Kathmandu Press

औरहीका पालिका अध्यक्षसहित २ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

अदालतले थप पाँच दिन अनुसन्धान गर्न भनेर म्याद थप गरेको सिराहा प्रहरीले जनाएको छ।
औरहीका पालिका अध्यक्षसहित २ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, चैत १० : सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञका लागि दलित परिवारलाई उठिबास नै लगाएको आरोपमा शुक्रबार पक्राउ परेका पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार उनीहरूलाई आइतबार म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो।

अदालतले थप पाँच दिन अनुसन्धान गर्न भनेर म्याद थप गरेको सिराहा प्रहरीले जनाएको छ।

पीडित दीपक मल्लिकले जातीय विभेद तथा छुवाछुत कसुरमा पालिका अध्यक्ष पूर्ववडाध्यक्ष र महायज्ञका गुरू बजरंगी बाबा विरूद्ध शनिबार जाहेरी दिएका थिए।

पालिका अध्यक्ष  र पूर्व वडाध्यक्ष पक्राउ परेपनि बजरंगी बाबा भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

आइताबार नै जनता समाजवादी पार्टी नेपालको जिल्ला अध्यक्ष अशोककुमार यादवले पालिका अध्यक्षको बचाउ गर्दै  जिल्ला प्रशासन कार्यालयमा धम्कीपूर्ण ज्ञापनपत्र बुझाएका छन्।

उनले पालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने त्यसबाट उत्पन्न हुने विषम परिस्थितिको जिम्मेवार प्रशासन हुने धम्की दिएका छन्।

यो पनिः 

महायज्ञ गर्न दलितको उठिबास, पालिका अध्यक्ष नै संलग्न!

डोम परिवारको घर भत्काउने पालिका अध्यक्षको बचाउमा उत्रियो जसपा नेपाल

प्रकाशित मिति: २०:२६ बजे, आइतबार, चैत १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्