Kathmandu Press

'युवा पुस्ताले नजानिँदो गरी विभेद ग्रहण गरिरहेको छ'

'विद्रोह नगरी जात व्यवस्था अन्त्य हुँदैन'
'युवा पुस्ताले नजानिँदो गरी विभेद ग्रहण गरिरहेको छ'

जात र अन्तरपुस्ता सोच

जातका आधारमा हुने विभेदलाई कानुनले दण्डनीय भनेको  छ। तर, विभेद कायम छ।  जातकै  अनुसारको मानिसलाई त्यही अनुरुपको व्यवहार गरिने सामाजिक नियम यथावत देखिन्छ। किन ? किनकी एक पुस्ताबाट अर्को पुस्तामा सर्ने जातमा आधारित सामाजिक नियम रोकिन सकेको छैन।

जन्मजात (वंशाणुगत) रुपमा निषेध र विशेषअधिकारमा आधारित तहगत संरचना नै जातीय व्यवस्था हो। दक्षिण एसिया अर्थात हिन्दु धर्मले तय गरेको जातमा आधारित समाज छुत र अछुतको नियममा आधारित थियो।

Hardik ivf

 निश्चित जातले निश्चित काम र संस्कार गर्नैपर्ने भएकाले जातअनुसार उसको सामाजिक हैसियत र स्तर निर्धारण गरिएको थियो। निश्चित जाति समूहले निश्चित जातिलाई तोकिएअनुसारको छुवाछुत गरिएन भने धर्म र १९१० सालको मुलुकी ऐनले सजायँ र जरिवानाको व्यवस्था गरेको थियो। अर्थात यो नियम उल्लंघन गर्नै मिल्दैन्थ्यो।

अहिलेको युवा पुस्ताले समेत कतिपय जातमा आधारित नियमलाई अपनाइरहेको देखिन्छ। यसर्थ राज्यको कानुनभन्दा समाजिक र सांस्कृतिक आधारमा बनेका नियम बलियो रुपमा पुस्तान्तरण हुँदै आएको प्रतित हुन्छ।

जात अनुसरको व्यवहार गर्ने र जात अनुसारको मानिसको क्षमता र स्तरको बारेमा धारणा निर्माण गर्ने प्रबृत्ति गाउँमा मात्र होइन की शहरी क्षेत्र र सरकारी संयन्त्रसम्मै व्याप्त रहेको देखिन्छ। जात अनुसारको पेसामा परिवर्तन आए पनि विवाह, संस्कार र धर्मजन्य गतिविधिहरुमा जातको गहिरो प्रभाव कायमै छ।

मानिसमा विकास भएको जातीय विभेद र जात अनुसारको व्यवहारको सोच विरोधी चेतना आधुनिक भनिएको शिक्षाले समेत निर्माण गर्न सकेको छैन।

दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको ‘जात र अन्तरपुस्ता सोच’ विषयक ‘कास्ट कन्भरसेसन’ टेलिभिजन कार्यक्रममा मोरङका माजित अन्सारीले अहिलेको युवापुस्ताले पनि नजानिदो गरि जातमा आधारित विभेदित मानशिकतालाई ग्रहण गरिरहेको बताए।

उनले भने, ‘अहिले डिजिटल मिडियामा निकै इन्फर्मल ढंगबाट फर्मल विभेद भइरेको छ। बुवा आमाको पुस्ताभन्दा अहिलेको पुस्ता जातको विषयमा धेरै हदसम्म प्रगतिशिल छ। तर, जति हुनुपर्ने हो त्यति हुन सकेको छैन।’ जातको विषयमा कुरा नगरेपछि यो आफै हट्छ भन्ने अहिलेका युवा पुस्ताको भ्रमबाट माथि उठेर यसमाथि व्यपक छलफल गर्नुपर्ने उनको भनाइ छ।

