Kathmandu Press

चेतनाको अभावले ‘लेक लाग्ने’ समस्यामा पिरोलिन्छन् मुक्तिनाथका तिर्थयात्री  

गाडीबाट झरेपछि पैसा तिरेर घोडा चढ्ने सुविधा भए पनि मुक्तिनाथ मन्दिर चढ्न भने २०–२५ मिनेट उकालो अनिवार्य हिँड्नै पर्छ। धेरै भक्तजन यही उकालोमा लेक लाग्ने समस्याबाट पीडित हुने गर्दछन्।
चेतनाको अभावले ‘लेक लाग्ने’ समस्यामा पिरोलिन्छन् मुक्तिनाथका तिर्थयात्री  

जोमसोम, जेठ ३ : मुक्तिनाथ दर्शनका लागि यतिबेला हिमाल पारीको जिल्ला मुस्ताङमा देश विदेशबाट यतिबेला भक्तजन ओइरिएका छन्। पर्यटक बढेसँगै यहाँको वातावरणमा घुलमिल नभइ गाडीमार्फत एकै दिन मुक्तिनाथ पुग्दा लेक लागेर तीर्थयात्री बिरामी हुने र मृत्युवरणसम्म हुने अवस्था पनि बढ्दो छ। 

जोमसोमबाट मुक्तिनाथ २१ किलोमिटरको दूरीमा छ। तीन हजार आठ सय मिटर भन्दामाथि रहेको मुक्तिनाथमा बाहिरबाट एक्कासी पुग्दा लेक र ठण्डी लाग्ने जोखिम हुन्छ। अक्सिजन अभावले स्याँस्याँ हुने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुख सुक्ने, शरीर शिथिल हुने, वाकवाकी लाग्ने, गोडा थर्थरी काँप्ने जस्ता समस्या आउने संभावना रहन्छ।

गाडीबाट झरेपछि पैसा तिरेर घोडा चढ्ने सुविधा भए पनि मुक्तिनाथ मन्दिर चढ्न भने २०–२५ मिनेट उकालो अनिवार्य हिँड्नै पर्छ। धेरै भक्तजन यही उकालोमा लेक लाग्ने समस्याबाट पीडित हुने गर्दछन्। घोडामा जान पाइए पनि फर्कन नपाइने नियम छ। आपत्कालीन अवस्थामा कतिपय धनाढ्य व्यक्तिले मुक्तिनाथमै हेलिकप्टर त झिकाउँछन्। तर, सर्वसाधारणको बुता बाहिर छ।  

Hardik ivf

मुस्ताङ जिल्ला प्रहरी कार्यालय प्रमुख (डिएस्पी) छिरिङ किप्पा लामाका अनुसार लेक नलाग्ने उपाय सुझाउन जोमसोम प्रवेशको नाका घाँसाको चेकिङ पोष्ट र सदरमुकाम जोमसोममा यात्रुलाई सूचना दिइने गरेको छ। विरामीलाई अस्पतालसम्म पुर्याउन मुस्ताङको घरपझोङ गाउँपालिकाले एउटा एम्बुलेन्स पनि संचालन गरेको छ, तर पर्याप्त छैन। ‘हतारको यात्रा र चेतनाको अभावले लेक लाग्ने गरेको छ,’ प्रहरी प्रमुख लामा भन्छिन्, ‘हामीले घाँसा चेकपोष्ट र जोमसोममा पनि पर्यटकका लागि सूचना दिने गरेका छौं। एकैपल्ट तलबाट जाँदा समस्या आउने गरेको छ।’ 

तर प्रहरी बाहेक जोमसोममा अर्को भरपर्दो सूचना केन्द्र भने छैन। सूचनाको अभावका कारण पर्यटक र दर्शनार्थी बिरामी हुने गरेका छन्। विशेषगरी दीर्घरोगी, नियमित औषधी सेवन गर्ने र उचाईसँग बानी नपरेका, बृद्धबृद्धाको ज्यानै जाने समस्या छ।

lower-mustang-trek-5-1747465043.jpg
 

जिल्ला प्रहरी कार्यालय मुस्ताङको रेकर्ड अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ। चालु आवको असोजदेखि चैतसम्म मात्र मुस्ताङ घुम्न आएका ११ जनाको लेक लागेर ज्यान गुमाएका छन्। मृत्यु हुनेमध्ये मुक्तिनाथ दर्शनका लागि गएका चारजना भारतीय तिर्थयात्री थिए। उनीहरु ६४ वर्ष माथिका हुन्। 

पर्यटक र तिर्थयात्रीका लागि भनेर जोमसोममा अन्नपूर्ण कन्जरभेसन एरिया प्रोजेक्ट (एक्याप) को एउटा कार्यालय त छ। तर प्रभावकारी छैन। एक्यापले यातायातबाट जोमसोम उत्रने विदेशी पर्यटकका लागि मात्र सूचना उपलब्ध गराउँछ। त्यै पनि प्रायः अंग्रेजी भाषामा मात्र। मुक्तिनाथ मन्दीर जाने सडक छेउमा टाँगिएका सूचना बोर्ड पनि फेर्नुपर्ने अवस्थाका पुराना छन्।

