Kathmandu Press

राष्ट्रपतिको नैतिक बल र निष्ठाको जित 

जानअन्जानमा अदृष्य शक्ति अनि स्वार्थ समूहसँग राष्ट्रपतिले घुँडा टेकेको भए मुलुकको राजनीति अंध्यारो सुरुङमा फस्ने निश्चितप्रायः थियो । 
राष्ट्रपतिको नैतिक बल र निष्ठाको जित 

पद बहाली हुँदैगर्दा मुलुक र लोकतन्त्रप्रति नयाँ राष्ट्रपतिको भूमिका कस्तो रहला भन्ने आम जिज्ञासा थियो। विगत राष्ट्रपति संस्थाका तितामिठा अनुभव र लोकतान्त्रिक संविधान रक्षाका चुनौतीलाई दाहिने पारेर राष्ट्रपतिमा रामचन्द्र पौडेलको आगमन भएको थियो। संविधानको संरक्षण र अभिभावकीय भूमिकामा नयाँ राष्ट्रपतिबाट संवैधानिक दायित्व कसरी पूरा होला भनेर नागरिक तहबाट चासो बढ्नु स्वाभाविकै थियो। संविधानबाहेक पनि राष्ट्रपति पद नैतिक बल, निष्टा र मूल्यमा अड्ने चिज रहेका कारण अग्नीपरिक्षामा उत्तिर्ण हुन कसरी दृढ संकल्प साथ उभिएलान् भनेर तर्कवितर्कहरु आएका हुन्। 

सेनामार्फत संकटकाल लगाउनेदेखि पूर्वराजाको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नेसम्मका सन्दर्भहरु बाहिरिएका थिए। २४ भदौको राती भएका घटनाक्रमहरु सुन्दा २०१७ साल र २०६१ साल माघ १९ को ‘कू’ को झझल्को पनि आएको हो। जेनजी आन्दोलनको नाममा घुसेर अराजक समूहले मुलुकको अस्मिता, लोकतन्त्र र सार्वभौम सत्तामा नै खलल् पुग्नेगरी आगजनी, तोडफोड र लुटपाट मच्चाएको भयावह स्थितिको बयान गर्नलाई शब्दको अभाव छ। नेपाली सेनाको परमाधिपति मानिने राष्ट्रपति कार्यालयमा समेत आगो झोसेर मटियामेट पारिएको क्षण थियो। वडा कार्यालयलेखि सिंहदरबारसम्म हेर्दाहेर्दै एकैचोटी खरानीमा परिणत भए। 

यी रहस्यमयी घटनालाई बहाना बनाएर सत्तापलट गर्ने एउटा गतिलो अवसरका रुपमा उपयोग गर्न पर्दापछाडी विभिन्न दाउपेच र ठूलै रस्साकस्सी चलेको अनुमान गर्न सकिन्छ। त्यो संकटपूर्ण क्षणको उकुसमुकुस बाहिर बस्नेहरुले अनुमानसम्म गर्नसक्ने अवस्था थियो। वास्तवमा जेन–जी आन्दोलनपछि राष्ट्रपतिको २४ भदौ परिस्थितिबारे निकटस्थहरुबाट सुन्दा र बुझ्दा गर्धनका रौं ठाडा पार्ने खालका थिए। नेपथ्यमा जेजति नाटक रचिए पनि आखिर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गैह्रदलीय सरकार बनाउने र संसद विघटन गरी चुनावमा जाने जुक्ति निकालिएपछि तत्कालमा लागि थप संकट टरेको अवस्था छ। संकटमोचन गर्ने त्यो जुक्तिको विरोध गर्नेहरुले पनि तत्क्षण राष्ट्रपतिले के गर्नुपथ्र्यो भनेर विकल्प दिन सकेका छैनन्। 