स्कुलको पाठ्यक्रममा जातको बारेमा पढाए पनि खराव संस्कारलाई हटाउनुपर्ने विषयमा नकिाउदा जातीय विभेदलाई बल पुगेको ललितपुरकी सुभेक्षा महर्जनले बताइन्। उता सर्लाहिकी अञ्जली साहले लिखित इतिहासलाई नै अहिलेको जेन जीले च्याट जिपिटीमार्फत पच्छाइरहेको र त्यसमा समाजको मौखिक इतिहास विच्छेद रहेको उल्लेख गरिन्। रुपन्देहीकी सञ्जीला रनपालले बस, क्याफेदेखि विश्वविद्यालयसम्म जताततै जातकै बहस सुनेको र त्यसबाट उत्पन्न घृणाले आफूलाई हिर्काएको भन्दै कविता पाठ गरिन्।

स्याङ्जाकी निर्मला परियारले आफ्नै कलेजमा पटक पटक जातको आधारमा होच्याएको शब्द सुन्दा कही पनि खुलेर परिचय दिन नसक्ने अवस्थामा पुगेको दुखेसो पोखिन्। उनले गाउँदेखि शहरसम्म भोगेको विभेदको फेहरिस्त सुनाउदा वातावरण स्तब्ध बन्यो।

त्यस्तै सिन्धुपाल्चोकका सुशील महराले प्रतिस्थित पदमा रहेका व्यक्तिले पनि जातीय विभेदलाई सामान्य रुपमा लिदा समाजमा नराम्रो असर पारिरहेको बताए। उनले मानिसहरु शिक्षित र आर्थिक रुपमा सवल भए पनि जातीय विभेदले नछोडेको उदाहरण पेस गरे। महराको प्रश्न थियो, ‘म जतिनै राम्रो, शिक्षित र आर्थिक रुपमा उन्नत भए पनि मेरो गाउँको मान्छेले किन भित्र आइजा भन्दैन त नी ?’

पुरानो पुस्ता र नयाँ जातको विषयमा पुस्ताले के सोच्छ ? जातका विषयमा कस्ता बहस हुन्छन् ? जातीय विभेदको संस्कार पुस्तान्तरण हुने क्रम कत्तिको तीब्र छ ? कास्ट कन्भरसेसनमा सात युवाले जात र अन्तरपुस्ता सोचमाथि व्यक्त गरेका अनुभव र दृष्ट्रिकोण बुझ्नुहोस्—

माजित अन्सारी, मोरङ

म सानोमा स्कुल पढिरहँदा गाउँमा होटल थियो। र, हाम्रो तराइतिर डोम समुदाय हुनुहुन्छ। उहाँहरु कहिल्यै होटेल भित्र छिर्न पाउनुहुन्नथ्यो। चिसोमा होटलको बाहिर रहेको भक्का र आलु चपसम्म पनि खान पाउँनुहुन्नथ्यो। उहाँहरुले आफ्नै घरबाट स्टिलको गिलास बोकेर आउनुपर्थ्यो र अलि माथिबाट त्यो गिलासमा होटेलवालाले चिया खनाइदिन्थ्यो। मैले सानैबट करिव आठ दश वर्षसम्म त्यो घटना देखें।

त्यसबारे मैले बाबालाई सोधेको थिएँ –  अरु भित्र गएर खाइरहेका छन्। उहाँहरुले चाही किन बाहिर बसेर खाइरहनु परेको ? किन चिया खाने गिलास पनि आफै लिएर आउनु परेको ? अनि बुवाले भन्नुभयो की उहाँहरु डोम समुदायको हो। त्यो मानिसलाई होटल भित्र छिर्न दिइँदैन। उहाँहरुले फोहोर काम गर्नुहुन्छ। समाजको नियम नै यस्तै बनाइएको छ। हामी धेरै बोल्न हुन्न। नत्र हामी पनि समस्यामा पर्छौं। यसरी मैले घरबाटै जातको बारेमा सिके।

