सुझाव दिइएको छ।
त्यस्तै, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले पदयात्रामा रहेका पर्यटक तथा अन्य व्यक्तिलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। उच्च क्षेत्रमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा बस्न वा सम्भव भएसम्म तल्लो क्षेत्रमा झर्नसमेत अनुरोध गरिएको छ।











