Kathmandu Press

कोरोनाको प्रभावका विषयमा लेखाजोखा भइरहेको छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, वैशाख १९ : अर्थमन्त्री डा. युवराज खतिवडाले विश्वव्यापी कोरोना भाइरसको महामारीका कारणले आवागमन बन्द हुँदा परेको प्रभावको लेखाजोखा गरिरहेको बत....

कोरोनाको प्रभावका विषयमा लेखाजोखा भइरहेको छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, वैशाख १९ : अर्थमन्त्री डा. युवराज खतिवडाले विश्वव्यापी कोरोना भाइरसको महामारीका कारणले आवागमन बन्द हुँदा परेको प्रभावको लेखाजोखा गरिरहेको बताएका छन्। 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले गरेको भिडियो कन्फरेन्समा उनले वित्तीय क्षेत्रमा यसको प्रभाव कस्तो हुन्छ भन्ने अध्ययन पनि हुनुपर्ने बताएका हुन्। उनले लकडाउनको पूर्ण पालना गराउने र आर्थिक गतिविधि सामान्य पार्ने कुरा सम्भव नहुने बताए। 'अहिले लकडाउन खुकुलो पार्न सक्ने अवस्था छैन, यस्तो अवस्थामा आर्थिक क्रियाकलाप चलायमान बनाउने काम भएको छ,' उनले भने। 

मन्त्री खतिवडाले जोखिमको मूल्यांकन गर्दै कदम चाल्ने पनि उल्लेख गरे। आवागनम रोकेर पर्यटन विकास नहुने भएकाले अहिले सबैभन्दा धेरै प्रभाव यही क्षेत्रमा परेको बताए। निजी क्षेत्रलाई परेको समस्या बहन गर्ने विषयमा बहस गर्दा सरकारको क्षमता पनि हेर्नुपर्ने बताए। 'निजी क्षेत्रले धेरै राजश्व तिर्ने अवस्था आउँदा मात्रै सरकारले धेरै राहत दिन सक्ने हो,' उनले भने। 

मन्त्री खतिवडाले बैंकहरुले पैसा छापेर नबाँड्ने भन्दै बैंकहरुको पनि निक्षेपमाथिको लागत हुने विषय सबैले बुझ्नुपर्ने बताए। 'निक्षेपकर्तालाई मारेर तरलता व्यवस्थापन कसरी हुन सक्छ र,' उनले भने, 'केन्द्रीय बैंकले यो छुट र त्यो छुट दिनुपर्‍यो भन्ने कुरा गर्दा हामीले खोजेका सबल वित्तीय व्यवस्था कसरी होला?'

खतिवडाले ऋण तिर्ने क्षमता भएका व्यवसायीले समयमै आफ्ना काम गर्नुपर्ने बताए। 
छलफलमा नेपाल राष्ट्र बैंकक गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रलाई परेको समस्याका विषयमा केन्द्रीय बैंकले हेरिरहेको बताएका छन्। उनले व्यवसाय बन्द हुँदा लकडाउन लम्बिँदै गए यसको असर जटिल हुने र अर्थतन्त्रको खम्बाको रूपमा रहेको रेमिट्यान्स बन्द हुन सक्ने उल्लेख गरे। 

चैतबाट रेमिट्यान्स घट्न थालिसकेको र त्यसबाट सिर्जना हुने विदेशी मुद्रा र तरलतामा नै प्रभाव पर्ने बताए। 'अहिलेसम्म दुई राउन्डको जेजति प्याकेज आएको छ, यो सबै कुरा होइन,' उनले भने, 'हामीले अर्थतन्त्र पुन:उत्थानका लागि धेरै कुरा सोच्नुपर्नेछ।' 

अर्थसचिव शिशिरकुमार ढुंगानाले कोरोना भाइरसबाट ठूलो प्रभाव परेका क्षेत्रलाई सहयोग गर्न र अर्थतन्त्रलाई पुनर्स्थापित गर्ने गरी सरकारले प्याकेज बनाएको उल्लेख गरे। सचिव ढुंगानाले सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका प्रयासका कारण सकारात्मक नतिजा आएको बताए। 

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले कोरोनाका कारण वित्तीय क्षेत्रमा प्रभाव देखिइसकेको उल्लेख गरे। अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रेमिट्यान्स घटेको र यसको प्रभाव भुक्तानी सन्तुलनमा पनि देखिने बताए। 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमिकहरुलाई लकडाउनको बेलामा ५० प्रतिशतको तलब दिने गरी सुझाव दिइएको र सरकारले त्यसैअनुसार निर्णय लिएको उल्लेख गरे। यसबारेमा महासंघको आधिकारिक धारणा आइतबार आउने उनले जानकारी दिए।  

आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कोरोना भाइरसले सार्वजनिक वित्त व्यवस्थापनमा चुनौती थपेको बताएका छन्। उनले बजेट निर्माण गर्दा नै खर्च कटौतीको क्षेत्र पहिचान गर्नुपर्ने र खर्च गर्ने निकाय पनि सचेत हुनुपर्ने बताए। आचार्यले बाह्य सहयोग पनि अपेक्षाअनुसार नआउन सक्ने भएकाले चुनौती बढाएको उल्लेख गरे।
 

प्रकाशित मिति: २०:२७ बजे, शुक्रबार, वैशाख १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्