'मेनस्ट्रिम मिडियाले दलितका मुद्दालाई महत्व दिएनन्, कलाको माध्यमबाट बाहिर ल्याउनुपर्छ'
'सामाजिक कुसंस्कृति विरूद्धका पेन्टिङहरू बिक्री हुँदैनन्, थन्क्याएर राख्नुपर्ने अवस्था आउँछ'
मिडिया, कला र साहित्यमा जातको प्रभाव
मिडिया, कला र साहित्य बहुआयामिक विधा हो। यी माध्ययमहरूले समाजलाई सूचना, मनोरञ्जन र ज्ञान दिने काम मात्र गर्दैनन्, विचारको निर्माण र त्यसलाई स्थापित गर्ने काम पनि गर्छ।
के नेपाली समाजमा देखिएको जातीय, लैंगिक र भौगोलिक विविधता मिडिया, कला र साहित्यमा पनि झल्किएका छन् ? अहिलेसम्म पनि यो अहम् प्रश्नकै रूपमा खडा छ।
सञ्चारमाध्यय, फिल्म, संगीत वा साहित्य लेखन जुनसुकै विधामा पनि कुन समुदायको मानिसहरूको सहभागिता छ भन्ने कुराले निकै ठूलो अर्थ राख्छ।
यी यस्ता विधाहरू हुन् जसले इतिहास र समकालीन विषयलाई उजागर गर्दै समाजलाई गतिशिलता दिने र बाटो देखाउने काम समेत सँगसँगे गरिरहेका हुन्छन्। तर, तथ्यलाई हेर्दा यी सबै क्षेत्रमा कथित उच्च जातको अधिपत्य देखिन्छ। दलित तथा सिमान्तकृत समुदायको उपस्थिति नगन्य मात्रामा रहेको देखिन्छ।
जसले गर्दा दलित तथा सिमान्तकृत समुदायको मुद्दामाथि लेखिएका साहित्य, फिल्म निर्माण हुँदा त्यसको गम्भीरता र संवेदनशीलतालाई लिएर निकै आलोचना पनि हुने गरेका छन्।
यसलाई अहिलेको युवा पुस्ताले कसरी हेरिरहेको छ ? ‘दलित लाइभ्स म्याटर’ले उत्पादन गरेको ‘कास्ट कन्भरसेसन’ कार्यत्रममा आफ्नो विचार राख्नका लागि पेन्टर, कमेडियन, पत्रकार, कलाकारहरू उपस्थित भए।
उनीहरूले यो क्षेत्रमा सामाजिक विविधतालाई अहिले पनि स्वीकार्न नसकेको उल्लेख गरे। उनीहरूले जातको कारण पाएको अवसर र कार्यक्षत्रमा हुने विभेदबारेको आफ्नो अनुभूति पनि सुनाए।
दाङकी ‘थियटर आर्टिस्ट’ भूमिका थारूले लवजका कारण भोग्नुपरेको अपमानबारे मात्र बताइनन् आफ्नो समुदायले भोग्दै आएको कमलरी प्रथामाथिको कविता पनि सुनाइन्—
पिँजडाको चरी झैं
बिल्कुल बाँधिएकी छु म
जहाँ मेरो पीडा
मबाहेक कसैलाई थाहा छैन
सामान झैं बिकिएकी छु
तर, पनि यहाँ मेरो कुनै मूल्य छैन...
