'युवाहरू नै सुनपानीले छर्किन्छन्, प्रधानमन्त्रीले मजाक बनाउँछन्'
'दलितलाई सधैं पछाडि मात्र राख्ने संरचना किन छ ?'
जात र लैंगिकता
जातलाई हामीले एउटा मात्र कोणबाट हेर्यौं भने सतही धारणा बन्न जान्छ। तर, गहिराइमा पुगेर यसले सिर्जना गरेका वहुआयामिक विभेदका केस्राहरु केलाउँदै जाँदा मात्र अनेकन विभेदका प्रारुपहरु देखा पर्दै जान्छन्।
किनकी जातको आधारमा तय गरिएका सामाजिक नियम र व्यवहार जात र लिंगअनुसार फरक फरक छन्। जसले सामाजिक, आर्थिक, राजनीतिक रुपमा फरक फरक जानका मानिसमा फरक फरक ढंगले खराव प्रभाव पारिरहेको छ।
पितृसत्ता र जातीय संरचना भएको समाजको विभेदलाई लैगिंकताको आँखाबाट हेर्न अपरिहार्य छ। एउटा ब्राह्मण महिला र दलित महिलाको विभेदको भोगइबीच निकै अन्तर छ। जनजाति पुरुष र मुसहर समुदायबाट आएको पुरुषको भोगाइमा आकाश जमिनको फरक छ। त्यसैले दलित लाइभ्स म्याटरले कास्ट कन्भरसेसनको अर्को एपिसोड ‘जात र लैंगिकता’माथि निर्माण गरेको छ।
जहाँ मधेशी, महाडि, हिमालीदेखि लैंगिक अल्पसंख्यक समुदायका ७ युवाहरुले यसमाथिको आफ्नो धारणा व्यक्त गरेका छन्।
हिमालय टेलिभिजनबाट प्रशारण भएको उक्त कार्यक्रममा काभ्रेप्लान्चोककी रिता उप्रेतीले आफ्नै घरमा भएको विभेदको घटनाबाट जात र लिंगभेदबारे जानकारी भएको बताइन् भने सिरहाकी मनिषा कुमारी साहले मधेशमा व्यप्त दाइजो प्रथाबाट प्रताडित महिलाको बेदना सुनाइन्।
ललितपुरका पराक्रम राणाले ‘गे’ को रुपमा खुल्दाको सकस मात्र बताएनन् प्रधानमन्त्री र युवा पुस्ताले गरेको व्यवहारप्रति नै रोष प्रकट गरे।
सुर्खेतकी सुनिता नेपालीले महिला, दलित र त्यसमा पनि वादी महिला हुनुका सकसबारे खुलाइन्। हुम्लाका जीवन बहादुर शाहीले संविधानमा जात राख्नु गलत रहेको बताउँदा त्यसलाई प्रतिकार गर्दै म्याग्दीकी मनिका मगरले भनिन्, ‘जात व्यवस्था भनेको अहिलेको संविधानले विभाजन गरेको नभए इतिहासको कुनै कालखण्डका शासकहरुले जातको निर्माण गरेको हो।
हाम्रो समाजमा जातले गहिरो गरी जरा गाडेर बसेकाले यसलाई संविधानले नै अनुमोदन गर्नुपर्छ। यदि हामीले समानता कायम नगरी शुरुमै जातको जगलाई भत्काउन खोज्यो भने डिजास्टर नै हुन्छ जस्तो लाग्छ।’
सञ्चालक बृद्धिका सेन्चुरीको प्रश्नमा उपस्थित युवाहरुले निकै रोचक र विचारउत्तेजक बहस गरेका छन्। प्रदिप परियारको कन्सेप्टमा तयार भएको कार्यक्रमलाई शान्ता नेपालीले निर्देशन गरेकी छिन्। ‘जात र लैंगिकता’ माथि सात युवाको वहसको सम्पादीत अंश यहाँ उल्लेख गरिएको छ —
रिता उप्रेती, काभ्रेपलाञ्चोक
म ब्राह्मण परिवारमा जन्मिएको हुँ। मैले जातको विषयमो अफ्नै परिवारको तीन घटनाबाट स्पष्ट भएँ। म ९ वर्षका छदा मेरे बुवा वित्नुभएको थियो। घरमा कोरा बसेको त्यस्तै तीन चार दिन भएको थियो।
म काठमाडौंबाट घर गएको थिएँ। एक जना दिदी आएर आँगनको डिलमा बस्नुभयो। मलाई जे कुरा पनि सोधिहाल्ने मन हुन्छ, त्यसैले दिदीतिर गएँ। तर, मलाई मेरो आफ्नै दिदी र हजुरआमाले बोलाउनुभयो र भन्नुभयो – मान्छे मरेको घरमा दलितसँग बोल्नु हुँदैन है। १२ दिनसम्म कोही दलितसँग नबोल्नु। त्यो दिदीले ल तिमी त मसँग बोल्दैनौ होला, म त दमाइ हो भन्दै घरतिर लाग्नुभयो। मेरो मनमा भने प्रश्न आयो – किन यस्तो भएको होला ?
