हृदेन्द्रलाई खुला पत्र !
म तिमीलाई के गर भन्न सक्ने ठाउँमा छैन, न म कुनै विशिष्ट विज्ञ हुँ। तर देशका दु:ख देखिरहेको आम नागरिकका आँखाबाट हेर्दा - यदि तिमीले यी दुई कुरा खुलेर भन्न सक्यौ भने, यो देशका लागि यो एक ऐतिहासिक मोड बन्न सक्छ।
हृदेन्द्र, म एउटा दु:साहस गर्न चाहन्छु। म तिमीलाई तिमी भनेर सम्बोधन गर्न चाहन्छु। सायद तिम्रा प्रशंसकहरूलाई यो कुरा सहज नलाग्ला, तर म तिमीलाई ‘तपाईं’ होइन, ‘तिमी’ भन्न चाहन्छु- सम्मान घटाएर होइन, आत्मीयता बढाएर। तिमीलाई ‘हजुर’, ‘मौसुफ’ वा कुनै विशेष उपाधिमा बाँधेर होइन, एउटा नेपाली नागरिकका रूपमा सम्बोधन गर्न चाहन्छु।
तिम्रो जुम्ला यात्रा देखेँ, सुनेँ, अनुभव गरेँ। तिमीमा देखिने सरलता, शालीनता र गहिरो बौद्धिकता कुनै नौलो कुरा होइन, तर जसरी त्यो झल्किन्छ- त्यो अद्वितीय छ।
फलेको बृक्ष झुक्छ भन्ने भनाइलाई म तिमीमा साक्षात देख्न सक्छु। तिमीलाई नियाल्दा बुझ्न सकिन्छ, खाली र भरिएको भाँडोको फरक के हो भनेर।
यही भएर म चाहन्छु — तिमी अगाडि आऊ।
शब्दकोशको अर्थमा होइन, राजनीतिमा, कार्यनीतिमा, समाजपरिवर्तनमा।
तिमी र तिम्री ममतामयी मातामा मैले त्यो सम्भावना देखेको छु- जुन सम्भावनाको अभावमा देश आजको अवस्थामा आइपुगेको हो।
तर प्रश्न उठ्छ - कसरी?
सबैभन्दा सजिलो जवाफ हुनसक्छ: ‘राजाको रूपमा।’
तर त्यसमा सहजतासँगै जटिलता छ - संवैधानिक, नैतिक र व्यावहारिक।
तिमी हालका औपचारिक उत्तराधिकारी पनि होइनौ।
र जन्मकै आधारमा शासन गर्ने व्यवस्थामा म विश्वास गर्न सक्दिन।
म तिमीमा विश्वास गर्न सक्छु - तर तिम्रा सन्ततिमा?
अहिल्यै विश्वस्त हुन सक्दिन।
हामी अहिले जननिर्वाचित प्रतिनिधिहरूसँग असन्तुष्ट छौँ- तर जन्मकै आधारमा शासन गर्नेलाई प्रतिस्थापन मान्ने आँट हामीसँग छैन। त्यो त झन गम्भीर बाध्यता होइन र?
अनि कतिले त भन्छन् - तिमी राजाको रुपमा ‘खोपीको देउता’ भएर बस्नुपर्छ। तर म चाहन्छु — तिमी ‘कार्यकारी’ भूमिकामा देखिनु। दृष्टिकोण होस् तिमीमा, निर्णय होस् तिमीबाट, जिम्मेवारी होस् तिमीप्रति।
हुन त तिमीलाई राजनीतिमा चासो नहुन पनि सक्छ। हुनै पर्छ भन्ने अनिवार्य पनि छैन। तर त्यसो भनेर तिमी असम्बन्धित पनि हुन सक्दैनौ। राजनीतिमा नरहे पनि तिमी समाजका हरेक तहमा एउटा प्रेरणादायी उदाहरण बन्न सक्छौ।
र, राजनीतिमा आएर पनि- तिमी एउटा सम्भावना अवश्य हौ।
म तिमीलाई के गर भन्न सक्ने ठाउँमा छैन, न म कुनै विशिष्ट विज्ञ हुँ। तर देशका दु:ख देखिरहेको आम नागरिकका आँखाबाट हेर्दा - यदि तिमीले यी दुई कुरा खुलेर भन्न सक्यौ भने, यो देशका लागि यो एक ऐतिहासिक मोड बन्न सक्छ।
पहिलो कुरा:
‘म जन्मकै आधारमा शासन गर्न चाहन्न, न त त्यसको कुनै विशेष सुविधा स्वीकार्छु।’
यो कुरा एक पटक तिमीले प्रस्ट भन्नै पर्छ। ताकि यो बहसलाई सधैंका लागि टुंग्याउन सकियोस्।
दोस्रो कुरा:
‘म प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छु- र त्यो प्रक्रियामा कुनैबेला म पनि सहभागी हुनेछु।’
राज्य व्यवस्थालाई फेरि दरबार वा खोपीतिर फर्काउने होइन, जनताबाट सिधा म्याण्डेट लिएर नेतृत्व गर्ने अभ्यासको वकालत गर। मुलुकका लागि केही गर्न सक्नेहरुको साथमा उभिउ। निति र नेतृत्वमा स्पष्ट हौ।
त्यसमा तिमी हुन सक्नेछौ एउटा सम्भावना- न देवता, न राजा, न प्रति - तर नेता!
हृदेन्द्र, मैले भविष्यको बारेमा कल्पना गर्दै हेरेँ। त्यो कल्पनामा सपनाजस्तो केही थियो- तर केवल सपना होइन।
किनभने सपनालाई वास्तविकता बनाउने शक्ति तब आउँछ, जब नीतिमा प्रतिबद्धता, व्यवहारमा साहस र निर्णयमा जवाफदेहिता हुन्छ।
त्यो शक्ति तिमीमा देखिन्छ। अब प्रश्न यो हो — के तिमी त्यो बाटो रोज्छौ?
हामी हेर्नेछौँ।
- तिम्रो शुभचिन्तक,
आम नागरिक !