भूमिकाले दलित र सिमान्तकृतको मुद्दालाई मिडियाले महत्व नदिने भएकाले यसलाई आर्टको माध्ययमबाट बाहिर ल्याउनुपर्ने तर्क पनि गरिन्। पोखराकी पेन्टर सपना नेपालीले आफ्नै ग्राहकबाट जातीय विभेद भोग्नुपरेको तितो कथा सुनाइन्। दलित समुदायबाट आउने कलाकारको न्यून सहभागिताको कारण उनीहको चित्रले उचित स्थान पाउन नसकेको पनि गुनासो पोखिन्।
‘यस क्षेत्रका ठूला मान्छेहरू पनि कथित उपल्लो जातकै हुनुहुन्छ। कम्पुटेसन, एक्जिविसन होस् वा पुरस्कार पाउने कुरा नै किन नहोस् त्यहाँ पनि उहाँहरू नै हुनुहुन्छ। अनि हामीले जति राम्रो पेन्टिङ गरे पनि पछाडि नै परिरहेका हुन्छौं,' उनले भनिन्।
उता झापाकी कमेडियन योज्ञना थापा मगरले आफ्ना कथाहरूलाई रमाइलो ढंगबाट भन्न पाउने भएकाले कमेडि पेसा रोजेको बताइन्।
‘मेनस्ट्रिम कमेडि’मा पोलिटिकल र पुरातन संरचना आइरहेको बताउने योज्ञना अण्डरग्राउण्ड केमेडि सिनबाट भने निकै उत्साहित छिन्।
‘स्ट्यान्डअप कमेडिमा फरक फरक जात र धर्मको मानिसहरू हुनुहुन्छ। र, उहाँहरूले आफूलाई चित्त नबुझेको कुराहरू खुला भएर भन्नुहुन्छ’, उनले थपिन्, ‘दलित समुदायबाट पनि थुप्रै कमेडियनहरू आउन थाल्नुभएको छ र उहाँहरूले खुला रूपमा आफ्नो कुराहरू राख्नुहुन्छ।’
साहित्यका विद्यार्थी गौरव पाण्डेले साहित्यमा जात र लैंगिकताको विषय आए पनि ती समाधानमुखि नभएको बताए। उनले दलितलाई जहिले पनि एन्टागोनिस्ट पात्रको रूपमा देखाइएको र प्रोटागोनिस्ट नबनाइएको तथ्यबारे बोले। दलित र उत्पीडित समुदायमाथि आएका साहित्यले गलत ब्याख्या गरेको भन्दै त्यसले गैर दलितको मानसिकतामा खराब प्रभाव पारेको पनि उल्लेख गरे।
‘पात्रको कथा र उनीहरूको समस्यालाई त भनिएको छ तर, इतिहास र शैद्धान्तिक विषयसँग जोडेर थ्योरीहरू कम आएका छन्,’ गौरवले भने।
कर्णालीकी पत्रकार अनु शाहीले आफ्नो गाउँमा भइरहेको कहालिलाग्दो जातीय विभेदको दृष्टान्तको बेलिविस्तार लगाइन्। उनले मिडियामा परिवर्तनको लागि लेख्न र बोल्न गाह्रो भएको पनि उल्लेख गरिन्।
तिमीला महर्जनले मिडियामा ब्राह्मण र क्षेत्रीको अत्याधिक उपस्थिति रहेको र अदिवासी, दलित महिलाहरू कुनै पनि मिडियामा नेतृत्वदायी भूमिका नरहेको उललेख गरिन्। त्यस्तै धनुषाकी रेश्मी कर्णले उनले मिथिला आर्टको इतिहास बताउँदै मिथिला आर्टमा अत्याधिक शोषण रहेको पनि उल्लेख गरिन्।
हिमालय टेलिभिजनबाट प्रशारण भएको मिडिया, कला र साहित्यमा जात विषयक अन्तरक्रियामा उनीहरूले अरू कस्ता विचार व्यक्त गरे? यहाँ उल्लेख गरिएको छ —
सपना नेपाली, कास्की
-पेन्टर
