अन्तरजातीय विवाहले जातीय विभेद हटाउन मद्दत गर्छ?
'त्यसो हुँदा साथीहरूले त फरक व्यवहार गर्छन् झन् परिवारले स्वीकार्छ त?,' उनले थपिन्।
फरक जात र समुदायबीच हुने विवाहमा नेपाली समाज निकै अनुदार छ। जात व्यवस्थाको जब्बर प्रथाको रुपमा कायम रहेको सजातीय विवाहबाट समाज चलमलाउन खोजेको देखिँदैन।
संविधान र कानुनले अन्तरजातीय विवाहलाई स्वीकारे पनि समाज मात्र होइन राज्य नै यसको खिलापमा देखिएका कैयौं उदाहरण छन्।
चाहे त्यो रुकुम पश्चिमका अन्तरजातीय विवाहको नाममा हत्या गरिएका नवराज विकको सन्दर्भमा होस्, काभ्रेका अजित मिजारको केसमा होस् या म्याग्दीमा हत्या गरेर जंगलमा आठ महिना बेपत्ता गराइएकी मिना परियारको केसमै किन नहोस्, हालै भएको सत्येन्द्रकुरमा राम (चमार) र नेहा रौनियारको अन्तरजातीय विवाहमा त प्रहरी प्रशासनको माथिल्लो तहका अधिकारी नै उनीहरुको सम्बन्धलाई छुटाउन भारतसम्म पुगे र उनीहरुलाई यातना दिए। जुन अपराधमा बहालवाला गृहमन्त्री रमेश लेखककै निर्देशन रहेको समाचार सार्वजनिक भए।
अन्तरजातीय प्रेम र विवाहका कारण भोग्ने हिंसा, पलायन र हत्याको तथ्यांक भयानक छ । अझ दलित र गैर दलितबीचको प्रेम र विवाहमा त समाज निकै क्रुर देखिन्छ।
तर, के पछिल्लो समय बन्दै गरेको आम भाष्य जस्तै नयाँ पुस्ताले जात प्रथालाई मान्न छाडेको छ? नयाँ पुस्तामा विभेद विरुद्धको जागरण आएको छ? टेलिभिजन कार्यक्रम ‘कास्ट कन्भरसेसन’को बहसमा भाग लिएका ३० वर्षभन्दा कम उमेरका युवाहरुको अनुभवले भने त्यस्तो देखाउँदैन।
दलित, जनजाति, ब्राह्मण समुदायबाट बहसमा भाग लिएका उनीहरुको साझा मत थियो, ‘हाम्रो पुस्तालाई पनि जातमा आधारित उचनीचको भावनाले छाडेको छैन र अन्तरजातीय विवाह निकै नै जटिल विषय बनिरहेको छ।’ उनीहरुले समाजमा भइरहेको अभ्यास मात्र होइन यसको निकासबारे पनि मन्थन गरे ।
यशोदा कुमारी चन्दले आफ्नै दलित साथीसँगको सम्बन्धबारे बताउँदै बहसको सुरुवात गरिन्।
'आफू प्रेम सम्बन्धमा रहेको भन्ने कुरा साथीहरूलाई सुनाउँदा उनीहरूको पहिलो प्रश्न हुन्छ- कुन जातको हो,' उनले भनिन्, 'फरक जातको छ भने जिब्रो टोकेर आश्चर्यमिश्रित अभिव्यक्ति आउँछ- ला... ।'
'त्यसो हुँदा साथीहरूले त फरक व्यवहार गर्छन् झन् परिवारले स्वीकार्छ त?,' उनले थपिन्।
उता श्वस्तिका महर्जनले नेवार समुदायभित्रको जात व्यवस्थाबारे खुलाइन्। उनको भनाइले नेवार समुदायलाई जात व्यवस्थाले कसरी जकडेको छ भन्ने बुझ्न सकिन्छ। त्यो समुदायमा एउटा थरको केटा र अर्को थरको केटी भयो भने विवाह असम्भव हुने उनी बताउँछिन्।
श्रीपा प्रधान पनि त्यसमा सहमत जनाउँदै भन्छिन्- जनजाति समुदायको महिलाहरु माया, प्रेम र सेक्सको लागि हो तर, विहेको लागि होइन भन्ने न्यारेटिभ छ । त्यसैले प्रेम सम्बन्ध त हुन्छ तर, त्यो विहेमा परिवर्तन हुँदैन।
उनले आफ्नो ९० प्रतिशत साथीहरु जनजाति समुदायका मात्र रहेको बताइन् र थुप्रै साथीहरुको लामो प्रेम सम्बन्ध जातकै काण विवाहमा परिणत हन नसकेको तितो यथार्थ सुनाइन्।