बुवा वितेको ४५ दिनपछि सबैलाई बोलाएर खाने चलन हुँदो रहेछ। त्यतिबेला एउटा लाइनमा बाहनु, अर्को लाइनमा तमाङ र अर्को लाइनमा दलित बसेर खानुपर्ने रहेछ। मैले एक जना दिदीलाई टपरिको खाना हातमै लगेर दिएँ। त्यो देखेर मेरो फुपुले भन्नुभयो – त्यो त दलित हो, किन छाएको ? सुन पानी छर्केर मात्र आइजा।
त्यसको एक वर्षपछिको दशैंमा मेरो छिमेकी भाइहरु आफ्नो हजुरआमा सरह सम्झेर टिका लगाउन आएका थिए। उनीहरुलाई आँगनभन्दा पनि तल गुन्द्रीमा राखेर टिका लगाइदिनुभयो। त्यो दिन मैले आमालाई प्रश्न गरें, ‘आमा ! उनीहरु तपाइलाई आमा सम्झेर आएका छन्। किन भाइहरुलाई यस्तो गर्नुभएको हो ? अनि आमाले भन्नुभयो – का दमाइलाई मैले मेरो घर छेउमा राखेर टिका लगाउछु त। मेरो कुल देउता रिसाउदैन ? अनि मलाई थाहा भयो की म ठूलो जातको रहेछु र साथीहरु दलित रहेछन्।
म ब्राह्मण भए पनि महिलाको दृष्टिले भने थुप्रै विभेद भोग्नुपर्छ। गर्न हुने र गर्न नहुने कामको सिमा तोकिएका छन्। परिवारको नाक र इज्जत राख्न मैले भनेअनुसार गर्नुपर्छ। तर, त्यही काम दाजुभाइहरुले गर्दा कुनै प्रश्न उठ्दैन। मैले जातको कारण लाभ उठाए पनि महिला हुँदा थुप्रै इच्छाहरु मार्नुपर्छ। किनकी त्यसमा जातले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ।
मेरो आफन्तले दाङको दलित केटासँग विहे गर्नुभयो। यात्रो वर्षदेखि परिवारले उनीहरुलाई सम्पर्क गर्ने प्रयाससम्म पनि गरेनन्। हामीले उसलाई कुलबाटै हटाइसक्यौं भन्ने कुराहरु सुन्दै आएको छु। उनीहरुलाई आफैले जन्माएको छोरीभन्दा ठूलो जात भएको छ। यो जात र लिंग दुवैले सिर्जना गरेको विभेदजस्तो लाग्छ।
पराक्रम राणा, ललितपुर
म विशेषाधिकार प्राप्त परिवारबाट आएको हुँ। मेरो जातलाई कथित उच्च जात भनिँदो रहेछ। संयोगवश पुरुषको रुपमा जन्मिएँ। लिंगको हिसावमा पनि म माथि नै रहें। म समलैंगिक भए पनि यी सबै कुराहरुले म जहाँ छु त्यहाँ पुग्न मद्धत गरेका छन्। त्यसैले समलैंगिक समुदायका अन्य मानिसहरूलाई भन्दा काम गर्न र सक्षम हुनको लागि मलाई धेरै नै सहज भयो।
मैले धेरै चाँडो लिङ्ग र लिङ्गका भूमिकाहरुबारे बुझे। पितृसत्तात्मक समाजमा केटाहरूका लागि निकै सहज छ। छोरीभन्दा छोरालाई तुलनात्मक रुपमा राम्रो व्यवहार गरिन्छ। तर, हुर्किदै जादा म किन छोरा भएजस्तो लाग्थ्यो। मैले दिदीहरूले खेल्ने खेलौनाहरूसँग खेल्न चाहन्थे। मैले त केटाहरूको खेल खेल्नुपर्ने ! तर, दिदीहरूसँग बार्बी डलहरू र उनका खेलहरूसँग खुशी हुन्थे। भाग्यवश, मेरो परिवारले कुनै रोक लगाएन। उहाँहरुले भन्नुहन्थ्यो, ‘ठिकै छ तिमीले तिम्री बहिनीले खेल्ने खेल खेल्न सक्छौ।’ यसरी मलाई केटा हुँ भन्ने थाहा भयो।