मैले पेन्टिङ आर्ट गर्दै आइरहेकी छु। आर्टको क्षेत्रमा जातको विषयमाथि त्यति छलफल हुने गरिएको पाउदिँन। तर, काम गर्ने ठाउँहरूमा भने विभेद भोग्नु परिरहेको हुन्छ। हामी पेन्टिङको लागि जो कोहीको घरमा जानुपर्ने हुन्छ। यसरी पेन्टिङ गर्ने क्रममा इमाडोलको एउटा घरमा पुगेको थिएँ। उहाँले मलाई घरमै खाना खान कर गर्नुभयो। र, मेरो नाम सोध्नुभयो। मैले नाम भनेपछि अकस्मात् आफ्नो अनुहारको हाउभाउ नै परिवर्तन गर्नुभयो। मलाई खाना बाहिर नै ल्यादिनुभयो र त्यहीँ बसेर खान भन्नुभयो। पानी पनि प्लास्टिकको कपमा दिनुभयो। र, भाँडा माझेर बाहिर नै राख्न भन्नुभयो।
यस्तो व्यवहारले मलाई एकदमै नराम्रो लाग्यो। उठेर जाने कुरा पनि भएन। के भन्नु कसो गर्नु ? म अलमलमा परे। त्यो घटनाले मलाई अहिलेसम्म पनि असहज बनाउँछ। पछि आएर लाग्यो कि मैले त्यहाँ केही त भन्नुपर्ने रहेछ।
मानिसहरूले सहरमा जातीय विभेद छैन भनिरहेका हुन्छन्। तर, अलि गहिरिएर हेर्दा जताततै विभेद देखिँदो रहेछ। म काठमाडौं पढ्न आउने बेला मेरो परिवार र आफन्तले अरू सुरक्षाको विषयमा भन्दा पनि दलितलाई कोठै दिदैनन् रे, कहाँ गएर बस्छौ भनेर चासो राख्नुभएको थियो। केही दिदीहरूले त कोठा भाडामा बस्नका लागि नागरिकतामा नाम नै परिवर्तन गर्नुपरेको समेत सुनाउनुभयो।
हामीले गर्ने पेन्टिङमा आफ्नो अनुभूति र कथा पनि जोडिएको हुन्छ। तर, समाजिक कुसंस्कृतिको विरूद्धमा गरिएका पेन्टिङहरू त्यति बिक्री हुँदैनन्। थन्क्याएर राख्नुपर्ने अवस्था हुन्छ।
कि त मानिसहरूले जे खोजिरहेको छ त्यही गर्नुपर्यो। जस्तो की बुद्ध, मन्दिर आदिको। यसै पनि पेन्टिङ महँगो हुन्छ। त्यसमा प्रयोग हुने सामग्रीहरू पनि महँगा हुन्छन्।
हामी जस्तो दलित समुदायबाट कला क्षेत्रमा आउनेहरूलाई निकै गाह्रो छ। आफ्नो मान्छे कोही हुँदैनन्। चिनजान पनि कम हुन्छ। यस क्षेत्रका ठूलो मान्छेहरू पनि कथित उपल्लो जातकै हुनुहुन्छ। कम्पुटेसन, एक्जिविसन होसा वा पुरस्कार पाउने कुरा नै किन नहोस् त्यहाँ पनि उहाँहरूनै बाहुल्यता हुन्छ। अनि हामीले जति राम्रो पेन्टिङ गरे पनि पछाडि नै परिरहेका हुन्छौं।
योज्ञना थापा मगर, झापा
-कमेडियन
मैले जातको आधारमा प्रत्यक्ष विभेद त भोगेको छैन तर, त्यसबारे आएका स–साना कमेन्टहरूले भने विझाउँछ। मरो बुवा मगर र ममी ब्राह्मण समुदायबाट हुनुहुन्छ। मेरो घर वरिपरि ब्राह्मण र क्षेत्री समदायको बसोबास थियो। अनि मलाई अरूले सोध्ने गर्नुहुन्थ्यो – रक्सी बनाउन आउँछ, घरमा सुंगुर छ की छैन। यस्तो प्रश्नले असुरक्षित महसुस गराउँदो रहेछ।
मलाई कथा वाचन गर्न र लेख्न मन पर्थ्यो। रमाइलो ढंगबाट आर्टबाट आफ्नो कुरा भन्न पाइने भएकाले पछि मैले कमेडि पेसाको सुरूवात गरेँ। र, मैले पहिलो स्ट्यान्डअप कमेडि नै र्यान्टबाट सुरू गरेको थिएँ। किनकी मलाई सेक्सिजमको कारणले एकदमै रिस उठिरहेको थियो। त्यसैले यससम्बन्धि मेरा थुप्रै जोकहरू पनि थिए। कमेडिबाट सजिलै आफ्ना कुराहरू भन्न सकिन्छ र त्यसले आफूलाई हल्का महसुस पनि गराउँछ।
