Kathmandu Press

बाढीले मेटाएको इतिहासलाई पाठशाला बनाउने कि ?

तर, यति ठूलो प्राकृतिक घटनालाई हामीले केवल विनाश, क्षति र पुनर्निर्माणको दृष्टिकोणबाट मात्र हेरिरहने कि यसबाट भविष्यका लागि नयाँ ज्ञान, अनुसन्धान र सम्भावनाको ढोका पनि खोल्ने ? आज गम्भीरतापूर्वक सोच्नुपर्ने विषय यही हो ।
बाढीले मेटाएको इतिहासलाई पाठशाला बनाउने कि ?

गत भदौं १० गते रसुवाको त्रिशूली क्षेत्रमा आएको विशाल बाढीले पुर्‍याएको क्षति सामान्य प्राकृतिक विपत्तिको घटनामात्र होइन । यसले वर्षौँदेखि प्रकृतिसँगै अस्तित्वमा रहेका बस्ती, भौतिक संरचना, ऐतिहासिक पहिचान र स्थानीय जनजीवनमा गहिरो प्रभाव पारेको छ । बाढीले धेरै कुरा बगाएको छ, कतिपय संरचना मेटाएको छ र भूगोलको स्वरूपसमेत परिवर्तन गरिदिएको छ। यो घटनाले स्थानीय समुदायलाई दिएको पीडा र क्षतिको पूर्ण क्षतिपूर्ति सम्भव नहुन सक्छ ।

तर, यति ठूलो प्राकृतिक घटनालाई हामीले केवल विनाश, क्षति र पुनर्निर्माणको दृष्टिकोणबाट मात्र हेरिरहने कि यसबाट भविष्यका लागि नयाँ ज्ञान, अनुसन्धान र सम्भावनाको ढोका पनि खोल्ने ? आज गम्भीरतापूर्वक सोच्नुपर्ने विषय यही हो ।

प्रकृतिले आफ्नो शक्ति देखाएको यो भूगोल आफैँमा एउटा खुला पाठशाला बन्न सक्छ।

प्राकृतिक विपत्तिले भूगोलको स्वरूप कसरी परिवर्तन गर्छ ? नदीको बहाव, पहाडको बनावट, चट्टानको अवस्था र मानवीय बस्तीमाथि प्रकृतिको शक्तिले कस्तो प्रभाव पार्छरु बाढी आउनुअघिको भूगोल र बाढीपछिको भूगोलबीच के(कस्ता भिन्नता देखिन्छन्रु यस्ता विषय भूगर्भशास्त्री, वातावरणविद्, जलविज्ञ, इतिहासकार तथा अनुसन्धानकर्ताका लागि महत्त्वपूर्ण अध्ययनका क्षेत्र बन्न सक्छन्।

नेपाल प्राकृतिक विविधताले भरिपूर्ण देश हो । हिमाल, पहाड, नदी, खोँच र भौगोलिक बनावटका दृष्टिले नेपाल आफैँमा एउटा विशाल प्राकृतिक प्रयोगशाला हो । रसुवाको त्रिशूली क्षेत्रमा देखिएको यो प्राकृतिक परिवर्तनलाई पनि वैज्ञानिक अध्ययन, अभिलेखीकरण र शैक्षिक अवलोकनको अवसरका रूपमा लिन सकिन्छ।

पर्यटनको एउटा फरक अवधारणा

हामीले पर्यटन भन्नासाथ हिमाल आरोहण, पदयात्रा, धार्मिक स्थल, तालतलैया र मनोरम दृश्यलाई मात्र सम्झने गरेका छौँ। तर, विश्व पर्यटनको अभ्यासमा प्राकृतिक इतिहास, भूगर्भीय संरचना, वातावरणीय परिवर्तन, ऐतिहासिक अवशेष र विपद् अध्ययनमा आधारित पर्यटनको पनि आफ्नै महत्त्व छ। यसै अवधारणालाई आत्मसात् गर्दै रसुवाको त्रिशूली क्षेत्रलाई निश्चित समयका लागि विशेष प्रकृतिको अध्ययन तथा अवलोकन गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।

कल्पना गरौँ, कुनै विदेशी पर्यटक नेपाल आउँदा उसलाई हिमाल र तालतलैया मात्र होइन, प्रकृतिको विशाल शक्ति र त्यसले भूगोलमा पारेको प्रभाव प्रत्यक्ष रूपमा अध्ययन गर्ने अवसर पनि उपलब्ध होस् । कुनै विश्वविद्यालयका भूगर्भशास्त्रका विद्यार्थीले पाठ्यपुस्तकमा पढेको नदीको कटान, भूक्षय र बाढीको प्रभाव यहीँ आएर प्रत्यक्ष अवलोकन गर्न सकून् ।

