चार वर्षपछि क्रिकेटमा भारतले गुमायो शीर्ष वरियता
काठमाडाैं, वैशाख २० : भारतीय क्रिकेट टिमले चार वर्षपछि शीर्ष वरियता गुमाएको छ। सन् २०१६ देखि टेस्ट क्रिकेटमा शीर्ष वरियतामा रहँदै आएको भारतले नय....

काठमाडाैं, वैशाख २० : भारतीय क्रिकेट टिमले चार वर्षपछि शीर्ष वरियता गुमाएको छ। सन् २०१६ देखि टेस्ट क्रिकेटमा शीर्ष वरियतामा रहँदै आएको भारतले नयाँ वरियतामा भने शीर्ष स्थान गुमाएको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आर्यसिसी)ले शुक्रबार जारी गरेको वरिता अनुसार भारत एकै पटक दुई स्थान तल झर्दै तेस्रो स्थानमा आइपुगेको छ। अस्ट्रेलिया लामो समयपछि टेस्ट क्रिकेटको शीर्षमा फर्किएको छ।
सन् २०२० को सुरुवातमै भएको न्युजिल्यान्ड भ्रमणमा खराब प्रदर्शन गरेपछि भारतले ४ वर्षपछि शीर्ष वरियता गुमाउनु परेको हो । भारत न्युजिल्यान्डविरुद्धका दुवै खेलमा लज्जास्पदमा रुपमा पराजित भएको थियो। भारतले पहिलो टेस्टमा १० विकेट र दोस्रो टेस्टमा ७ विकेटले पराजित भएको थियो । भारतले एकदिवसीय सिरिज पनि ३–०ले गुमाएको थियो । सन् २०१९मा भने भारत टेस्ट क्रिकेटमा अपराजित थियो।
तेस्रो स्थानमा रहेको भारतको ११४ रेटिङ छ भने शीर्ष स्थानको अस्ट्रेलियाको ११६ र दोस्रो स्थानको न्युजिल्यान्डको ११५ रेटिङ छ। यस्तै, इंग्ल्यान्ड चौथो, श्रीलंका पाँचौं, दक्षिण अफ्रिका छैठौं, पाकिस्तान सातौं, वेष्ट इन्डिज आठौं, अफगानिस्तान नवौं र बंगलादेश दशौं स्थानमा छन्।
आफ्ना दुई भरपर्दा खेलाडीहरू डेविड वार्नर र स्टिभ स्मिथ बल टेम्परिङमा प्रतिबन्ध परेपछि अस्ट्रेलियाको प्रदर्शन खस्किएको थियो। तर, दुवै गत एकदिवसीय विश्वकपको ठीक प्रतिबन्ध पूरा गर्दै मैदान फर्किएपछि अस्ट्रेलियन क्रिकेट लयमा फर्किएको छ। अहिले अस्ट्रेलिया टेस्टसँगै टि–२० वरियतामा पनि शीर्ष स्थानमा छ।