मेनस्ट्रिम कमेडिमा राजनीतिक कुरा बढी आइरहेका छन्। तर, अण्डरग्राउण्ड कमेडि सिनमा भने मानिसहरू निकै खुला भएर आइहरका छन्। हामीसँग फरक फरक जात र धर्मको मानिसहरू हुनुहुन्छ। र, उहाँहरूले आफूलाई चित्त नबुझेको कुराहरू खुलस्त भएर कमेडिको माध्ययमबाट भन्नुहुन्छ। दलित समुदायबाट पनि थुप्रै कमेडियनहरू आउन थाल्नुभएको छ र उहाँहरूले खुला रूपमा आफ्नो कुराहरू राखिरहनुभएको छ। मेनस्ट्रिम मिडियामा भने निकै कन्सियस भएर सेप मेटिरियल मात्र आउने गरेका छन्। फिल्ममा पनि त्यही छ। हामी भने कमेडिबाट फाइट गरिरहेका छौं।
भूमिका थारू, दाङ
-थिएटर कलाकार
पछिल्लो समय मैले नाटक र कवितामार्फत आफ्नो समुदायको आवाज बाहिर ल्याउने प्रयास गरिरहेको छु। आदिवासीको मुद्दामा काम गरिरहेको छु। मलाई लाग्छ कि हाम्रो पुस्ताले नै हो आफ्नो समुदायको आवाज बोल्ने, समाजका बेथितिहरूलाई मिडिया र आर्टको माध्यमबाट बाहिर ल्याउने। किनकी स्थापित मिडियाहरूले यस्ता मुद्दाहरूलाई हाइलाइट गर्दैनन्।
आफ्नो लवजको कारण मैले स्कुल जीवनदेखि अहिलेसम्म घोचपेच र अपमान भोग्नुपरेको छ। मेरो मातृभाषा नेपाली नभएकाले पछि बोल्नुपर्दा केही लवजमा भिन्नता देखिन्थ्यो। मैले मिडियामा काम गर्दा पनि मभन्दा माथिल्लो पोस्टका सहकर्मीले भन्नुभएको थियो –तिमी पब्लिक फिगर हौ त्यहीअनुसार काम गर्नुपर्छ। कतिपय ठाउँमा अहिले पनि मेरो थर सुन्दा अर्कै ग्रहबाट आएकोजस्तो व्यवहार गर्नुहुन्छ।
मैले बल्यकालमा केही कथाहरू पढ्ने मौका पाएको थिएँ। बुवाले ‘सुखली’ नामको कथा पढ्न दिनुभएको थियो। सुखली एउटा कमलरी हुन्छ। मैले पछि बुवालाई जिज्ञासा राखेकी थिएँ, ‘सुखली किन परिवारसँग बस्न पाउँदैन, किन काठमाडौंको होटेलमा भाँडा माझ्नुपर्छ ? उहाँले भन्नुभयो, ‘किनकी सुखली कमलरी बसेको छ।’
हुर्किदै जाँदा थाहा भयो कि हाम्रो समुदायमा त कमलरी, कमैया प्रथा रहेछ। उनीहरूले जुन जीवन बिताए त्यो हामीले कल्पनासम्म पनि गर्न सक्दैनौं। त्यसपछि मैले कविता पनि लेखें – म एक कमलरी। थोरै भए पनि मेरो समुदायको कथा ल्याउन सकिरहेको छु भन्ने लाग्छ।
अहिले केही मात्रामा भए पनि नाटकमा अथेन्टिक कन्टेन्टहरू आउन थालेका छन्। पहिले विददेशी नाटक नेपालीमा रूपान्तरण गरेर धेरै नाटक मञ्चन हुन्थे। अहिले फिल्म र नाटकहरूमा सामाजिक विषयहरूले ठाउँ पाउन थालेका छन्। तर, आदिवासी, सिमान्त वर्ग र दलित समुदायका मुद्दाहरूलाई अहिलेसम्म सञ्चारमाध्ययमले त्यति महत्व दिएको पाइँदैन। त्यसैले यस्ता कुराहरूलाई आर्टको फर्ममा भए पनि नयाँ पुस्ताले बाहिर ल्याउनुपर्छ।
उनले कविताको अंश सुनाइन्-
मनमनै भनें
हाम्रै सम्पत्ति हड्पेर हामीलाई गरिव बनाए
सामन्तीहरूले गरिवीको फाइदा उठाए
मेरो बोली सुन्ने को ?
