Kathmandu Press

जसलाई दाताराम शर्माले पत्रकार बनाए

रिसाल वामपन्थी भए पनि सम्पादक शर्मा भने राजावादी पत्रकार थिए।
जसलाई दाताराम शर्माले पत्रकार बनाए

सम्झनामा भैरव दाइ

गत वर्ष मुर्धन्य अग्रज पत्रकार भैरव रिसाल दाइलाई भेट्न अनामनगर घट्टेकुलोस्थित निवासमा पुगेको थिएँ।  करिब एक घन्टाको भेटघाटमा उ बेलाको पत्रकारिताबारे भलाकुसारी गर्ने मौका मिलेको थियो। छोटो कुराकानीका क्रममा भैरव दाइको मुखबाट झण्डै सात दशक पुरानो अनुभव सुन्ने मौका पाएको थिएँ।  

भैरव दाइ आज हामीबाट टाढा भए पनि पत्रकारिताको शुरुवाती संघर्षमय क्षणका किस्साका ती वाणीहरु अझै कानमा गुञ्जिरहेका छन्।

Hardik ivf

जतिबेला पत्रकारिता पढ्ने कुरा टाढाको विषय थियो। २०१३ सालको कुरा थियो। मुलुकले १०३ वर्षे निरंकुश जहानीयाँ राणा शासनबाट भर्खर-भर्खर त्राण लिँदै थियो। रिसाललाई काम चाहिएको थियो। हुन त रिसाल ‘सेक्सन अफिसर’ मा लोकसेवामा पास पनि भएका थिए। रिसालले भने अनुसार जतिबेला उनी कम्युनिष्ट पार्टीको सदस्य भएको राज्यलाई थाहा रहेछ।

लोकसेवामा नाम निकाले पनि सरकारले कम्युनिष्टलाई नपाल्ने भनेर जागिर नदिएपछि उनी कामको खोजीमा थिए। त्यही मेसोमा शर्माको सम्पर्कमा पुगे। एकजना सज्जनले एक टुक्रा कागजमा शर्माका नाममा चिर्कटो लेखिदिएर कामको कुरा गर्न गएको सम्झना रिसालले सुनाएका थिए।

रिसालले भने अनुसार कुलशेखर शर्मा जो राज्यको ठूलो ओहदामा पुगेका थिए, उनैका भाइ रंगनाथ शर्मा हालखबर दैनिकका साप्ताहिकका प्रोपाइटर थिए। पत्रकारिता नपढे पनि लेख्न जान्नेबाट काम चलाइरहेको अवस्था थियो।

 हालखबर दैनिकमा काम गर्न जाँदा दाताराम शर्मा संपादक थिए। जो कृष्णप्रसाद भट्टराईपछि नेपाल पत्रकार महासंघको सभापति पनि भए। तत्कालीन पत्रकार संघमा रहेको फुटलाई अन्त्य गरी एकता कायम गर्ने र पत्रकारलाई एउटै छातामुनी ल्याउने कार्यमा शर्माको भूमिका पत्रकार महासंघको इतिहासमा अविस्मरणीय छ।

रिसालले हालखबरबाट पत्रकारिताको थालनी गरे। उनले शर्मासँग चार वर्ष सँगै काम गरेका थिए। सम्पादक शर्माले पनि पत्रकारिता नपढेका कारण आफूलाई चाहिएको कुरा मात्र अह्राउने गरेको सम्झना रिसालले सुनाएका थिए। तर शर्मामा पत्रकारिताको ‘सेन्स’ भने शर्मामा भरपुर थियो। रिसालले शर्माको ‘न्युज सेन्स’ कति थियो भन्ने सन्दर्भमा भेटमा एउटा किस्सा पनि सुनाएका थिए।

शनिबारको दिन थियो। रिसाल हिंडेर हालखबरको कार्यालयमा जाँदै गर्दा डिल्लीबजार चारखाल अड्डामा हल्लाखल्ला सुनेछन्। के रहेछ भनेर भित्र हेर्न जाँदा त्यहाँका कर्मचारीले खसी ढालेका रहेछन्।

मासु काटेर भाग विलो लगाउँदै बिक्री गर्दै गरेको उनले देखेछन्। तर रिसाललाई त्यो समाचार हुन्छ भन्ने थाहा थिएन। उनले हालखबरको कार्यालय पुगेर कार्यालयभित्र खसी काटेर मासु बेचेको घटना सम्पादक शर्मालाई सुनाएछन्। शर्माले त्यो गजबको समाचार हुने भन्दै लेख्ने तरिकासहित समाचार बनाउन लगाएछन्। शर्माले नै त्यो समाचार हुन्छ भनेर सुझाएपछि आफूले लेखेको सम्झना रिसालले सुनाएका थिए। त्यतिबेला प्रधानमन्त्री टंकप्रसाद आचार्य थिए।

चारखाल अड्डामा मासु बिक्री गरेको समाचार हालखबरमा छापिएपछि आचार्यले आफूलाई सिंहदरबारमा बोलाएर हपारेको घटना पनि रिसालले बताएका थिए।

‘त्यो पनि समाचार हुने रहेछ भनेर मैले शर्माबाटै थाहा पाएँ। नत्र मलाई थाहा थिएन। यस्तो समाचारलाई ‘प्रोक्सी न्युज’ भनेको मलाई याद छ,’ रिसालले यसरी त्यो सम्झना बताएका थिए। रिसाल वामपन्थी भए पनि सम्पादक शर्मा भने राजावादी पत्रकार थिए। हालखबरमा काम गर्दा राजतन्त्रलाई नोक्सान नहुने गरी शर्माले आलोचनामा समाचार टिप्पणी लेख्न अह्राएको अनभुव पनि रिसालले सुनाएका थिए। रिसालले भनेका थिए, ‘शर्माजी निःशुल्क राजावादी थिए। तर आलोचना पनि गर्नसक्ने। ’

