Kathmandu Press

आजबाट पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षकहरु

नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसंगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ । 
आजबाट पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षकहरु

काठमाडौं, चैत २० : देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन गर्ने भएका छन्।

नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसंगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ। 

गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन गर्न लागिएको महासंघको भनाइ छ । 

आन्दोलनमा देशभरका अधिकांश शिक्षक तथा कर्मचारी सहभागी हुने छन् । आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने महासङ्घले जनाएको छ ।

आज दिउँसो विभिन्न स्थानबाट र्‍यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ । अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ । भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
 

प्रकाशित मिति: ०८:३३ बजे, बुधबार, चैत २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्