डोम परिवारको घर भत्काउने पालिका अध्यक्षको बचाउमा उत्रियो जसपा नेपाल
रिहा नगरे आन्दोलन गर्ने चेतावनी
काठमाडौं, चैत १० : जनता समाजवादी पार्टी नेपाल सिरहामा महायज्ञ लगाउन भनेर दलित परिवारलाई उठिबास लगाउने गाउँपालिका अध्यक्षको बचाउमा उत्रिएको छ।
आइतबार जसपा नेपालको सिराहा जिल्ला अध्यक्ष अशोककुमार यादवले जिल्ला प्रशासन कार्यालय पुगेर पालिका अध्यक्षसहित उक्त घटनामा पक्राउ परेका तीन जनाको बचाउ गर्दै ज्ञापन पत्र बुझाएका हुन्।
गाउँपालिका अध्यक्ष यादव जसपा नेपालबाट निर्वाचित भएका थिए।
औराही-५ मा विष्णु महायज्ञ लगाउनका लागि उनले धर्मगुरूको निर्देशनमा महायज्ञ लगाउने भनिएको ठाउँनजिक दीपक मल्लिक (डोम)को परिवार बस्दै आएको घर भत्काएका थिए।
दीपक र उनकी श्रीमती गाउँपालिकामै सफाइको काम गर्ने कर्मचारी समेत हुन्। उनको घर भत्काइएको घटना सार्वजनिक भएपछि पालिका अध्यक्षलाई कारबाही गर्नुपर्ने माग सदनदेखि सडकसम्म उठेको थियो।
प्रहरीले शुक्रबार गाउँपालिका अध्यक्षसहित तीन जनालाई पक्राउ गरेको थियो।
सोही विषयमा आपत्ति जनाउँदै जसपा नेपालको सिराहा जिल्ला अध्यक्ष अशोककुमार यादवको टोलीले आइतबार सिराहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्।
पत्रमा उनले पालिका अध्यजस्तो सम्मानित व्यक्तिलाई झुटा आरोप लगाइएको र छलफलमा बोलाएर प्रहरीले थुनेर राखेको आरोप लगाएको छ।
उनले पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न पनि माग गरेका छन्।
'अन्यथा पार्टी आन्दोलन गर्न बाध्य हुनेछ र त्यसबाट उत्पन्न हुने विषम परिस्थिती र क्षतिको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सम्बन्धित सरोकारबालहरु स्वयं नै हुने कुरा यसै ज्ञापन पत्र मार्फत समेत जानकारी गराइन्छ,' यादवले धम्किपूर्ण भाषामा भनेका छन्।
यो पनिः महायज्ञ गर्न दलितको उठिबास, पालिका अध्यक्ष नै संलग्न!