अविचलित हाम्रो यात्रा आठौं वर्षमा
अहिले व्यावसायिकताका नाममा व्यापारका दृष्टीले बिकाउ समाचारमा बढी ध्यान गइरहेको छ। तर, हामीलाई थाहा छ– सूचना दिनु मात्र पत्रकारिता होइन। पत्रकारिताको धर्म र मान्यताका आधारमा अडेर पत्रकारिता चल्दछ।
पत्रकारितामार्फत देश र समाजको सेवा गर्ने पवित्र उद्देस्यसहित स्थापना भएको काठमाडौंप्रेस डटकम आज सातौं बर्ष पुरा गरी आठौं वर्षमा पाइला टेकेको छ।
यस अवधिमा हामी निष्ठा र दृढताका साथ व्यावसायिक अभ्यासमा अटुट रुपले लागिपर्यौं। व्यावसायिक अभ्यासमा खरो रुपमा उत्रन अनेक चुनौतीहरु नभएका होइनन्। संचारमाध्यमबीच अस्वस्थ प्रतिस्पर्धाको चक्र अझै जारी छ। संघर्षबाट खारिँदै बजारमा टिकेर आजको दिनसम्म आइपुग्न हाम्रा सामु थुप्रै तितामिठा अनुभव छन्। यी थुप्रै बाधा व्यवधानलाई छिचोल्दै, प्रतिकुलताबीच हामी आजको स्थितिमा आइपुग्न सफल भएका छौं। विगतमा विविध कारणवश आर्थिक गतिविधि ठप्प हुँदा अनलाईन टिकाएर दिगो बनाउन विभिन्न समस्याहरु खडा भए। चौतर्फी आर्थिक मन्दीका कारण वजेट, स्रोत, साधन, जनशक्ति, प्रविधि यावत कारणले संकटको सामना गर्नुपर्ने अवस्था आइपर्यो। यसैमा पनि झन् भदौ २३ र २४ को जेनजी आन्दोलनपछि मुलुकले नै जटिल अवस्थाको सामना गर्नुपरेको तथ्य हामी सबैलाई विदितै छ।
मुलुक आज निर्वाचनको संग्राममा होमिएको छ। निष्पक्ष, स्वच्छ एवम् धाँधलीरहित निर्वाचन सम्पन्न गरी नागरिकको मतको सही सदुपयोग गर्नेतर्फ सजगतासाथै खबरदारी गर्नुपर्ने दायित्व पनि छ। विगतका अनेक चुनौतीहरुले नै हामीलाई संघर्ष गर्दै अघि बढ्न पाठ सिकाएको छ। सामथ्र्यले भ्याएसम्म सधंै आम नागरिकको सूचना पाउने हकलाई जिवन्त राख्न सदैव इमान्दारिताका साथ अघि बढ्यौं।
आज सर्वत्र अनलाईन समाचार पोर्टलहरुको बढाृत्तरी हुँदै गएको छ। यस क्षणमा काठमाडौं प्रेश डट कम अनुभवबाट सिक्दै र थप परिमार्जित हुँदै आजजको दिनसम्म आइपुगेको छ। पछिल्ला दिनहरुमा काठमाडौं प्रेसले अनलाईनको प्राविधिक पक्षमा केही फरक स्वादमा प्रस्तुत गर्न सकेका छ। फरक प्रस्तु¬ित दिँदै हजारौंको भीडमा स्थापित हुन सकेकोमा हामी खुशी छौं।
तर मुलुकको समग्र राजनीति नै बिथोलएको वर्तमान अवस्थामा भविष्यमा पनि अझै चुनौतीहरुको सामना गर्नुपर्ने छ। यी चुनौतीको सामना गर्न हामी अविचलित रुपले तयार भएर बसेका छौं। प्रतिस्पर्धा अनि स्थापित हुने नाममा हामीले देश, जनता र लोकतन्त्रलाई नै नोक्सान हुने गरी भ्रामक एवम् मिथ्या सामग्री कहिल्यै प्रकाशन गर्ने छैनौं। आफ्नो व्यावसायिक धर्मबाट कदापी दायाँबायाँ हुने छैनौं। व्यावसायिकताको सबालमा हामी एक्लो सतिसाल झैं उभिन तयार छौं, यो हाम्रो प्रतिवद्धता हो। आज अनलाईन माध्यम पढ्ने, सुन्ने र हेर्ने तिनै दृष्टीले लोकप्रिय बन्दै छ। व्यावसायिकताका नाममा व्यापारका दृष्टीले बिकाउ समाचारमा बढी ध्यान गइरहेको यथार्थता पनि छ। हामीलाई थाहा छ– सूचना दिनु मात्र पत्रकारिता होइन। पत्रकारिताको धर्म र मान्यताका आधारमा अडेर पत्रकारिता चल्दछ। सूचना सम्प्रेषणमा गुणस्तर बृद्धि र विश्वसनियता पनि चाहिन्छ।