जसलाई पशुसरह पनि व्यवहार गरिँदैन
अब चल्दैन तिम्रो ज्यादती
मेरो दिन फेरिएको छ
मेरा पखेताहरू फर्फराउन थालेका छन्
म आजाद भएकी छु
बिल्कुल आजाद
गौरव पाण्डे, स्याङ्जा
-साहित्यको विद्यार्थी
म ब्राह्मण परिवारमा जन्मिएकाले जातीय विभेदको अनुभव छैन। कोभिडको कारण भएको लक डाउनमा घर बस्दा अलि बढी किताव पढ्ने समय मिलेको थियो। त्यतिबेला मलाई रिअलाइजेसन भएको थियो की आफ्नै घरभित्र छुट्टै बस्न त यति कठिन हुँदो रहेछ भने यहाँ त निश्चित समुदाय जातकै आधारमा वर्षौदेखि बन्धनमा बसेर कसरी गुजारा गरिरहेका होलान् ? यो प्रश्न नराम्ररी हिर्कायो। मानिस जातको आधारमा मानिसलाई विभेद गरिरहेको छ, तर प्रकृतिले त त्यस्तो गर्दैन। त्यसैले विभेद र अन्यायविरूद्ध बोलिहाल्नुपर्छ जास्तो लाग्यो मलाई।
देख्ने, भोग्ने र पढ्ने क्रममा भावनाको निर्माण हुन्छ र त्यसलाई मैले कविता, मनोवाद, चिठीको माध्ययमबाट पोख्ने गर्छु। पढ्ने क्रममा मैले जात व्यवस्था र यसको इतिहासबारे पनि बुझ्न मन लाग्यो। मैले साहित्य पढिरहदा जात र लैंगिकताको विषय त आएको छ। तर, त्यो समाधानमुखि भन्दा पनि समस्या सृजना गर्ने गरि आएका छन् जस्तो लाग्यो। साहित्यमा दलित पात्रलाई लिएर समस्या सिर्जना गरिन्छ। मलाई जहिले पनि लागिरह्यो की दलित समुदायको पात्रलाई किन एन्टागोनिस्ट मात्र बनाइन्छ ? किन प्रोटागोनिस्ट बनाइदैन ? किन यसलाई सैद्धान्तिक र दार्शनिक विचारको तहमा विश्लेषण गरिँदैन ? कथाहरूको वर्णन त गरियो, दुःख देखाउन थालियो तर, इतिहास र यसको सिद्धान्तमा काम भएको छैन। त्यसैले पछिल्लो समय सामाजिक विविधता र असमानताको विश्वव्यापी अवधारणाबारे मेरो रूची बढ्दै गएको छ।
दलित समुदायको मुद्दालाई साहित्यमा मिसइन्टरप्रेट गरेको जस्तो लाग्छ मलाई। यसमाथिको अब्जरभेसन र दलित समुदायको रिप्रिजेन्टेसन एकदमै कम छ। जसले गर्दा हामीजस्ता भोगाइ नभएका मानिसहरूले गलत तरिकाबाट यस्ता विषयलाई बुझ्ने गरेको भान हुन्छ।
अनु शाही, कर्णाली
-पत्रकार