अस्मिता परियार अन्तरजातीय विवाहको कारण भएको हत्या र हिंसा देखेर यसबारे सोच्न पनि नसक्ने अवस्था आएको बताउँछिन्।
‘अहिले मलाई अन्तरजातीय बिहे गर्नु हुँदैन भन्ने लाग्न थालेको छ । हत्या हुन्छ, मान्छे गायभ हुन्छ भने किन बिहे गर्ने?,’ उनले भनिन्।
उनको भनाइप्रति असहमति जनाउँदै श्वस्तिकाले भनिन्, ‘अब हाम्रै पुस्ताले यस्तो भन्न थालेपछि त कसरी परिवर्तन हुन्छ । हामीले त जात व्यवस्थाविरुद्ध एक एक स्टेप लिँदै अब आउने पुस्तालाई सहज पार्नुपर्छ ।’
विराटनगरका आदर्श घटानीले नेपाली समाजमा अहिले पनि परिवार निकै बलियो संस्था भएकाले यसलाई सजिलै भत्काउन गाह्रो पर्ने बताए।
अन्तरजातीय विवाहबाट जन्मिएको छोराछोरीलाई जातीय फरकपनाको त्यति वास्ता नहुने भएकाले अलिकति भए पनि उनीहरुको दिमागमा भएको जात व्यवस्था भत्काउन यसले सघाउ पुग्ने उनको तर्क थियो।
दलित लाइभ्स म्याटरले उत्पादन गरेको उक्त बहस कार्यक्रममा ती युवाहरुले अरु कस्ता तर्क गरे ? उनीहरुबीचको रोचक वार्ताको सम्पादित अंश यस्तो छ:
श्रीपा प्रधान, काठमाडौं
अस्ती एक जना साथीले तपाईंको ९० प्रतिशत साथीहरु आदिवासी जनजाती मात्रै छन् भन्नुभयो। किन यस्तो भएको भनेर मैल त्यसभन्दा अघि याद नै गरेको रहेनछु। त्यसपछि भने मैले सोच्न थालें।
म नेवार समुदायबाट आएकाले स्कुलमा हाम्रो लवज (टोन)लाई लिएर खुब बुलिङ गरिन्थ्यो। नेपाल भाषा बोल्ने भएकाले नेपाली बोल्दा अर्कै लवज निस्कन्थ्यो। कोठाको ऐना अगाडि बसेर नेपाली बोल्ने अभ्यास गर्थे। मैले त्यो सम्झिएँ । एक त मेरो काम गर्ने र सामाजिक सर्कल पनि त्यही खालको भएर होला अधिकांश जनजाति साथीहरु भएको। आफ्नो कुरा सजिलै बुझ्छन् र बढी ब्याख्या गरिराख्नु नपर्ने भएकाले पनि यस्तो भएको होला भन्ने लाग्यो ।
अन्तरजातीय विवाह अहिले पनि जटिल छ। सजातीय विवाहको गहिरो प्रभाव छ । किनभने अन्तरजातीय विवाह गर्दा जातीय शुद्धता हट्छ भन्ने मान्यता छ। जातीय संस्थालाई शुद्धता राख्ने भनेकै अन्तरजातीय विवाह हुन नदिने हो। त्यसैले मनुस्मृतिदेखि नै अन्तरजातीय विवाह गर्नेलाई सजायको व्यवस्था गरिएको थियो।
त्यसैले अहिले पनि नवराज विकहरुको घटना भइरहेका छन्।
हाम्रै साथीहरुमा हेर्यो भने पनि सामाजिक सञ्जालमा लामा लामा पोस्टहरु देखिन्छन्। ती पोस्टहरू ऊ एउटै जातको नभएकाले मेरो यति लामो रिलेसनसिप चाही सकिन्छ भन्ने आशयका हुन्छन्। कतिले परिवारले मान्नुभएन भन्छन्। आदिवासी जनजाति र अरु समुदायको विवाहको मुद्दामा पनि पहिलेदेखि अभ्यास गरिआएको संस्कृति बिहेपछि छुट्ने भएकाले पनि अन्तरजातीय विवाह जटिल भइरको छ। इन्डीजिनियसको दृष्टिकोणबाट हेर्दा हाम्रो कल्चर हराउँछ भन्ने डर होला। अर्कोतर्फ आदिवासी जनजाति समुदायको महिलाहरुमा माया, प्रेम र यौन सम्बन्धका लागि हो, बिहेको लागि होइन भन्ने न्यारेटिभ छ। त्यसैले प्रेम सम्बन्ध त हुन्छ तर, त्यो बिहेमा परिणत हुँदैन ।