विशेषाधिकार प्राप्त जातमा इज्जतको विषय प्रमुख बन्छ। जसरी पनि इज्जत बचाउनुपर्छ। परिवारमै पहिलो पटक म गेको रुपमा वाहिर आएँ। यसो गर्दा आफन्तहरुबाट दवाव भोग्नुपर्यो – राणा जातमा जन्मेर पनि यसो गर्ने ! म अलिकति क्रान्तिकारि स्वभावको भए पनि खुलेर आउनको लागि गाह्रो भयो।
जातको विषयमा भने भारतको बोर्डिङ स्कुल पढ्न राजस्थान जाँदासम्म मलाई केही पनि थाहा थिएन। त्यहाँ राजपूत समुदायको वाहुल्यता थियो। उनीहरुले मलाई जातको बारेमा परिचय गराए। किनकी मेरा पुर्खाहरु पनि राजपुत हुनुहुँदो रहेछ। त्यसपछि मैले बुझें हाम्रो घरमा मेरा पुर्खाहरूको किन ठूल्ठुला चित्रहरू छन्। मैले जातको बारेमा नेपालभन्दा टाढा हुँदा बढी सिकें।
मलाई लाग्छ लैंगिकता र जातबारे समाजको मानसिकता (माइण्डसेट)लाई परिवर्तन गर्नुपर्छ। शिक्षा प्रणालीले त निश्चित विषयमा परिक्षा दिएपछि पास हुन्छ र सकिन्छ। तर, तिम्रो मानसिकता भने समाजसँग गहिरोगरी जोडिएको हुन्छ। शिक्षाले पनि त्यसलाई चिर्नुपर्छ। जात र लिंगको आधारमा हुने विभेद खराव हो भन्ने कुरा शिक्षा प्रणालीमा हुनुपर्छ। ता की ती कुराहरु तिमीले परिवारमा गएर भन्न सक। यस्तो भएपछि बच्चाले नै परिवारमा गएर प्रश्न गर्न शुरु गर्छ।
मैले हालै प्रधानमन्त्रीलाई प्रश्न गर्ने मौका पाएको थिएँ। करिव पाँच हजार युवा सहभागि भएको युवा परिषदमा समलैंगिक अधिकारको बारेमा प्रश्न गरें। मैले बुझ्न चाहन्थे की राज्यको प्रमुखलाई समलैंगिकताको बारेमा के थाहा छ? तर, उहाँले आफूलाई कुनै जानकारी नभएको बताउनुभयो।
यस्तो सुनेर युवाहरू हाँस्न शुरु गरे। प्रधानमन्त्रीको प्रतिक्रियामा हर्षोल्लास र जयजयकार गरिरहे। मानौ कि यो रमाइलोको विषय हो। राज्यको प्रमुखलाई एलजिबिटीआइक्यू बारे कसरी थाहा नहुन सक्छ ? संसारको कुनै पनि देशले यसबारे जान्नुपर्छ होइन र ? चाहे जति सुकै गरिब र अविकसित देश नै किन नहोस्।
यद्यपि उहाँले सबै जनालाई समान अधिकारको हक रहेको बताए। ज्ञानको अभावमा युवाहरुले यो विषयलाई जसरी लिइरहेका थिए त्यो अत्यन्तै निराशाजक थियो। त्यसले मलाई विचलित बनायो। मलाई लाग्छ युवाहरू हाम्रो भविष्य हुन् र सरकारमा युवाहरुको प्रतिनिधि हुनुपर्छ। ताकि यस्ता विषयहरु राष्ट्र प्रमुखलाई जानकारी गराउन सकून्। तर, युवाहरूकै यस्तो व्यवहार भने एकदमै डरलाग्दो छ।
सुनिता नेपाली, सुर्खेत
म लिंग हिसावले कर्णालीको महिला हुँ र समुदायको हिसावले दलित। त्यसमा पनि सबैभन्दा पछि परेको बादी समुदायबाट आएकी। मैले जति नै राम्रो काम गरे पनि समाजले फरक ढंगले हेर्ने गर्छ। अहिले पनि वादी समुदायको छोरीहरुलाई हेर्ने नजर एकदमै नराम्रो छ। जति नै राम्रो बाटोमा हिड्दा पनि समाजले त्यही नजरले हेरिदिन्छ। हाम्रो समाजको नजरै विभेदकारी छ।