Hardik ivf

भदौ २३–२४ गतेको जेन–जी आन्दोलनपछि उत्पन्न महा राष्ट्रिय संकटको अग्नीपरिक्षामा राष्ट्रपति पौडेल ए–लेवल सहित उत्तिर्ण भएका छन्। संविधान र लोकतन्त्रप्रति कहिल्यै नबिर्सने गुन लगाए। सायद आन्तरिक वा वाह्य अमुक तत्वको स्वार्थमा राष्ट्रपतिबाट काम भएको भए लोकतन्त्र र संविधान खरानी बन्ने थियो। मौकामा आवश्यक सजगताले राष्ट्र नै ठूलो दुर्घटनाको मुखबाट जोगियो। यसै पनि संविधान बनेको एक दशक पनि नपुगिसकेको अवस्थामा मुलुक अझैसम्म संक्रमणकालकै चरणमा छ। लोकतन्त्र भर्खरै संस्थागत हुन लागेको स्थितिमा राष्ट्र प्रमुखका रूपमा सदैव संवैधानिक मार्गमा अग्रसर भइरहने राष्ट्रपतिको खाँचो मुलुकलाई थियो। मौकैमा राष्ट्रपति पौडेलबाट त्यो खाँचो टरेको छ। 

संविधानको संरक्षकको भूमिका निर्वाह गर्ने भन्नुको अर्थ संविधान, कानुन, तत्कालीन परिस्थितिलाई विचार गरेर विवेक र निष्टाका साथ चल्ने नै हो। जुन कार्य राष्ट्रको बृहत् हितमा होस्। वास्तवमा राष्ट्रपति पदलाई राष्ट्रप्रमुखका रूपमा राष्ट्रका तर्फबाट व्यक्त गरिएको सम्मान र मर्यादाको अभिव्यक्ति हो। राष्ट्रपति एउटा संस्था मात्र नभै लोकतान्त्रिक गणतन्त्रको धरोहर र प्रतीक हुँदै हो। सायद यही भएरै हो राष्ट्राध्यक्षका रूपमा राष्ट्रपतिलाई राष्ट्रको प्रतिनिधित्व गर्ने सिंगो संस्था मानिएको पनि। जेनजी आन्दोलनमा घुसपैठिया गिरोहबाट भएको विध्वंशका कारण मुलुक सामु आइपरेको विपतका बेला तत्काल निर्णय लिनुपर्ने बाध्यात्मक परिस्थितिमा कल्पनाशीलताबाट कामचल्ने अवस्था पक्कै थिएन। 

लोकतन्त्र, संविधान र सारमा राष्ट्रमाथि नै मडारिएको कालो बादल हटाउनका लागि माउले चल्लालाई ढपक्कै छोपे जसरी राष्ट्रपतिले यसपल्ट पखेटा फिँजाएकै हुन्। पूर्वसावधानीले अहिलेलाई कम्तिमा लोकतन्त्र र संविधान ज्युँदो रुपमा सग्लो पाएका छौं। सबै भन्दा ठूलो कुरा त मुलुकको सार्वभौमिकता विश्रृङखल हुनबाट जोगिएको छ। निरङ्कुशताविरुद्ध लोकतन्त्रको लडाइँमा अनेकौं यातना, जेलनेल, दुःख दर्द खेप्दै ६ दशक बिताएका व्यक्ति राष्ट्रपति पदमा आसीन भएका कारण पनि मुलुकले आज यो लाभ पाएको छ। जानअन्जानमा अदृष्य शक्ति अनि स्वार्थ समूहसँग राष्ट्रपतिले घुँडा टेकेको भए यसैभन्न  सकिने अवस्था थिएन। 

अहिलेको जटील अवस्थाले राष्ट्रपति लोकतान्त्रिक राजनीतिक प्रणालीलाई नजिकबाट नियालेको, प्रशस्त अनुभव गरेको, बुझेको, दृढ संकल्प रहेको व्यक्ति नै राष्ट्रपतिका लागि शोभनीय हुन्छ भन्ने मान्यता पनि स्थापित भएको छ। यही भएर हुनुपर्छ निर्वाचनका बेला राष्ट्रपतिको खोजी गर्दा अधिक राजनीतिक सुझबुझ अनि नागरिक स्वीकार्यता भएको व्यक्ति चाहिन्छ भनेर भनिएको होला। खेलाडीले नियमसङ्गत खेल खेले रेफ्रीले सिट्ठी फुकीरहनु पनि पर्दैन। खेललाई एउटा अनुशासनमा राख्न ‘रेफ्री’ हमेशा चनाखो भइरहन्छ। खेल जिताउन रेफ्री आफैं सामेल हुँदैन, तर अनुशासन र नियमको पालना गराउन बेलाबेला पहेँलो अनि उस्तै परे रातो कार्डसम्म देखाउनुपर्ने हुनसक्छ। यस्लाई खेलाडीले चित्त बुझे पनि नबुझे पनि मान्नपुर्ने हुन्छ। राष्ट्रपतिले पनि संकटमोचनका लागि यसपल्ट आफुले लोकतन्त्रको आलोकभित्र लुकाएर राखेको इमान र निष्टाको हतियार देखाएका मात्रै हुन्। सिद्धान्तप्रतिको कट्टरता व्यवहारबाट मात्रै देख्न र अनुभव गर्न सकिन्छ। कसैले शब्द लालित्यले भरिएका मिठासयुक्त गफ दिएका भरमा हुँदैन।   

