Kathmandu Press

महायज्ञ गर्न दलितको उठिबास, पालिका अध्यक्ष नै संलग्न!

गाउँपालिका अध्यक्ष भन्छन्- यज्ञ हुने ठाउँमा बर्जित गरिएको भोजन नगर्नू भन्दा मानेनन्
महायज्ञ गर्न दलितको उठिबास, पालिका अध्यक्ष नै संलग्न!

काठमाडौं, चैत ७ : सिराहाको औरही गाउँपालिका-५ का दीपक मल्लिक (डोम)  र उनकी श्रीमती अनिता गाउँपालिकाकै कार्यालयमा सफाइको काम गर्छन्।

सफाइको काम गर्न बिहानै उनीहरू पालिकाको कार्यालय जान्छन् र दस बजे अगाडि नै काम भ्याएर घर फर्कन्छन्। उनीहरुका ७ जनाको परिवार २०५० सालदेखि सोही वडाको ऐलानी जग्गामा बनेको घरमा बस्दै आएका थिए।

जेनतेन गुजारा गरिरहेका डोम परिवार गाउँमै महायज्ञ हुने भनेपछि उत्साहित थिए। महायज्ञ आयोजक समितिको नेतृत्व गाउँपालिकाकै अध्यक्ष शिवजी यादवले गरेका थिए।

Hardik ivf

महायज्ञका लागि दीपकको घर अगाडि मण्डप बनाइँदै थियो। अरू संरचनाहरू पनि तयार हुँदै थियो। गाउँ उत्सवमय बन्दा दीपकको परिवार खुशी थिए।

तर उनीहरुको खुसी धेरै टिक्न सकेन।

फागुन दोस्रो साता ।

डोम दम्पत्ति सदाझैं गाउँपालिका कार्यालयमा काम गर्न गएका थिए।

काम गरिरहेकै बेला आफ्नो घरमा डोजर चलाइएको खबर दीपकले पाए। घरमा लालाबाला छाडेर आएका डोम दम्पत्ति डोजर चलेको खबर सुनेर हस्याङफस्याङ गर्दै घरतिर दौडिए।

घर पुग्दा उनीहरूको खुट्टा काँप्यो। हंसले ठाउँ छाड्यो। जमिन हल्लिएजस्तो भयो।  

बिहान सग्लै छाडेर गएको घर फर्केर आउँदा डोजरको प्रहारबाट क्षतविक्षत भएको थियो, खण्डहर बनेको थियो।  सामानहरू यत्रतत्र छरिएका थिए।

aurahi-1742482360.jpg
डोजर चलिरहँदा गाउँपालिका अध्यक्ष यादव छेउमै थिए। दीपक बोल्न सकेनन्, डोजर चलिरह्यो। घरभित्र भएका आधा सामान पनि उनीहरूले निकाल्न पाएनन्। तमासा हेर्ने गाउँलेहरू अगाडि निरीह हुँदै सकेजतिको सामान जम्मा गरे।

पालिका अध्यक्ष यादवले उनलाई अन्यत्रै घर बनाइदिने र केही धुर जग्गा दिने बताए। दीपकको गला अवरूद्ध भएका थिए, केही बोल्न सकेनन्।

गाउँपालिकाले उनको घर भन्दा करिब ५०० मिटर पर बाँसको टाँटीले टहरा बनाइदियो। अध्यक्षले त्यही बस्नू भनेपछि उनी खुरुखुरु परिवार लिएर त्यहीँ गए।

मधेसमा जातीय विभेदको अवस्था कति भयानक छ भन्ने कुरा डोम परिवारमाथि परेको बज्रपातले देखाउँछ। गाउँकै गन्यमान्य भनिएकाहरूसँग सिधा आँखाले हेर्न डराउने उनीहरू गाउँपालिकाको अध्यक्षले नै घरमा डोजर चलाए पनि कसरी प्रश्न गर्न सकुन्? कसले दिने उनीहरूलाई त्यो हिम्मत? 

घटनाबारे दलित अधिकारकर्मी र पत्रकारहरूले सुइँको पाएपछि भने  पालिका अध्यक्षको  वास्तविकता उदांगिएको छ। डोम परिवारलाई आफ्नै घरबाट विस्थापित गर्नुको अन्तर्य खुलेको छ।

महायज्ञ गर्न आउने बजरंगी बाबाले यज्ञ हुने ठाउँ वरपर दलित बस्ती नराख्नु भन्ने उर्दी गरेपछि गाउँपालिका अध्यक्षले नियोजित रूपमा दीपकको घर भत्काएको खुलेको छ।

अझै दलितले टेकेको माटो अपवित्र हुन्छ भनेर डोम परिवारको घर भएको ठाउँको माटो पनि ताछेर फालिएको डोम परिवारले बताएका छन्।

अनिता आफूहरू दलित भएकै कारण आफ्नो थातथलो उजाडेर गाउँपालिकाले अन्यत्र सारेको बताउँछिन्।

'जागिर जाने डरले पनि उजुरी गर्न गएनौं। अध्यक्ष ज्यूले यहाँ महायज्ञ गर्दैछौं। तिमीहरूलाई अन्यत्र सारिदिन्छौं भन्नुभयो,' सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा अनिताले भनेकी छन्।