मैले सरकारी स्कुलमा पढेको हुँ। त्यहाँ विविध समुदायका साथीहरु हुनुहुन्थ्यो। मेरा थुप्रै दलित साथीहरु पनि हुनुहुन्थ्यो। उहाँहरुले आफ्नो घरमा बिहे पर्दा मलाई निमन्त्रणा दिनुहुन्थ्यो। घरबाट मलाई जान रोक लगाउनुहुन्थ्यो। उहाँहरुले डर देखाउँदै भन्नुहुन्थ्यो – त्यहाँ गएपछि हाड छोइन्छ। त्यहाँ खाएपछि अरु जातीका मानिसहरुले हामीलाई वहिष्कार गर्न सुरु गर्छन।

२०७३ सालमा हामी एसइइको तयारीमा थियौं । एक जना दलित समुदायको साथीलाई मेरै घरमा सँगै बसेर तयारी गर्नुपर्छ है भनेको थिएँ। उ मेरो घरमा आउँन थालेपछि घरबाट भन्नुभयो – दलित समुदायको मनिसलाई घरमा लिइरहेको छस्, अनि हामीलाई छिमेकीहरुले अप्ठ्यारो पार्दैनन् ? पछि गाह्रो पार्छन्।

मैले भने – गाह्रो पार्छन भने म छु र मै बनौला नी त सानो जात के भयो र। त्यसपछि उहाँहरु सहमत हुनुभयो। विभेद अन्त्यको लागि हामीले एक किसिमको विद्रोह त गर्नै पर्छ। जवसम्म हामीले हाम्रा अभिभावकहरुलाई लजिकल प्रश्न गर्दैनौं, तवसम्म यो चलिरहन्छ।

गाउँमा रहँदा शौभाग्ले मैले कुनै विभेद भोग्नु परेन। विराटनगरमा प्लस टु पनि घरमै बसेर पढेकाले कुनै भेदभावको शिकार हुनु परेन। हामीले छुवाछुतको सामना गर्नु पर्दैन जस्तो लाग्थ्यो। काठमाडौंमा कानुन पढ्न आएको बेलासाथीसँग कोठा खोज्न थाल्यौं। साथी पहाडी समुदायको थियो। सानेपामा कोठा पनि भेट्यौं। शौभाग्यले घरको मालिक पनि मधेसको ठूलो जातीको हुनुहुँदो रहेछ। एक दिन उहाँले मेरो नाम सोध्नुभयो। नाम सुनेपछि भन्नुभयो – माझित पनि कही नाम हुन्छ ? मैले आफू मुस्लिम भएको बताएँ। त्यसपछि उहाँ चुप बस्नुभयो। एकछिनपछि भन्नुयभो भाइ मुस्लिम हो भनेर पहिल्यै भन्नुपर्दैन ? उहाँको आवाजमै परिवर्तन आयो । पहिले खुब प्रेम गर्ने मानिसले अचानक त्यस्तो व्यवहार देखाउनुभयो। त्यतिबेला मलाई थाहा भयो की मधेसी समुदायका ठूला जातीले चाहीँ मुस्लिमलाई पनि विभेद गर्ने रहेछन्।

अहिले हामीले भनिरहेका हुन्छौं की जातको विषयमा कुरा गरेनौं भने जातको कुरा आफै हराएर जान्छ। युवाहरुमा पनि यस्तो विचार व्याप्त देखिन्छ। कतिसम्म भने कानुनको विद्यार्थीले समेत कानुनमा दलित लेखेर भेदभाव भएको भन्नुहुन्छ। जातलाई छलफलको विषय नै बन्न दिनुहुँदैन भन्ने एक किसिमको धारणा देखिन्छ। यो भनेको निकै अपरिपक्क विचार हो। त्यो धारणा चाही चिरिनुपर्छ र जातको विषयमा थप छलफलहरु भइरहनुपर्छ।