राष्ट्रपतिले खेलेको भूमिकालाई कतिपयले इमर्जेन्सी लाइटको रूपमा पनि अथ्र्याएका छन्। अन्तरिम सरकार गठन, फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन र ताजा जनादेशको बाटो देखाएर इमर्जेन्सी लाइट निभेको अवस्थाको रूपमा राष्ट्रपतिको कदमलाई लिइएको छ। तर तैपनि मुलुक असफल हुनबाट जोगाउनुपर्ने दायित्व अझै सकिएको छैन।  मुलुकको सुशासन, राष्ट्रिय एकता, लोकतन्त्रको रक्षा र सामाजिक सद्भाव बढाउन सबैले राष्ट्रपतिको भावनासँगै होष्टेमा हैंसे गर्नुपर्ने बेला छ। लोकतान्त्रिक संविधानको रक्षाका लागि राष्ट्रपति पौडलले लगाएको गुन नेपालको राजनीतिक इतिहासमा सदैव स्वर्णाक्षरमा अंकित रहने छ। 

राष्ट्रपतिको निष्टा, नैतिक बल र दृढ अडानका कारण असहजताका विच मुलुकको राजनीतिले एउटा दिशा पक्रेको भन्नलाई कुनै हिच्किचाहट गर्नुपर्ने कारण छैन। संविधानप्रति गहिरो र अर्थपूर्ण प्रतिबद्धता भएका कारण नै कम क्षतीका विच लोकतन्त्र र संविधानले न्याय पाएको छ। गान्धीको दर्शन, बिपी कोइरालाको त्यो आदर्श, गणेशमान सिंहको साहस र कृष्णप्रसाद भट्टराईको त्यागबाट ओतप्रोत अनि स्वतन्त्रताको लडाइँमा जेलनेल भोगेका व्यक्तित्व राष्ट्रप्रमुख भएका कारण पनि अन्यथा हुन पाएन। यसर्थ अहिलेलाई राष्ट्रपति पौडेललाई लोकले धन्यवाद र स्याबासी भन्नैपर्छ।   

खासमा जेन–जी आन्दोलन समाजमा विशेषगरी युवा पुस्तामा व्याप्त असन्तुष्टि र निराशाको चरम रुप नै हो। त्यही विद्रोही भावनाको उत्कर्ष रुप थियो। लोकतान्त्रिक उपलब्धिहरूलाई उल्ट्याएर कसैको आकाँक्षा तुष्टीका लागि यो आन्दोलन भएको थिएन। उनीहरुले पटकपटक शान्तिपूर्ण आन्दोलनको कुरा गर्दै मुलुकको अवस्था परिवर्तनका लागि सडकमा उत्रिएका हुन्। जेनजी आन्दोलनकारीबाट आएका धारणाहरूबाट पनि यो तथ्यलाई बुझ्न सकिन्छ। यो कुनै जड विचारधाराबाट पनि निर्देशित होइन। सारमा घोत्लिएर हेर्दा जेनजी भित्र सबैखालको विविधताविच भावनात्मक एकता पाइन्छ। सबैखालका रंङहरु यहाँ भेटिन्छन्। उनीहरु वर्तमान अव्यवस्था र भद्रगोल राजनीतिका उपज हुन्। सुशासन र समृद्धिको उत्कट चाहना उनीहरुमा छ। 

अझै पनि धमिलो पानीमा माछा मारेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने अबाञ्छित गतिविधिहरु हुनसक्छन्। यसतर्फ राष्ट्रपति संस्था मात्र नभै सबै वर्ग, समुदायले कान ठाडा पारेर बस्नुपर्ने छ। र, जेनजी आन्दोलनबाट गतिलो पाठ लिएर एकपल्ट आत्मपरिक्षणसहित सुध्रिँदै, सच्ँिचदै अघि बढ्नुपर्ने छ। 
 

प्रकाशित मिति: १६:०७ बजे, शनिबार, असोज ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्