जातको कारणले मैले जीवनमा निरस्कार मात्र भोग्नु परेको छ। जात र लिंगले मलाई कुनै हिसाबले पनि फाइदा गरेको छैन। संस्थामा काम गर्ने क्रममा गाउँ गाउँ पुगेको छु। हामीले समुदायस्तरमा बसेर कुरा गर्नुपर्ने हुन्थ्यो। सुरुमा निकै सम्मान दिनुहुन्थ्यो पछि थर बादी भन्ने थाहा पाएपछि तपाईंबाट तिमीमा झर्नुहुन्थ्यो। तँ सम्मको सम्बोधनमा पनि आइपुगेका केयौं उदाहरण छन्। यो महिला र दलित हुनुका कारण भएको प्रत्यक्ष विभेद हो।
दलित सामाजिक, आर्थिक, राजनीतिक सबै कुरामा पिछडिएको समुदाय हो। त्यसैले, राज्यका हरेक नेतृत्व गर्ने ठाउँमा मेरो समुदायको व्यक्तिहरु पाउँदिन। अहिले संविधानमा आएका विषयले पनि दलित समुदायलाई अल्मल्याइ पो रहेको छ की जस्तो लाग्छ।
प्रत्येक वडामा दलित महिला सदस्यको व्यवस्था गरिएको छ। मेरो प्रश्न छ – दलितलाई किन सँधै पछाडि मात्र राखिन्छ ? दलितहरु पनि पढेलेखेका छन्, उनीहरुमा पनि नेतृत्व क्षमता छ। तर, उनीहरुलाई सधैं पछाडि मात्र राख्ने संरचना किन छ ? चाहे त्यो दलित पुरुषको हकमा होस्, चाहे महिलाको। पछाडि परेको वर्ग, समुदाय, लिंगको मानिसलाई राज्यसत्तामा समान सहभागिता गराइयो भने मात्र उसले आफ्नो विचार राख्न सक्छ। आफ्नो समस्या र त्यसको समाधानको उपायबारे नीति बनाउन सक्छ।
मनिषा कुमारी साहा, सिरहा
म मधेसमा जन्मिए पनि काठमाडौंमै हुर्किएँ, पढे। मधेसी समुदायमा महिलाले सबैभन्दा बढी भोग्नुपर्ने समस्या दाइजोको हो। केटाको हैसियत अनुसारको दाइजोको डिमाण्ड हुने गर्छ। जस्तो की डक्टर ज्वाइको लागि ४० लाख, इन्जीनियर ३० लाख ...। यो पुर्वनिर्धारित हुन्छ। नपढेको होस् वा पढेलेखेको नै किनहोस् दाइजो मागिन्छ।
विहेको प्रसंग चल्नेबित्तिकै आफन्तहरुबीच छलफल चल्न थाल्छ – यति त दाइजो दिदै पर्छ है। जब की सम्बन्धित परिवारबीच कुरा नै आएको हुँदैन। विवाहको सम्बन्ध केही समय राम्रो चल्छ। केही समयपछि फेरि यो पुगेन त्यो पुगेन भन्ने कुरा आउँछ। र, सम्बन्ध तनावपूर्ण र शेषणयुक्त हुँदै जान्छ। यी सबै दोष र तनाव केटीले नै व्यहोर्नुपर्ने हुन्छ। केटीले यसबारे कतै कुरा गर्दा पनि सहेर बस्नुपर्ने सल्लाह दिनुहुन्छ। मधेसमा दाइजो प्रथा एकदमै ठूलो चुनौतिको विषय बनेको छ। के थाहा भोलि मैले पनि यसैको सामना पो गर्नुपर्ने हो की ! त्यसैले यसलाई पूर्ण रुपमा मुक्त गर्न अत्यावश्यक छ।
मनिका मगर, म्याग्दी