हाम्रो बुवा आमाको पुस्ताभन्दा अहिलेको पुस्ता जातको विषयमा धेरै हदसम्म प्रगतिशिल छ। तर, जति हुनुपर्ने हो त्यति हुन सकेको नि छैन। एउटा पुस्तबाट अर्को पुस्तामा सर्दै जाने कुरालाई भने नजानिदो तरिकाले ग्रहण गरिदो रहेछ। कुन शब्द बोल्दा कसलाई हर्ट हुन्छ भन्ने विषयमा यो पुस्ता सम्बेदनशील छैन। सायद अब आउने पुस्ता यो ममलामा पनि धेरै हदसम्म प्रगतीशिल होला। हामीले डिजिटल इन्भाइरोमेन्टको कुरा पनि अहिलेको बेला निकै चर्चा गर्नुपर्ने विषय हो। त्यहाँ अनौपचारिक रुपमा औपचारिक विभेदहरु गरिरहेको छ। एउटा स्टटसमा कमेन्ट देखेको थिएँ, यो देशको होइन जातको नेपाली पक्कै होला। त्यसमा सबैले सही हो भन्दै कमेन्ट वर्सिरहेको थियो। ती सबै हाम्रो पुस्ताका साथीहरु थिए।

निर्मला परियार, स्याङ्जा

मैले बच्चादेखि स्वतन्त्रतापूर्वक बाँच्ने अवसर पाएको थिएँ। स्याङ्जाको निकै गरिव परिवारमा जन्मीएँ र  पाल्पामा हुर्किएँ। त्यतिबेला मलाई कहिल्यै पनि विभेदको कुरा थाहा भएन। बच्चैदेखि होस्टेलमा हुर्कीए पनि जातको विषयले कुनै असर पुर्‍याएन। १० कक्षामा पढ्दै गर्दा म जन्मेको गाउँ फर्कीएको थिएँ। त्यहाँ गएपछि बल्ल थाहा भयो – ए जात भन्ने कुरा रहेछ।

हाम्रो समजमा दलित र गैरदलितको बस्ती छुट्टाछुट्टै हुन्छ। तर, बाहुन गाउँमै हामी ती घर दलित थियौं। त्यहाँ मैले धेरै निषेधको सामना गरें। धाराम पानी लिन जान नहुने, गए पनि ठूलो जात भन्ने मानिसहरुले भरेपछि मात्र हामीले भर्नुपर्ने। हामीले पुजामा बाँजा बजाउनुपथ्र्यौ। त्यसरी बाजा बजाउदा पनि उहाँहरुको बाटो बाट जान नहुने। उहाँहरुको घर छुन नहुने यस्तै यस्तै।

त्यहीं पुजामा एक जना गैरदलित आएर बाजा छुनुभयो। त्यसपछि मलाई लाग्यो – उहाँहरुले त हामीलाई छुन हुँदो रहेछ, हामीले चाही किन छुन नहुने होला ? त्यही दिनदेखि जातको विषय दिमागमा गढेर बस्यो। अनेक कुरा खेल्न थाल्यो।

म थप अध्ययनको लागि काठमाडौं आउन पाएकोमा आफैमाथि गर्व गर्थें। खुशीका साथ आफ्नो जात भन्थे। काठमाडौं बस्दा होस्टेलमा एक जना साथीसँग कोठा सेयर गर्नुपर्ने भयो। उहाँले नाम सोध्नुभयो। अनि जात पनि। मैले मेरो जात परियार बताउँदा अकास्मात उहाँको रियाक्सनमा परिवर्तन आयो। उहाँ सक्ड भएजस्तो गर्नुभयो र भन्नुभयो – हामी त यस्तो कुरामा विश्वास नै गर्दैनौ। त्यो दिनदेखि मलाई धेरै नै डर लाग्न थाल्यो। कतै गएर पनि स्वतन्त्रतापूर्व आफ्नो परिचय दिन सक्दैन।

