लकडाउनमै बबई सिँचाइ आयोजना निर्माण सुरु
बर्दिया, वैशाख २१ : लकडाउनका कारण रोकिएका बर्दियाका आयोजनाको काम सञ्चालनमा आएको छ। सरकारले महत्वपूर्ण योजनामा काम सुरक्षित भएर सञ्चालन गर्न अनुम....

बर्दिया, वैशाख २१ : लकडाउनका कारण रोकिएका बर्दियाका आयोजनाको काम सञ्चालनमा आएको छ। सरकारले महत्वपूर्ण योजनामा काम सुरक्षित भएर सञ्चालन गर्न अनुमति दिएपछि कामले निरन्तरता पाएको हो।
सरकारले आयोजना सञ्चालनका लागि बनाएको मापदण्डानुरुप व्यवस्था गर्ने गरी आवश्यकता र प्राथमिकताका आधारमा काम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुमति दिएको छ।
आवश्यक स्वास्थ्य सुरक्षा प्रबन्ध गरी काम सञ्चालन गर्न सकिने निर्णय गरिएअनुसार जिल्लामा सञ्चालनमा रहेका राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना, कर्णाली नदी व्यवस्थापन आयोजना, रम्मापुर–गुलरिया–रझना सडक, भादापुल निर्माण, मधुवन र बारबर्दिया नगरपालिका जोड्ने सडकलगायत स्थानीय तहका ठूला साना योजना पुनःसञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।
बबई सिँचाइ आयोजनाले पुनः काम शुरु गरेको छ। जिल्ला प्रशासन कार्यालयबाट काम गर्ने अनुमति लिएर आयोजनाले काम शुरु गरेको हो।
जिल्लामा ३८ ठेक्कामार्फत काम सञ्चालन हुँदै आए पनि अहिले १५ वटाले मात्रै अनुमति पाएका छन्।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले दिएको निर्देशनानुसार काम गर्ने मजदुरको स्वास्थ्य सुरक्षालाई ध्यान दिई निर्माण कम्पनीले बनाएको शिविरमै खाने, बस्ने र स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको निर्माण व्यवसायी रामबाबु सुवेदीले बताए।।
जिल्लामा बबई सिँचाइ आयोजनासहित ठूला, मझौला र साना गरी झण्डै दुई सय योजना सञ्चालनमा छन्। (रासस)










-1754206481.jpg)