सम्पादक शर्माले त्यतिबेला हालखबरमा ‘हाँस्नुहुन्छ भने...’ भन्ने व्यंग्य स्तम्भ पनि लेख्ने गर्थे। शर्माले टंकप्रसादको विषयमा लेखेको व्यङ्यात्मक एउटा पङ्क्ति रिसालले यसरी सुनाएका थिए - ‘छोटो शीर, बडा पेट, चिनियाँ कटकोटकम्। दशा प्रकटम्, टंक प्रसादम्। ’ होचो कदका टंकप्रसादले चिनियाँ कोट लगाउने र दशा निम्त्याउने गरेको अर्थ शर्माको उक्त व्यङ्ग्यात्मक पंङतीमा रहेको सम्झना रिसालले सुनाएका थिए।

शर्माको संपादकत्वमा प्रकाशित हालखबरमा रिसालसँगै रमेशनाथ पाण्डे (पूर्वमन्त्री) ले पनि काम गर्थे। पाण्डेले शुरुवातमा पत्रिका पट्याउने, हुलाकमा लगेर खसाल्ने काम गरेको किस्सा समेत यो पङ्क्तिकारलाई सुनाएका थिए। पछि भने पाण्डेले हालखबरमा पत्रकार भएर काम गरेका थिए।

‘शर्मामा आफ्नो कुरा कसैलाई नभन्ने, गोप्य राख्ने। आफू देखिन नपर्ने। अखबारमा नाम छापिए पुग्ने। सज्जन, निर्लोभी, सादा र सदाचारी स्वभाव थियो। पत्रकारिताको मर्यादा राख्न सक्ने, पत्रकारिता नपढे पनि साँचो पत्रकार थिए। मैले उहाँसँग पत्रकारिता सिकैको थिएँ,’ रिसालले कुराकानीमा ती दिन सुनाएका थिए।

रिसालले बताए अनुसार सम्पादक शर्मा राजावादी भए पनि तत्कालीन शासकबाट निकै दुःख व्यहोरेका पत्रकार थिए। शर्माले व्यवस्थाको आलोचना गरे पनि राजाको आलोचना गर्ने गर्थे। यस्तो परिवेशमा रिसालले काम गरेको स्मरण गराएका थिए।  

रिसालले पत्रकारिताको शुरुवाती क्षणमा शर्मासँग जोडिएको अर्को किस्सा पनि सुनाएका थिए। जतिबेला महाकवि लक्ष्मीप्रसाद देवकोटा विश्व साहित्य सम्मेलनमा ताजकिस्तान गएका थिए। त्यो सम्मेलनमा तत्कालीन प्रज्ञा प्रतिष्ठानका उपकुलपति बालचन्द्र शर्मा पनि जान खोजेका रहेछन्। तर उनलाई पत्र आएको रहेनछ। देवकोटा प्रज्ञा प्रतिष्ठानबाटै ताजकिस्तान गएका थिए। शर्माले आफू जान नपाएको झोंकमा देवकोटाको तलब रोकिदिएछन्। देवकोटा टिबीको पनि बिरामी भएका कारण समस्याग्रस्त थिए। त्यही मौकामा सम्पादक रहेका शर्माले रिसाललाई देवकोटाको अन्तर्वार्ता लिन अह्राएछन्। अन्तर्वार्तामा कसरी कुराकानी गर्ने भनेर शर्माले रिसाललाई सिकाएर पठाएका थिए। हालखबरमा देवकोटाको लामै अन्तर्वार्ता छापियो। त्यसपछि पर्सीपल्टै देवकोटाले तलब पाएको प्रसंग रिसालले सुनाएका थिए। त्यसपछि देवकोटाले रिसाललाई घरमा डाकेर धन्यवाद दिएछन्।

रिसालले भने अनुसार शर्मा काठमाडौंका बासिन्दा भए पनि इमान्दार र सोझो भएका कारण आर्थिक रुपबाट निकै दुःख कष्ट झेल्नुपरेको थियो। पत्रिका दर्ता र निलम्बनको शिलशिलामा मुद्दा हाल्न सम्पादकको हैसियतमा त्यतिबेला सर्वोच्चसम्म धाउनुपरेको घटना पनि रिसालले सुनाएका थिए।

 ‘शर्माले आर्थिक रुपमा निकै दुःख झेलेको मैले देखें, घरव्यवहार चलाउनै निकै समस्या परेको थियो,’ रिसालले भनेका थिए, ‘आफ्ना लागि नमाग्ने, सहयोग मागेको भए पाउने अवस्था पनि थियो। तर स्वाभिमानी भएका कारण दुःख पाएका थिए। काम गरेर खाने वर्गका कसैसँग नझुक्ने पत्रकार भएका कारण पनि हालखबरमा रहँदा प्रकाशनसम्वधी बिषयलाई लिएर उनले धेरै मुद्दा खेप्नुपरेको थियो। धेरैपल्ट बयान दिन जानुपरेको थियो। यो वातावरणमा पत्रकारिता सिक्दै अघि बढेको थिएँ। ’ 

नेपाली पत्रकारिताका अथक योद्धाप्रति भावपूर्ण श्रद्धाञ्जली।

प्रकाशित मिति: १८:५२ बजे, सोमबार, चैत २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्