काठमाडौं या शहरमा जातीय विभेद हुँदैन भन्छन्। तर, मैले यही आएर धेरै भोगें। जातलाई जोडेर गाली आइरेको हुन्छ। कलेजमा ब्राह्मण साथीहरु एक आपसमा बसेर कुरा गरिरहनुभएको छ भने बेला बेला भन्नुहुन्छ – दमाइ कामी जस्तो नगर न। मलाई निकै नमिठो लाग्छ। मलाई अहिले जातको विषमा कुरा गर्नै मन पर्दैन। र, जातको विषयमा कुरा पनि हुँदैन।

शुभेक्षा महर्जन, ललितपुर

जातको विषयमा हामीले परम्परागत ढंगबाट छलफल गरिरहेका हुन्छौं। जातीय व्यवस्था, यसका नियम र बन्धनहरुमाथि बढी कुराकानी हुन्छ। पहिलो पटक मैले जातको बारेमा स्कुलबाट थाहा पाएकी हुँ। ६/७ कक्षातिर जातको बारेमा पढाइन्छ। र, त्यहाँ भनिएको हुन्छ उपल्लो जातलाई यस्तो गरिन्छ र तल्लो जातलाई यस्तो गरिन्छ। यसबारे परिवारमा फर्कीएर कुरा गर्दा यो जात योभन्दा ठूलो र यो जात योभन्दा सानो भनेर सिकाइन्छ। त्यसैले जातको विषयमा इन्फरमेसन ओभरलोड गरिदिएको छ तर, त्यसलाई अनलर्न गर्न भने सिकाइएको छैन। किनकी विशेषअधिकार पाएका जातले त्यसलाई गुमाउन चाहेका छैनन्।

जात भनेको स्तरीकरण(हाइरार्की) रहेछ। यो स्तरीकरण विहेको क्रममा अझै बढी देखिँदो रहेछ। मैले बिहेको बारेमा साथीहरुसँग छलफल गर्दा पनि आफ्नै जातसँग गर्नुपर्ने सल्लाह आउँछ। किनकी पार्टनर छनोटको लागि जातले आफ्नै क्याटेगोरी निर्माण गरिसकेको छ। यसो गर्दा समाजमा सजिलो पनि हुन्छ। अन्तरजातीय बिहे गर्दा उसले थुप्रै निषेधहरुको सामना गर्नुपर्छ। मेरो बाहुन साथीले क्षेत्रीसँग विहे गर्दा उसलाई भान्सा भित्र जान दिएनन् र पुजामा पनि निमन्त्रणा दिएनन्। मेरो परिवारमा अन्तरजातीय विहे नभएकाले मैले अहिलेसम्म यस्तो निषेध भोग्नु परेको छैन। मेरो एक जना साथी पनि लामो समय सम्बन्धमा रह्यो तर, बिहेको कुराले उनीहरुलाई अहिले नै निकै डर छ।

अर्कोतर्फ हाम्रो समुदायमा उत्पीडनमा परेका जातीले आफुलाई दलित भनेर चिनाउन चाहदैनन्। किनकी उनीहरुसँग पैसा पनि छ। जसको कारण हाम्रो वडामा दलितको कुनै प्रतिनिधित्व नै छैन। दलित शब्दलाई नै घृणा गर्ने भएकाले उनीहरुले त्यो पदलाई ग्रहण गर्न सकिरहेका छैनन्।

सुशील महरा, सिन्धुपाल्चोक

गाउँमा पढ्दै गर्दा जातीय विभेदको धेरै नै सामना गर्नुपर्‍यो। हामीलाई स्कुलमा नैतिक शिक्षा पढाउने म्याम हुनुहन्थ्यो। मेरो घरभन्दा केही माथि उहाँको घर थियो। स्कुलमा नैतिक शिक्षा पढाउहुन्थ्यो अनि घरमा आएर हामीले छोएको पानी खानुहुन्थ्यो। यो समाजको शिक्षक भनेको के हो ? उसको कस्तो ज्ञान उत्पादन गरिरहेको छ समाजमा ? र, त्यसले कस्तो प्रभाव पारिरहेको छ ? यो वस्तविकता बुझ्न जरुरी हुन्छ जस्तो लाग्छ।