जात र लैगिंकतालाई इन्टरसेक्सनालिटी(अन्तरविच्छेदन) को रुपमा हेर्नुपर्छ जस्तो लाग्छ। यो भनेको हरेक व्यक्तिको फरक फरक पहिचान हुन्छ। जसरी फरक-फरक लेयर मिलेर एउटा समूह बन्छ,त्यसरी नै जात पनि त्यही समूहभित्रका लेयरहरु जस्तै हुन्। तिनीहरुको आ–आफ्नै पहिचान हुन्छन्। म महिला हुँ र आदिवासी जनजाति समुदायलाई प्रतिनिधित्व गर्छु। म कहाँबाट आएँ, कस्तो शहरमा हुर्किएँ, मेरो ऐतिहासिक पृष्ठभूमी र अभ्यासले म को हुँ भन्ने कुराको निर्धारण गर्छ।
मलाई लाग्दैन कि मेरो जात र लिंगले मलाई कुनै विशेषाधिकार दिएको छ। म जनजाति भएकाले मानिसहरुले पुर्वनिर्धारित धारणाहरु बनाउँछन्। मलाई पढाउने शिक्षकहरुले समेत भन्नुभयो की तिमी कानुन पढ्न सक्छौ ? यो पढ्नको लागि त एकदमै चर्को बोल्नुपर्छ, यो त तिम्रो समुदायको मानिसहरुले पढ्ने विषय होइन। लिंगको कुरा गर्दा अहिले पनि पितृसत्ताले हाम्रो समाजमा जरा गाडेर बसेकै छ।
एक जना साथीले भन्नुभयो कि संविधानमा जातको कुरा राखेर विभाजन गरेको छ। तर, यसमा मेरो असहमति छ। जात व्यवस्था भनेको अहिलेको संविधानले विभाजन गरेको नभएर इतिहासको कुनै कालखण्डका शासकहरुले जातको निर्माण गरेको हो।
हाम्रो समाजमा जातले गहिरो गरी जरा गाडेर बसेकाले यसलाई संविधानले नै अनुमोदन गर्नुपर्छ। किनकी हाम्रो समाजको जग नै यसैको आधारमा बनेको छ। असमानता भएकाले नै इक्विटीको अवधारणा आएको हो। जसलाई जे पुगिरहेको छैन, उसलाई राज्यले त्यो उपलब्ध गराउनुपर्छ। यदी हामीले समानता कायम नगरी सुरुमै जातको जगलाई भत्काउन खोज्यौं भने डिजास्टर नै हुन्छ जस्तो लाग्छ।
सरकारी निकायमा दलित, जनजाति समुदायबाट कोटामा जाने भन्ने नियम त बनाइएको छ। तर, निर्णायक तहमा हामीले कहिल्यै देखेका छैनौं। प्रधानमन्त्री, मन्त्री हेर्ने हो भने सँधै कुन समुदायबाट हुन्छ ? त्यसैले दलित, जनजातिहरुलाई सहभागिता पनि टोकनिजमको रुपमा दिएजस्तो मात्र लाग्छ। हाम्रो इस्यु मा हामी बोल्न पाउँदैनौं। उनीहरु चाही किन हाम्रो विषयमा बोलिरहेका छन् ? यस्तो अवस्थामा हामी देशको नागरिक हुनुको अर्थ के नै रह्यो र भनेजस्तो लाग्छ।
सोनिका कुँवर, अछाम
मेरो प्रदेश सुदूरपश्चिमतिर जात प्रथा अत्यधिक छ। ब्राह्मण, क्षेत्री समुदायमा हुर्किएकाले जातको बारेमा मैले सानैदेखि थाहा पाएँ। र, म एउटा महिला हुँ भन्ने पनि बच्चैदेखि नै थाहा पाएँ। किनकी लिंगको आधारमा बनाइएको नियमहरुले मलाई यसको अनुभूति दिलाएको थियो। सानैदेखि पकाउने, सफा गर्ने काममा व्यस्त हुनुपर्थ्यो। मैले ६ कक्षामा पढ्दा नै हाम्रो प्रमुख खाना रोटी राम्रोसँग बनाउन सक्थे। मेरो दाइ–भाइलाई भने आउँदैनथ्यो।