आठौं वर्षमा पाइला टेक्दै गर्दा काठमाडौं प्रेस डटकम थप परिपक्व हुँदैछ। आम पाठकसम्म पुग्नेक्रममा अवश्य पनि सरकारी, गैरसरकारी संस्था, व्यापारी र कर्पोरेट हाउससँग जोडिने छौं। तर सूचना र विचारको मुल मर्मबाट कहिल्यै विमुख हुने छैनौं। वास्तविक रुपमा पत्रकारिताको मुल मर्मलाई आत्मसाथ गर्नेछौं। हाम्रा सम्पत्ति भनेका नै पाठक वर्ग हुन्। हामीले प्रस्तुत गरेका विचार र समाचारले नै दातृसंस्था र विज्ञापनदाताहरु आकर्षित हुनेछन् भन्ने दृढ विश्वास हामीलाई छ।
विगतमा झैं सबै वर्ग र समुदायको विचारलाई आम नागरिकमाझ पुर्याएर फुल्न, फक्रिन दिने उद्देश्य काठमाडौं प्रेसले बोकेको छ। सञ्चारमाध्यमलाई निष्पक्ष भएर भूमिका निर्वाह गर्न संविधानले सुम्पेको दायित्व व्यवहारिक रुपमै पुरा गरेर देखाउने हाम्रो ध्येय रहेको छ। प्रेस स्वतन्त्रता राष्ट्र एवम् समग्र नागरिकको हितमा हुनुपर्ने मान्यतालाई शिरोपर गर्ने प्रतिबद्धता हामी पुनः दोहोर्याउँछौं। पत्रकारिताका नाममा स्वेच्छाचारीता हुन नदिनेतर्फ हामी सचेत छौं। सही सूचना र विचारले मात्र नागरिकमा जागरण ल्याउने हाम्रो विश्वास छ।
अन्त्यमा, पाठक वर्गको विश्वास नै हाम्रो अमूल्य सम्पत्ति बनेको छ। यो विश्वासलाई कदापी मर्न दिने छैनौं। आवाजविहीन वर्गको पक्षमा पूर्ण समर्पित रहँदै विकृती र व्यथितिविरुद्धको खवरदारी अभियान निरन्तर जारी रहने छ। काठमाडौं प्रेसलाई यहाँसम्म ल्याइपुर्याउने पाठक वर्ग, उद्योगी, व्यवसायी, विज्ञापनदाता, शुभचिन्तक सबैप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछौं। यहाँहरुको सुझाव, माया र सहयोग नै हाम्रा प्रेरणाका स्रोत हुन्। फेरि पनि विश्वास छ, आगामी दिनमा पनि यो माया र सद्भावको हात झनै फैलने छ। सधैं झैं सबैसँगको सहकार्य र सकारात्मक आलोचनाको अपेक्षा छ। सकारात्मक आलोचनासँगै प्राप्त सुझावले सही मार्गदर्शन गर्ने हाम्रो ठम्याइ छ। यहाँहरुको सुझाव अनुसार काठमाडौं प्रेशलाई थप परिमार्जन गर्दै फरक स्वाद पस्किने छौं। कमजोरी छन् भने स्विकार्न हामीलाई कुनै हिचकिचाहट छैन। सधैंझैं सहकार्य, सद्भाव, शुभेच्छा एवम् सकारात्मक आलोचनाको अपेक्षा राखेका छौं। आजको दिन सबै सहयोगी मनप्रति हार्दिक धन्यवाद दिन चाहन्छौं।



-1764158548.png)