महायज्ञका लागि गाउँपालिकाले पनि ८/१० लाख बजेट व्यवस्था गरेको उपाध्यक्ष रेणु यादव बताउँछिन्। यद्यपि डोम परिवारको घर भत्काउने विषयमा भने पालिका अध्यक्षले आफूसँग सल्लाह नगरेको उनले बताइन्।

'यो त एकदम गलत भयो। घर नै भत्काउने भन्नेबारेमा उहाँले मसँग छलफल पनि गर्नुभएन। पालिकाले निर्णय पनि गरेको थाहा छैन,' उपाध्यक्ष यादवले भनिन्।

गाउँपालिका अध्यक्ष यादवले डोजर लगाएर घर भत्काइएको स्वीकार गरे। काठमाडौं प्रेससँगको कुराकानीमा उनले दलित भएकै कारण उनीहरुको घर भत्काइएकोबारे घुमाउरो सहमति जनाए।

sibaji-yadav-1742482360.jpg
'सनातन धर्मले, हिन्दु धर्मको परम्पराले यज्ञ हुने ठाउँमा धर्मले इन्कार गरेको भोजनहरू गर्न मिल्दैन। हामीले भन्दा भन्दै उहाँहरूले मान्नुभएन। उसको छोराको बिहे थियो। धेरै मेहमान (पाहुना) थिए,' अध्यक्ष यादवले भने।

अध्यक्ष यादवले डोम परिवारकै सहमतिमा उनीहरूलाई अन्यत्र सारिएको दाबी गरे। 

महायज्ञलगत्तै त्यहाँ कृषि बजार व्यवस्थापन कार्यालय योजना रहेकाले उनीहरूको घर भत्काइएको अध्यक्ष यादवले बताए।

'टेण्डर भइसकेको छ। त्यसको चारकुना तोकिइसकेको छ। उनीहरुको घर भएको ठाउँमा पर्खाल लाग्छ। अरू संरचना निर्माण भइसकेको छ। अरू हुनेवाला छ। उसैले मलाई सहायता गरिदिनुस् भन्यो र सहमतिमा गरेका हौं। मसँग सहमति पेपर पनि छ,' उनले भने।

उनले अहिले टहरा बनाइदिएको ठाउँमा डोम परिवारका निम्ति सबै सुविधाको व्यवस्था गरिदिन आफू तयार भएको उनले बताए।

 यद्यपि २० दिन अगाडि महायज्ञ हुने ठाउँभन्दा ५०० मिटर पर सारिएका डोम परिवारको घरमा बिजुली र पानीको सुविधा अहिलेसम्म गाउँपालिकाले उपलब्ध गराएको छैन।

घटना सार्वजनिक भएर संसद र मानव अधिकार आयोगले चासो देखाएपछि भने गाउँपालिका अध्यक्षले आफ्नो कमजोरीमा छारो हाल्ने प्रयत्न गरिरहेका छन्।

बिहीबार राष्ट्रिय दैनिक र मूलधारका अनलाइनहरुमा समाचार सार्वजनिक भएपछि संसदमा समेत यसबारेमा प्रश्न उठेको थियो।

सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले उक्त घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

सत्तारूढ नेपाली कांग्रेसका सांसद जीवन परियारले घटनाको निन्द गर्दै छानबिन समिति गठन गर्न माग गरे। उनले जातीय विभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस शुक्रबार मनाइँरहदा प्रतिनिधि सभाबाट जातीय भेदभाव उन्मूलन घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि यस्तो घटना हुनु दुःख रहेको बताए।

एमाले सांसद सम्झना थपलियाले पनि औरही गाउँपालिकाको  निर्देशनमा दलित समुदायको घर भत्काउने विषयमा गृहमन्त्रीको जवाफ मागिन्। उनले यस्तो घटनामा संसद मुकदर्शक बन्न नहुने बताइन्।

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले दलितमाथि औरही गाउँपालिका अध्यक्षले गरेको ज्यादती निन्दनीय रहेको बताए। उनले गाउँपालिका अध्यक्ष यादवलाई निलम्बन गरी सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे।

'त्यस्तो ज्यादती गर्ने? विष्णु महायज्ञका आयोजक भनिएका बजरंगी बाबा र  उनलाई भरपूर सहयोग गर्ने गाउँपालिका अध्यक्ष शिवजी यादव हुन्। आफै बसेर डोजर लगाएर घर भत्काउन अग्रसर भए। दलितहरू त बोल्न सकेनन् सिडिओले समेत थाहा छैन भने,' उनले भने।

विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले घटनाले संविधानलाई नै गिज्याएको बताउँदै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे।

सांसदहरु अमरेशकुमार सिंह, प्रभु शाह, मनिष झा, अशोककुमार चौधरी लगायतले पनि घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै छानबिन गर्न माग गरे।

संसदमै कुरा उठेपछि राष्ट्रिय मानवअधिकार आयोगले पनि घटनाबारे चासो देखाएको छ।

आयोगको मधेस प्रदेश कार्यालयले दीपक मरिकको घर भत्काइएको विषयमा अनुसन्धान थालिएको जानकारी गराउँदै विज्ञप्ति जारी गरेको छ।

human-right-madhesh-pradesh-1742482558.jpg
'घटनाको अनुगमन तथा अनुसन्धानका लागि आजै एक टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ। साथै घटनासम्बन्धी आवश्यक जानकारी प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र औरही गाउँपालिकाको कार्यालय सिरहालाई पत्राचार गरिएको छ,' आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: २०:४२ बजे, बिहीबार, चैत ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्