पर्यटक ल्याउने र लैजाने गर्ने पर्यटन व्यावसायी र सम्बद्ध पक्ष समेत सचेत हुनुपर्ने अवस्था छ। मुक्तिनाथबाट तीन किलोमिटर तल झारकोट स्वास्थ्यचौकी छ भने नौ किलोमिटरको दूरीमा कागबेनी स्वास्थ्यचौकी छ। त्यसपछि १९ किलोमिटरको दूरीमा जिल्ला अस्पताल छ। मन्दिर परिसरको ‘हाई अल्टिच्युट ट्रिटमेन्ट सेन्टर’ मा बिरामीलाई तत्काल आवश्यक परे अक्सिजन दिने व्यवस्था समेत मिलाइएको छ। 

तर, बेहोस भएर ढलेका यात्री भने स्वास्थ्यचौकी पु¥याइसक्दा अन्तिम अवस्थामा पुगिसक्छन्। जतिबेला बचाउन निकै नै मुस्किल हुन्छ। मुस्ताङमा रहेर लामो समय पत्रकारिता गर्दै आएका स्थानिय पत्रकार सुन्दरकुमार थकाली (एसके थकाली) लेक चढ्दै जाँदा बानी पार्दै जानुपर्ने बताउँछन्। 

पत्रकार थकालीले हतारमा माथि उक्लिँदा समस्या आउने गरेको बताए। उनका अनुसार व्यावसायीले तीर्थयात्रीलाई एकैदिनमा पोखराबाट मुक्तिनाथ पु¥याएर दर्शन गराउने र जोमसोम झार्ने गरेको समस्या देखिएको छ। अझै कतिपयले व्यवसायीले त उही दिन रातीसम्म पर्यटकलाई पोखरा ल्याइसक्छन्। जस्ले गर्दा जोखिम बढाएको छ। 

‘एकरात तल बसेर अर्काे दिन मन्दिर पुग्दा केही सहज हुन्छ,’ पत्रकार थकाली भन्छन्, ‘यसबारे होटल व्यवसायी, यातायात, ट्राभल्स व्यावसायी सबैले सोच्नुपर्यो।’ विरामीका लागि भनेर मुक्तिनाथ मन्दिर परिसरमा एउटा ‘हाई अल्टिच्युट ट्रिटमेन्ट सेन्टर’ राखिएको जानकारी पनि थकालीले गराए। पहिलेपहिले पर्यटकहरु पोखरा आएपछि ‘परमिट’ बनाउनका लागि पोखरामै बास बसाइने गथ्र्यो। अहिले भने बाटोमै परमिट पाउने भएका कारण पोखरामै पनि बास बस्न छाडेका छन्। 

मुस्ताङको घाँसामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पनि परमिट दिन्छ। अहिले भारतीय पर्यटकले लिनुपर्ने एक्याप प्रवेश शुल्कको अनुमति घाँसाको प्रहरी चेकपोष्टबाट पनि दिइन्छ। पहिले भने पोखराबाटै लिनुपर्ने बाध्यता थियो। पर्यटकको एकैदिनमा आउजाउ गर्ने धपेडीले ज्यान जाने गरेको जोमसोमका स्थानिय व्यवसायीको भनाई छ। एकरात मार्फा वा जोमसोममा बास बस्न बाध्य बनाउने हो भने लेक लागेर मृत्यु हुने घटना कम हुने उनीहरु बताउँछन्। 

पोखराबाट जहाज, गाडी वा मोटरसाइकलमा एकै दिनमा मुक्तिनाथ पुग्न सकिन्छ। लेक लागेर ज्यान जाँदा विशेषगरी ठूलो संख्यामा आउने भारतीय पर्यटकमा नकारात्मक सन्देश जाने अवस्था आउनसक्ने भनाई स्थानिय मुक्तिनाथ होटलकी संचालक मोहनकुमारी शेरचनको छ।

‘तलबाट आउने पर्यटक एकरात जोमसोममा बास बसेर माथि जाने हो भने समस्या हुँदैनथ्यो,’ शेरचन भन्छिन्, ‘विरामी हुने र मृत्यु हुने कारण जनचेतनाको अभावले नै हो। सडकको सहजताले गर्दा पर्यटक एकैदिनमा हतार हतारमा आउजाउ गर्दा लेक लाग्ने समस्या हुन्छ।’ होटल व्यवसनयी शेरचनले भने अनुसार गाडी ‘रिजर्भ’ गरी आउने भक्तजन एकै दिनमा मुक्तिनाथ पुगेर बास बस्न जोमसोम फर्कने गर्छन्। 

यतिबेला आन्तरिक र वाह्य धार्मिक पर्यटक गरी एकै दिनमा हजारौंको संख्यामा मुक्तिनाथ पुग्ने गरेका छन्। विदेशी पर्यटकलाई लेक लाग्नबाट बच्न लसुन, अदुवा, कपुर जस्ता सामान्य घरेलु जडिबुटी प्रयोगको ज्ञानसमेत छैन। वसन्त ऋतुमा पात झर्ने र हरियालीको अभावमा अक्सिजन यसै पनि कम हुने गर्दछ। यसरी तल्लो क्षेत्रबाट माथिल्लो उचाइमा पुग्दा समस्या हुने गरेको छ।

समुद्री सतहदेखि एक्कासि तीन हजार मिटरभन्दा माथिको उचाइमा पुग्दा ज्येष्ठ नागरिकलाई समस्या हुने र अन्ततः त्यही समस्याले मृत्युको मुखसम्म पुर्याउँछ। यसरी मुस्ताङ आउने पर्यटकलाई पहिले मौसमसँग घुलमिल हुने वातावरण बनाउनुपर्ने आवस्यकता देखिएको छ। 
 

प्रकाशित मिति: १२:४२ बजे, शनिबार, जेठ ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्