स्कुल पढ्दा जात भनेको केही होइन, पढेपछि सबै अन्त्य भैहाल्छ भन्ने लाग्थ्यो। म पाटन क्याम्पसमा प्लस–टुको पढाइ सकेरसमाजशास्त्र पढ्नको लागि आर आर क्याम्पस पुगे। किनकी मलाई राजनीति गर्नु थियो। किनकी यो समाजको संरचनाले किन कसैलाई सानो र कसैलाई ठूलो बनायो ? किन हामीले आत्मसम्मान गुमाएर बाँच्नुपर्‍यो जस्ता प्रश्नहरु मेरो मनमा आइरहन्थ्यो। क्याम्पसमा शुरुमा आफ्नो समुदायको मानिस कोही पनि भेटेन। दिशानिर्देश गर्ने मानिस पनि कोही हुनुहुन्नथ्यो। कसरी बोल्ने, सर्कल कसरी बनाउने, कहाँ होला बहस गर्ने थलो ? केही समय डिप्रेशन नै भयो। जव मैले त्यहाँ कोही न कोही भेटे र थोरै बहुत बोल्ने कोशिस गरे। त्यसपछि हामीले आरआरमा एउटा बहस गर्ने सर्कल र प्लेटफर्म बनायौं।

जातीय विभेदबारे आम मानशिकता कस्तो छ भनेर यहाँ सुनाउछु। आजभन्दा करिव तीन वर्ष अघि सिन्धुपाल्चोकमा जातीय विभेदको घटना भयो। त्यसपछि हामी त्यहाँको जिल्ला प्रहरी कार्यालयमा पुग्यौं। त्यहाँको एसपीले भन्नुभयो – यो विभेद भनेको नर्मल हो क्या भाई !

मैले उहाँलाई प्रश्न गरें – उसो भए यो विभेद कसरी हट्छ त ?

डक्टर पाइलट इन्जीनियर हुनुपर्‍यो। आर्थिक हिसावमा बलियो हुनुपर्‍यो।

अनि अर्को प्रश्न सोध्न मन लाग्यो – कतिपय उच्च जातको भन्दा मेरो आर्थिक अवस्था बलियो छ । आर आर क्याम्पसमा राजनीति शास्त्र पढिरहेको छु। मेरो घर परिवार पनि राम्रो छ। दाइ जापान हुनुहुन्छ। तर, पनि तँ काठमाडौं पढ्ने रैछस्, आइजा नी त घर भित्र भनेर किन भन्दैन त मेरो गाउँको मान्छेले ? त्यसपछि उहाँ नाजवाफ हुनुभयो। सायद मेरो प्रश्न सही थियो।

त्यसअघि म अनुसन्धानको कामले प्रतापपुर गाउँपालिकामा गएको थिएँ। मसँगै उपल्लो जातको एक जना साथी पनि हुनुहुन्थ्यो। कुरा गर्दै जादा उहाँले भन्नुभयो मैले बाहुन भएर पनि तिमीलाई घरभित्र लगे नी ! यस्तो खुला हृदय भएको साथीहरु त अरु कोही भेटेको छैन होला है ?

मेरो दाइ र दिदीले अन्तरजातीय बिहे गर्नुभएको छ। तर, अहिले पनि समाजको संरचना मैले बाहुनको घरमा पुगेर केटी माग्न सक्ने अवस्थाको छैन। अहिले आएको परिवर्तन भनेको के हो भने हिजोको दिनमा जातीय विभेद वा छुवाछुत भनिन्थ्यो भने अज आएर जात व्यवस्था भन्न थालिएको छ र त्यसको विरुद्ध लड्न थालिएको छ।

