हुलाक टिकटमा वंशु गुरुङ

काठमाडौं, चैत २८ : हुलाक सेवा विभागले सिन्धुलीगढी युद्धका सेना नायक सिकारी सरदार वंशु (वंश) गुरुङको तस्बिर अंकित हुलाक टिकट प्रकाशित गरेको छ।
विभागले आज आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सिकारी सरदार वंशु (वंश) गुरुङको तस्बिर अंकित हुलाक टिकटमा टाँचा लगाउँदै नेपाल बचाउने एक ऐतिहासिक पात्रको सम्मान भएको बताए।
‘हुन त सिकारी सरदार वंशु (वंश) गुरुङ राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने व्यक्तित्व हुन्,’ उनले भने, ‘तर अहिले हुलाक टिकट प्रकाशित गरेर भए पनि राष्ट्रले उहाँको योगदानको केही हदसम्म कदर गर्ने प्रयास गरेको छ ।’
हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले सिकारी सरदार वंशु (वंश) गुरुङको योगदानबारे थप जानकारी लिन आफू सिन्धुलीगढी पुगेको स्मरण गर्दै नेपाल बचाउने वंशु गुरुङको नाम नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिएको बताए। नेपाल र नेपालीको गौरव गाथा लेख्न पनि सिकारी सरदार वंशु (वंश) गुरुङको हुलाक टिकट प्रकाशनले प्रोत्साहन पुग्ने उनको भनाइ छ।
सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष लालजङ गुरुङले आफू वंशु गुरुङको सातौँ पुस्ता रहेको भन्दै नेपालको इतिहासमा महŒवपूर्ण योगदान दिएका आफ्नो पुर्खाको तस्बिर अंकित हुलाक टिकट प्रकाशित हुँदा आफूलाई गौरवको अनुभूति भएको बताए।
सिकारी सरदार वंशु (वंश) गुरुङ विसं. १८२४ मा सिन्धुलीगढीमा भएको युद्धमा गोर्खाली सेना (नेपाल)ले तत्कालीन इष्ट इण्डिया कम्पनी सरकार (बेलायत)को फौजलाई पराजित गरेको ऐतिहासिक घटनाका मुख्य पात्र हुन्। सो अवसरमा हुलाक सेवा विभागले नेपालमा मात्र पाइने विशेष वनस्पतिको पनि हुलाक टिकट प्रकाशित गरेको छ । दुवै टिकट १० रुपैयाँ मूल्यका छन्।
कार्यक्रममा हुलाक सेवा विभागले सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष लालजङ गुरुङ तथा थाइल्याण्डको बैंककमा २०२३ को २७ नोभेम्बरदखि २ डिसेम्बरसम्म आयोजित वल्र्ड स्ट्याम्प च्याम्पियनसिप एक्जिविशनमा प्रिस्ट्याम्प एण्ड क्लासिक पिरियड १७७९–१९०७ मा बृहत स्वर्ण पदक जित्न सफल ऋषिकुमार तुलस्यान र गत २९ नोभेम्बरदखि ३ डिसेम्बरसम्म चीनको साङ्घाईमा अŒयोजित एसियन इन्टरनेशनल स्ट्याम्प एक्जिविशनमा श्री पशुपति इस्युज अफ नेपाल १९०७–१९५०, ट्रेडिसनल विषयमा स्वर्ण पदक प्राप्त गर्न सफल अशोक रानालाई सम्मान गरेको थियो ।