पोखराको बेलुन विस्फोट घटनाको प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुनमा आगलागी हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।
काठमाडौं, चैत ५ : ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटसम्वन्धी छानविन प्रतिवेदन गृहमन्त्री रमेश लेखकलाई बुझाइएको छ ।
सरकारले बेलुन विस्फोट प्रकरणमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको थियो। पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुनमा आगलागी हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।
उक्त घटनापछि गृहमन्त्री लेखकले मन्त्रीस्तरको निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका थिए।
गृहमन्त्री लेखकले उक्त प्रतिवेदनमा उल्लेख भएका विषय कार्यान्वयनका लागि गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिएका छन्।
प्रतिवेदनमा विशिष्ट व्यक्तिहरूको सहभागिता रहने कार्यक्रममा विशिष्ट व्यक्ति स्वयंले संवेदनशीलता ख्याल गर्नुपर्ने, सुरक्षालाई भन्दा उपस्थितिलाई मात्र प्राथमिकता दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने, मञ्चका कार्यक्रमहरूमा प्रज्वलनशिल पदार्थहरूको प्रयोग गर्न पूर्ण रूपमा रोक लगाउनुपर्ने सुझाव दिइएको छ।
यस्तै, विस्फोटक रसायन र प्रज्वलनशील पदार्थको अनाधिकृत आपूर्ति तथा उपयोगमा बन्देज लगाउनुपर्ने, यस्ता प्रकृतिका कार्यक्रम आयोजना गर्नुपूर्व अनुमति लिने क्रममा स्थानीय प्रशासनलाई कार्यक्रमको रूपरेखा उपलब्ध गराउनु पर्ने व्यवस्था मिलाउनुपर्ने, कार्यक्रममा सुरक्षा मापदण्डलाई ध्यानमा राखी सुरक्षित विकल्पहरूको उपयोग गर्ने विषय सुधार गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ।