प्रजनय पोखरेल, झापा

म विज्ञानको विद्यार्थी हुँ। मेरा अरु जातका साथीहरु पनि हुनुहुन्छ। हामीबीच कहिल्यै जातको कुरा हुँदैन। हामीले बरु फुटबलका कुरा गर्छौ, म्याथम्याटिक्स र फिजिकल साइन्ससँग सम्बन्धित कुरा गर्छौ। कक्षामा पनि जातको आधारमा विभेद कहिल्यै नभएकाले जातको कुरा आएन।

 

मैले ममीसँग जातको अभ्यासबारे सोधेको थिएँ। उहाँले बेदान्त धर्म र बेदले जातको आधारमा विभेद गर्दैन भन्नुभयो। जातको आधारमा विभेद गर्ननहुने बताउनुभयो। तर, मागि विवाह गर्दा भने बाहुनसँगै विवाह गर्दा राम्रो हुन्छ भन्नुभयो। र, थप्नुभयो, यदी प्रेम विवाह गर्छौ भने जातसँग सरोकार छैन। साथीसँग कुरा गर्दा पनि सकेसम्म आफ्नै जातीमा विहे गर्दा सांस्कृतिक भिन्नता नआउने कुरा हुन्छ।

काठमाडौंजस्तो नेवार समुदायको बहुल्यता भएको ठाउँमा पनि मधेशी समुदायका बालेन साह मेयर हुनुभयो। त्यसैले जातको विषयमा भने नेपाल प्रगतिशिल बन्दै गएको भान हुन्छ।

अञ्जली साह, सर्लाही

म सर्लाहीमा हुर्किएँ र १० कक्षासम्म त्यहीँ पढें। त्यहाँ आफ्नै जातको विषयमा कुरा हुन्थ्यो। म काठमाडौं आएको करिव पाँच वर्ष भयो। हिमाल, पहाड, तराइ सबै क्षेत्रका साथीहहरु बसेर हामी जातको कुरा गर्ने गर्छौ। जातको उत्पत्ती  र कानूनबारे हामीबीच धेरै छलफल हुन्छन्।  धेरैले अहिले विभेद छैन भन्नुहुन्छ। तर, कहाँ छैन ? कलेजमा त भइ नै रहेको छ। कहिलेकाँही कुरा गर्दैगर्दै कति साथी टेबुलबाट उठेर पनि हिड्नुहुन्छ। यस्ता छलफल प्रायविना निश्कर्षमा टुंगिन्छन्।

जात र रंग नै नबुझेको बेला पनि जात र रगको आधारमा विभेदको अनुभुति गरियो। त्यसबाट कसरी आफुलाई सुरक्षित गर्न सकिन्छ भनेर विभिन्न उपायहरु अपनाइयो। आफुलाई सुरक्षित गर्न कै लागि अहिले पनि मेरो घर काठमाडौंमै छ भन्नुपर्छ। अहिले यहाँ ‘सिटी विल्डीङ  कल्चर’ छ। यहाँ हामीले ‘प्रोटेक्टीभ लेयर’ बनाइरहेका हुन्छौं भने उहाँहरुले इगालिटेरियन लेयर बनाइरहनुभएको हुन्छ।

हामी आफूलाई जेन जी भन्छौं। संरचनागत रुपमा शक्तिमा भएकाहरुले जुन कुरालाई इसाराले भनियो वा गरियो त्यसलाई हामीले अहिले आएर यसलाई हामीले ‘क्यान्सर कल्चर’ भनिरहेका छौं। यस्तो भन्नको लागि हामीले प्रविधिले सहज पनि बनाएको छ। गाह्रो चाही कहाँ छ भने हामी च्याट जिविटीमा आधारित हुन गएका छौं। तर, हाम्रो इतिहास शक्तिमा भएका मानिसहरुले लेखिदिएका हुन्। त्यो इतिहासले मधेशको स्तरीकरणलाई बुझ्नै सकेन। त्यो कसैले लेखिदिएन। त्यही लिखित इतिहास इन्टरजेनेरेसन लर्निङबाट विच्छेद छ। जब लेखिएको इतिहास नै बास्तविक हो र मौखिक इतिहास(ओरल हिस्ट्री) केही होइन भन्ने चेत रहन्छ तवसम्म परिवर्तन हुँदैन। जेन जीले नयाँ टर्मिनोलोजी नै किन नलिओस् त्यसले त्यति धेरै फरक पार्दैन।