म कर्णालीको ठकुरी परिवारमा जन्मिएकी हुँ। तर, तराईमा बसे। गाउँमा हाम्रो बस्ती र दलित समुदायको बस्ती फरक हुँदो रहेछ। खानेपानीको मुहान पनि फरक–फरक हुँदो रहेछ। हामी हिँड्ने बाटो एउटा र उहाँहरूको बाटो अर्कै हुँदो रहेछ। म गाउँ गएको बेला अर्कै बाटो भएर दलित समुदायको बस्तीमा पुगे। मसँगै मेरो भाइ पनि गएको थियो। मैले तिर्खा लागेर दलित बस्तीकै धारामा पानी खान खोज्दा भाइले भन्यो – यहाँको पानी नखानु, अहिले फेरि ममीले गाली गरिसिन्छ, भित्र पस्न दिनुहुन्न। पछि घर गएर भाइले ममीलाई पनि यो कुरा भनेछ।
उहाँहरूले तराइबाट आएको सोचेर होला केही भन्नुभएन। तर, मलाई चाही साह्रै नराम्रो लाग्यो। बच्चाको मानसपटलमा पनि परिवारले यस्तो कुरा बसाइदिएको छ की त्यहाँ गएर पानी खानै हुन्न। मैले केही बोले पनि मलाई नै पागल सोचिन्छ। त्यसैले यस्तो विषयमा बोल्दै सकिँदैन।
म मिडियामा काम गर्दै आएकी छु। मिडिया क्षेत्रमा एकदमै नाताबाद छ। मैले जे मन लाग्यो त्यही काम गर्न पनि पाउँदिन। मैले एउटा विषयमा रिर्पोर्टिङ गरेर स्क्रिप्ट लेखिरहेको हुन्छु भ्युजको लागि अर्कै विषय लेख्नुपर्ने निर्देशन आउँछ। उनीहरूले आफूलाई जे मन लाग्यो त्यही विषय उठाउनुहुन्छ। परिवर्तनको लागि मैले काम गर्छु भन्नको लागि ठाउँ नै छैन। युवाहरूले गर्नुपर्छ त भनिन्छ तर, त्यसको लागि स्पेस नै छैन।
तिमीला महर्जन
अहिले मिडियामा प्रायजसो काठमाडौं केन्द्रित विषय आइरहेका हुन्छन्। काठमाडौं वरिपरिका विषयहरू बढी आइरहेका छन्। अरू प्रदेशको विषय निकै कम आएको देखिन्छ। पत्रकारहरू पनि प्राय यही बस्ने र सबैजसो ब्राह्मण र खस जातीको हुनुहुँदो रहेछ।
महिला, दलित, आदिवासी जनजाती समुदायका नगन्य मात्रामा छन्। नेतृत्व तहमा महिलाहरू छैनन्। यसले गर्दा पनि दलित र सिमान्तकृत समुदायको मुद्दा मिडियामा कम आएको जस्तो लाग्छ मलाई।
मैले मिडियामाथि अनुसन्धान गर्दा पनि काम गर्ने ठाउँमा विविधता एकदमै कम देखें। काम गर्ने ठाउँमै सहभागिता नभएको मुद्दा कसरी आउन सक्छ ? फेरि सबैलाई सबै विषयबारे थाहा पनि हुँदैन। आफूले नभोगेसम्म ती विषय कति महत्वपूर्ण छ भन्ने कुरा थाहा नै हुँदैन।
म पढ्ने स्कुलमा नेवारी समुदायको बढी हुनुहुन्थ्यो। तर, जब म प्लस टु पढ्न कुमारीपाटीमा आएपछि थाहा पाएँ की मेरो नेपाली टोन त फरक रहेछ। मैले टेलिभिजनको अन्तरवार्ता लिने क्रममा मैले समाचार सम्पादन गर्ने पनि रूची भएको बताए। तर, उहाँले गर्न मिल्दैन भन्नुभयो। भाषाको कारण ममाथि शंका गरिएको थियो। मिडियामा पनि डाइभर्सिटीलाई अनुमोदन नगरिदो रहेछ।