त्यस्तै, इतिहासकार तथा अनुसन्धानकर्ताले बाढीअघि र पछिको अवस्थाको तुलनात्मक अध्ययन गर्न सकून् । वृत्तचित्र निर्माता, फोटोग्राफर, वातावरणविद् र प्राकृतिक घटनामा रुचि राख्ने व्यक्तिहरूका लागि पनि यो क्षेत्र अध्ययन र अवलोकनको गन्तव्य बन्न सकोस् ।

यसले रसुवाको पर्यटनलाई परम्परागत पर्यटकीय अवधारणाभन्दा फरक पहिचान दिन सक्छ।

इतिहासको अभिलेखीकरण र भावी पुस्ताका लागि दस्तावेज

बाढीले क्षति पुर्‍याएका क्षेत्रको अर्को महत्त्वपूर्ण पक्ष भनेको इतिहासको अभिलेखीकरण हो । कुनै स्थानको ऐतिहासिक पहिचान केवल पुराना भवन वा संरचनामा मात्र सीमित हुँदैन । त्यहाँको जनजीवन, संस्कृति, स्थानीय स्मृति, पुराना बाटाघाटा, बस्तीको विकासक्रम र सामाजिक सम्बन्धसमेत इतिहासका महत्त्वपूर्ण हिस्सा हुन् ।

त्यसैले बाढीले प्रभावित बनाएका क्षेत्रको पुरानो अवस्था, उपलब्ध तस्बिर, भिडियो, नक्सा, स्थानीय ज्येष्ठ नागरिकका अनुभव र ऐतिहासिक विवरणहरू संकलन गरी व्यवस्थित अभिलेखालय निर्माण गर्न सकिन्छ ।  सम्भव भएसम्म बाढीले छोडेका भौगोलिक निशानी र सुरक्षित रूपमा संरक्षण गर्न सकिने ऐतिहासिक अवशेषलाई समेत वैज्ञानिक विधिबाट अभिलेखीकरण गर्नुपर्छ।

भविष्यमा त्यहाँ एउटा सानो प्राकृतिक इतिहास तथा विपद् अध्ययन केन्द्र स्थापना गर्न सकिन्छ, जहाँ बाढीको घटना, त्यसको प्रभाव, स्थानीय इतिहास र पुनर्निर्माणको यात्रालाई दस्तावेजका रूपमा राख्न सकियोस् । यसले भावी पुस्तालाई केवल एउटा विपत्तिको कथा सुनाउने छैन, बरु प्रकृतिसँग कसरी सहअस्तित्व कायम गर्ने र विपद्बाट कसरी सिक्ने भन्ने ज्ञानसमेत दिनेछ।

विद्यालय र विश्वविद्यालयका लागि खुला अध्ययनस्थल

हाम्रो शिक्षा प्रणालीमा विद्यार्थीले धेरै कुरा किताबमा पढ्छन्, तस्बिरमा देख्छन् र परीक्षामा लेख्छन्। तर, प्रत्यक्ष अवलोकन र अनुभवमा आधारित शिक्षा अझ प्रभावकारी हुन्छ । रसुवाको त्रिशूली क्षेत्रलाई सुरक्षित तथा व्यवस्थित अध्ययनस्थलका रूपमा विकास गर्न सकिएमा विद्यालय र विश्वविद्यालयका विद्यार्थीका लागि यो एउटा विशेष शैक्षिक गन्तव्य बन्न सक्छ ।

भूगोल, वातावरण विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, इतिहास र समाजशास्त्र अध्ययन गर्ने विद्यार्थीले यहाँबाट व्यावहारिक ज्ञान हासिल गर्न सक्छन्। विद्यार्थीलाई प्रकृतिको सुन्दरता मात्र होइन, प्रकृतिको शक्ति, मानवीय कमजोरी, वातावरणीय सन्तुलन र विपद् व्यवस्थापनको महत्त्व पनि बुझाउन सकिन्छ।

स्थानीय अर्थतन्त्र र रोजगारीको सम्भावना

पर्यटन प्रवर्द्धनको उद्देश्य बाहिरबाट मानिस बोलाउने र फोटो खिचाउने वातावरण बनाउने मात्र हुनुहुँदैन। त्यसबाट स्थानीय समुदायले आर्थिक लाभ प्राप्त गर्न सक्नुपर्छ । यस क्षेत्रमा सुरक्षित अवलोकन स्थल, जानकारी केन्द्र, स्थानीय गाइड, सूचना बोर्ड, अध्ययन सामग्री, स्थानीय उत्पादनको बिक्री तथा अन्य आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्न सकिन्छ । स्थानीय युवालाई गाइड, अनुसन्धान सहयोगी तथा पर्यटन व्यवस्थापनसम्बन्धी तालिम दिएर रोजगारी सिर्जना गर्न सकिन्छ। स्थानीय कृषि उत्पादन, हस्तकला, खाना तथा मौलिक संस्कृतिलाई समेत यससँग जोड्न सकिन्छ । यसरी प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रलाई दीर्घकालीन रूपमा स्थानीय अर्थतन्त्रसँग जोड्ने एउटा नयाँ अवधारणा विकास गर्न सकिन्छ। 