आफन्तकोमा जाँदा पनि महिलालाई कसरी व्यवहार गर्ने भन्ने कुरा निश्चित गरिन्थ्यो। दशैंजस्ता चाड पर्व र जमघटमा पुरुषलाइ भनिन्थ्यो कि भाँडा माझ्नु पर्दैन भाउजु छँदै छ त ! यसबाट महिलाहरुले के काम गर्नुपर्छ भन्ने धारणा बनाउथ्यो। म बच्चैबाट अलि बढी बोल्न मन पराउने स्वभावको थिएँ। तर, केटी मान्छे भएर पनि किन यसरी बोलेको भनिन्थ्यो भनेर जहिल्यै रोक लगाइन्थ्यो। तर, त्यही कुरा पुरुषले गर्यो भने त्यस्तो धारणा कहिल्यै आउँदैनथ्यो।महिला सहभागिताको कुरा गर्दा मेरो जिल्लाका कतिपय मानिसहरुलाई कार्यक्रमहरुकै बारेमा थाहा हुँदैन।
संस्थाहरुको संरचनाले गर्दा पनि यस्तो भएको हुनुपर्छ। मानिसहरु जातीय विशेषाधिकार भए पनि उनीहरुलाई कार्यक्रम र संस्थाहरुमा सहभागिता हुँदैन। आफ्नो अधिकारबारे थाहा हुँदैन। अछाममै जन्मे हुर्केको एक जना मानिसले नै सबै मानिसको बारेमा बोलिरेको हुन्छ। उही मानिस नै सबैतिर हुन्छ। त्यसैले मलाई भुइँ तहमबाटै काम गर्नुपर्छ जस्तो लाग्छ।
माथिबाट नीति बन्यो र त्यसलाई स्थानीय तहले कार्यान्वयन गरिरहेको छ भने पनि समाजको भित्र तहमा गएर सहभागी नगराइ कही पुगिन्छ जस्तो लाग्दैन। त्यसैले समाजको तहमा हामीले आत्माबोध गरेर कतिपय कुरालाई बिर्सिदिएर नयाँ ढंगबाट कम गर्नुपर्छ जस्तो लाग्छ।
जीवनबहादुर शाही, हुम्ला
थर शाही भएकाले मलाई समाज र संरचनाले क्षेत्रीको रुपमा चिन्दै आएको छ। क्षेत्री भनेको एउटा वर्ग र पेसाबाट आएको हो। आफ्नो क्षेत्रको रक्षा गर्ने सेना हो। तर, अहिले म त्यो पेसामा छैन। वकिलको विद्यार्थी हुँ। त्यसैले मलाई क्षेत्रीसँग जोडिनै मन लाग्दैन। आफुलाई क्षेत्रीको रुपमा परिचय गराउन चाहन्न। मैले जीवन शाहीको नामबाट मात्र चिनाउन चाहन्छु। मैले समाजमा विभेदको सामना त गर्नुपरेन। तर, कुनै जातकै कारण कुनै फाइदा उठाए जस्तो पनि लाग्दैन।
सत्तामा हुने प्रतिनिधित्वको सवालमा यो त्यो समुदायको भन्दा पनि सबैलाई मानवीय हिसाबले हेर्नुपर्छ जस्तो लाग्छ। जातको विषय संविधानमा उल्लेख भएको कुरा मलाई मन परेको छैन। संविधानले यसरी जातको आधारमा किन विभाजन गरेको छ? जात भनेको पेसाबाट आएको हो र यसले अहिले कुनै माने राख्दैन।
***
'दलित लाइभ्स म्याटर'ले प्रस्तुत गरेको ‘कास्ट कन्भरसेसन’ शान्ता नेपालीको निर्देशनमा तयार भएको कार्यक्रम हो, जसलाई वृद्धिका सेञ्च्युरीले सञ्चालन गर्दैछिन्। प्रत्येक अंकमा सात जना सहभागी छन्। जातसँग लैङ्गिकता, प्रेम र विवाह, जमिनको स्वामित्व, कला र साहित्य, प्रविधि, न्याय र शिक्षालगायत विविध विषय कसरी अन्तरसम्बन्धित छन् भन्नेबारे ‘कास्ट कन्भरसेसन’ ले प्रस्टता ल्याउने लक्ष्य राखेको छ। कार्यक्रम अहिले हिमालय टेलिभिजनबाट प्रत्येक बिहीबार राति ९:३० बजे प्रसारण भइरहेको छ।