रेश्मी कर्ण, धनुषा
सानो छँदा जातको आधारमा हुने विभेद धेरै नै देखें। पहिले त्यो जातले माझेको भाडामा खानु हुँदैन भन्ने लाग्थ्यो। अहिले म भएको सर्कल भने त्यस्तो छैन। तर, काम गर्ने क्रममा गाउँ पुग्दा जातीय विभेद निकै कट्टर रहेको देखें। सामाजिक क्षेत्रमा काम गर्ने भएकाले विभिन्न ठाउँमा गएर महिलाहरूलाई तालिम दिनुपर्छ। कहीँ उपल्लो जात भित्र र तल्लो जातको महिलाहरू कोठा बाहिर बस्नुहुन्थ्यो। कतिपय ठाउँमा उपल्लो जातको महिलाहरूले दलित महिला आउने भए आफूहरू तालिममा नआउने बताउनुहुन्थ्यो। कतिपय ठाउँमा त फर्किएर पनि जानुहुन्थ्यो।
हाम्रो तराइ मिथिला आर्टमा प्रशिद्ध छ। उपल्लो जातको बिहे वा पारिवारीक संस्कारहरूमा प्रयोग गरिने आर्ट हो – मिथिला। अहिले भने सबै समुदायको मानिसहरूले मिथिला आर्ट गर्न थाल्नुभएको छ। हरेक घरमा कोही न कोही मिथिला आर्ट जानेको व्यक्ति हुनुहुन्छ। सबैले एक्सेस पाउनुहुन्छ। पहिले मिथिला आर्ट बिहे ब्रतबन्ध प्रतिबिम्वित गर्ने खालको मात्र हुन्थ्यो भने अहिले युवाहरूले सामाजिक विषयका थिममा पनि काम गरिरहनुभएको छ। हामीले समाजमा सचेतना फैलाउन सकौं भनेर काम गरिरहेका छौं।
तर, अहिले धेरैले आर्ट गर्ने भए पनि माथिल्लो तहमा कोही पनि पुग्न सकिरहेका छैनन्। पहिलेदेखिका दुई-चार जनाले अहिले पनि त्यो ठाउँ ओगटेर बसिरहनुभएको छ। धेरै आर्टिस्टहरू सामान्य पैसामा उहाँहरूकै लागि आर्ट गरिरहनुभएको छ। उहाँहरूको कुनै नाम पनि हुँदैन। मिथिला आर्टमा निकै शोषण भएको देखेको छु।
***
दलित लाइभ्स म्याटरले प्रस्तुत गरेको ‘कास्ट कन्भरसेसन’ शान्ता नेपालीको निर्देशनमा तयार भएको कार्यक्रम हो, जसलाई वृद्धिका सेञ्च्युरीले सञ्चालन गर्दैछिन्।
प्रत्येक अंकमा सात जना सहभागी छन्। जातसँग लैङ्गिकता, प्रेम र विवाह, जमिनको स्वामित्व, कला र साहित्य, प्रविधि, न्याय र शिक्षालगायत विविध विषय कसरी अन्तरसम्बन्धित छन् भन्नेबारे ‘कास्ट कन्भरसेसन’ ले प्रस्टता ल्याउने लक्ष्य राखेको छ।
कार्यक्रम अहिले हिमालय टेलिभिजनबाट प्रत्येक बिहीबार राति ९:३० बजे प्रसारण भइरहेको छ।