तर, मानवीय संवेदना र सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ

यस्तो अवधारणा अघि सार्दै गर्दा एउटा महत्त्वपूर्ण कुरा बिर्सनु हुँदैन—बाढी प्रभावित क्षेत्र कसैका लागि अध्ययन र अवलोकनको विषय हुन सक्छ, तर त्यही क्षेत्र कसैका लागि घर, परिवार, सम्झना र जीवनभरको संघर्षसँग जोडिएको हुन्छ । त्यसैले विपत्तिलाई मनोरञ्जनको साधन बनाउने वा पीडितहरूको दुःखलाई पर्यटकीय आकर्षणका रूपमा प्रस्तुत गर्ने सोच हुनुहुँदैन ।

सबैभन्दा पहिले प्रभावित परिवारको राहत, पुनर्स्थापना, जीविकोपार्जन र सामाजिक सुरक्षालाई प्राथमिकता दिनुपर्छ। त्यसपछि भूगर्भविद् तथा विपद् व्यवस्थापन विज्ञको अध्ययनका आधारमा सुरक्षित क्षेत्र पहिचान गरी आवश्यक पूर्वाधार विकास गर्नुपर्छ।

स्थानीय समुदायको सहमति र सहभागितामा मात्र यस्तो अवधारणा कार्यान्वयन हुनुपर्छ। जोखिमपूर्ण क्षेत्रलाई निषेधित राख्दै सुरक्षित स्थानमा मात्र अवलोकनको व्यवस्था गरिनुपर्छ।

अबको आवश्यकता : सरकार र सरोकारवालाको साझा पहल

यो अवधारणालाई व्यवहारमा उतार्न स्थानीय सरकार, बागमती प्रदेश सरकार, संघीय सरकार, पर्यटन बोर्ड, पुरातत्त्व तथा अनुसन्धानसँग सम्बन्धित निकाय, विश्वविद्यालय र निजी क्षेत्रबीच समन्वय आवश्यक छ।

सुरुमा एउटा विस्तृत सम्भाव्यता अध्ययन गर्न सकिन्छ। बाढीले परिवर्तन गरेको भूगोलको वैज्ञानिक सर्वेक्षण, ऐतिहासिक अभिलेखीकरण, पर्यटकीय सम्भाव्यता, सुरक्षा मूल्यांकन र स्थानीय समुदायको आवश्यकताको अध्ययन गरी दीर्घकालीन योजना बनाउन सकिन्छ।

यसलाई केवल पर्यटन परियोजनाका रूपमा मात्र नभई प्राकृतिक इतिहास, विपद् शिक्षा, वैज्ञानिक अनुसन्धान र स्थानीय आर्थिक पुनरुत्थानसँग जोडिएको नमुना परियोजनाका रूपमा विकास गर्न सकिन्छ । 

प्रकृतिको शक्तिसँग मानिसको प्रतिस्पर्धा सम्भव छैन। हामीले प्रकृतिलाई जित्ने होइन, बुझ्ने र त्यससँग सुरक्षित रूपमा सहअस्तित्व कायम गर्ने हो। रसुवाको त्रिशूलीमा आएको बाढीले दिएको पीडा र क्षति कहिल्यै सामान्य विषय बन्न सक्दैन। तर, यसले छोडेका भौगोलिक परिवर्तन, ऐतिहासिक सन्दर्भ र प्राकृतिक निशानीबाट भावी पुस्ताले केही सिक्न सक्ने वातावरण निर्माण गर्नु हाम्रो जिम्मेवारी पनि हो।

आज हामीसँग एउटा प्रश्न छ—के रसुवाको त्रिशूलीलाई केही समयपछि बाढीले क्षति पुर्‍याएको क्षेत्रका रूपमा मात्र सम्झिने, कि यसलाई प्राकृतिक विपत्तिबाट सिक्ने, इतिहासको अभिलेखीकरण गर्ने, अनुसन्धान गर्ने र नयाँ पुस्तालाई शिक्षा दिने एउटा विशिष्ट गन्तव्यका रूपमा पनि विकास गर्ने?

बाढीले मेटाएको कुरा फर्काउन नसकिएला, तर त्यसले छोडेका निशानीबाट नयाँ ज्ञान, नयाँ पहिचान र नयाँ सम्भावना अवश्य निर्माण गर्न सकिन्छ।

विपत्तिको पीडालाई सम्मान गर्दै त्यसैबाट ज्ञान र सम्भावनाको नयाँ अध्याय सुरु गरौँ। यो केवल पर्यटनको प्रस्ताव होइन, विपत्तिबाट सिक्ने र भविष्य निर्माण गर्ने एउटा नयाँ सोच हो। 

प्रकाशित मिति: ०७:१६ बजे, आइतबार, कात्तिक १५, २०८३