सञ्जिला रनपाल, रुपन्देही

म आज इन्ड्राइभ गरेर आएको थिएँ। इन्ड्रइभमा हिँड्दै गर्दा पनि तपाइको जात के हो भनेर सोनुहुन्छ। नेपाल यातातमा हिडिरहेको हुन्छु, जातको कुरा छ। क्याफेमा  गइराछु, जातको कुरा छ। जहाँ नि जातकै कुरा छ। यो जातको विषयले मलाई नराम्ररी हिर्काएको छ।

म रुपन्देहीको क्यापिटल सिटीमा हुर्कीएकी हुँ। मलाई घृणा गरेका कुराहरु मैले डायरीमा लेख्ने गर्थें। मैले कविताहरु लेख्दा जहिले पनि जातमा गएर टुंगिन्थ्यो। अन्त त म प्लस टु सकेर ल स्कुलमा पढ्न काठमाडौं आएँ। त्यसपछि थाहा भयो क्लास, जेन्डर, रिलिजन, कास्टको विषय त कति बृहत रहेछ। त्यसपछि मैले यही विषयमा लेख्न शुरु गरें। तर, लेख्दै गर्दा जुन पनि कविता समराइज भएर जातमै टुंगिने गर्छ। जहिले पनि मेरा कविताहरुले जातको विषयमै प्रश्न गर्छन्।

समाजमा भएका जातीय विभेदलाई देख्दा नराम्रो लाग्छ। क्रोधित पनि भइन्छ। जातकै कारण कति चोटी हारिन्छ, कति मानशिक रुपमा तनाव हुन्छ। जातको विषयमा बोल्दा बोल्दै कहिलेकाँही त थाकिसकेजस्तो लाग्छ। लाग्छ – ‘यो मेरो काम नै होइन। म के बन्न हिँडिरहेको थिएँ, के गरिरहेको छु ?’ तर, हार मान्न चाही हुँदैन। जातीय विभेदको अन्त्य एक्लैले गरेर हुने त होइन तर, कोही न कोहीले यसको शुरु गर्नुपर्छ। आम्रो पुस्तामा आइपुग्दा जातको विषयमा अलिकति उदार भएको भने देखिन्छ।

मेरो बैंस त जिउदै गाडिदिएछन्,

कालले हो की चुरोटले

उनलाई छिट्टै लग्यो,

उनी रहिनन् जव

त्यही झ्यालमा बसी

त्यही दुःखी गीतहरु

गाउन थालेछु अब

(सञ्जिलाको कविताशं)

***

दलित लाइभ्स म्याटरले प्रस्तुत गरेको ‘कास्ट कन्भरसेसन’ प्रदीप परियारको अवधारणामा शान्ता नेपालीको निर्देशनमा तयार भएको कार्यक्रम हो। जसलाई वृद्धिका सेञ्च्युरीले सञ्चालन गरेकी छिन्।

प्रत्येक अंकमा सात जना सहभागी छन्। जातसँग लैङ्गिकता, प्रेम र विवाह, जमिनको स्वामित्व, कला र साहित्य, प्रविधि, न्याय र शिक्षालगायत विविध विषय कसरी अन्तरसम्बन्धित छन् भन्नेबारे ‘कास्ट कन्भरसेसन’ ले प्रस्टता ल्याउने लक्ष्य राखेको छ।

कार्यक्रम हिमालय टेलिभिजनबाट प्रत्येक बिहीबार राति ९:३० बजे प्रसारण भइरहेको छ।

प्रकाशित मिति: २०:२८ बजे, बुधबार, चैत २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्