अन्तरजातीय विवाहले मात्र जातीय छुवाछुत हट्छ भन्ने कुरामा चाही म सहमत हुन सक्दिनँ। डा. अम्बेडकरले भनेजस्तो कास्टको प्युरिटी हटाउनका लागि अन्तरजातीय विवाह एकदमै महत्वपूर्ण हुन्छ।
तर, जातीय विभेद हटाउनको लागि अन्तरजातीय विवाहको पछाडि पनि धेरै कुरा हुन्छ। जस्तो की अवसरको सिर्जना, शिक्षा, न्यायको कुरा आदी। हामीले यहाँ महिला र पुरुषको कुरा मात्र सोचिरहेका छौं, त्यसमा पनि सेक्स्वालिटी, एलजिबिटीक्यूआई कम्युनिटीको कुरा सोच्यो भने फरक खालको बहस गर्नुपर्ने हुन्छ। यद्यपि जातीय भेदभाव मान्छेहरुप्रति राज्यले सिर्जना गरेको हिंसा हो र यसको समाधान र पनि राज्यले नै गर्नुपर्छ ।
दलित महिलाहरुलाई बेच्ने अनि उहाँहरूमाथि शोषण गर्न पाउने नियम उनीहरुले बनाएको हो। मासिन्या मतवाली भन्ने र उनीहरुको जमिन खोस्ने काम राज्यले नै गरेको हो । यसको आफ्नै इतिहास छ र त्यसको न्याय चाहिन्छ । त्यो न्याय के हो मैले भन्न सक्दिन तर, त्यसरमा सरकार पारदर्शी हुनुपर्छ ।
यशोदा कुमारी चन्द, कञ्चनपुर
म कन्चनपुरबाट आएको हुँ । सुदूरपश्चिममा जातको आधारमा हुने भिन्नता अलि बढी देखिन्छ । म त्यस्तै आठ कक्षामा पढ्थे । मसँग एक जना मिल्ने साथी हुनुहुन्थ्यो। हामी एक अर्काको घर जान्थ्यौं । मैले ती साथीलाई पनि घर ल्याउँछु भनेर बुवा आमालाई बताएँ। अरु कुनै साथीलाई घर ल्याउने कुरा बुवाआमाको असहमति थिएन तर, ती साथीको विषयमा भने अहिले नल्याउनू भोलि पर्सि ल्याउलास् भन्नुभयो।
त्यतिबेला बुवा-आमाले किन त्यसो भन्नुभयो थाहा भएन पछि बुझ्ने भएपछि थाहा भयो ती साथी दलित भएकै कारण मेरा बा-आमाले भन्नुभएको रहेछ। सानोमा थाहा नभएको शुरुमा साथी बनाउँदा जातको कुनै मतलब नराख्ने भए पनि घरमा चाहीँ अहिले पनि त्यसरी नै हेरिन्छ।
मेरो परिवारभित्र पनि दुई तीन वटा अन्तरजातीय विवाह भएको छ। तर, कहिलेकाँही हुने पारिवारिक कार्यक्रमहरुमा भने उनीहरुलाई अलिकति टाढै राख्ने, नस्वीकार्ने खालका गतिविधि हुन्छ। मजाक मजाकमा पनि उसँग बिहे गर्नुभन्दा त बिहे नगरिबसेको भए पनि हुन्थ्यो नी! भन्ने गरेको सुनेकी छु ।
हाम्रो पुस्ताम्म आइपुग्दा पनि जातको गहिरो छाप देखिन्छ। साथीहरुमा कसैको ब्वाइफ्रेण्डबारे थाहा हुने वित्तिकै सोध्ने गरिन्छ – कुन जातको हो ? फरक जातको भयो आकाश नै खसेजसरी भनिहाल्छन्- ला...। परिवारवारले स्वीकार्छ त? यसो नभने पनि हेर्ने दृष्टिकोणमा भने फरक देखिन्छ। कसैले त जात होइन मान्छे हेर्नुपर्छ भन्ने सोच पनि नराख्ने होइन । तर, प्रायको अवचेतन मस्तिष्कमा माइन्डमा काहीँ न काहीँ जातको विभाजनले जरा गाडेर बसेजस्तो लाग्छ।
बिहे भनेको दुइ जनाबीच हुने हो र जीवन बिताउने पनि दुई जनाले नै हो । तर, नवराज विकहरुको जस्तो हत्या र हिंसा देख्दा समाजका निश्चित व्यक्तिले आफ्नो स्वार्थ लिएर अगाडि बढ्दा हत्या, हिंसा र हमला गरेको जस्तो लाग्छ ।
विभेद र छुवाछुतविरुद्धको कानुन त छ । तर, अझै पनि गाउँमा कुनै घटना घट्यो भने प्रहरी कार्यालय, वडा कार्यालयमा दर्ता गर्नै नमान्ने देखिन्छ। यसको कारण भनेको कार्यान्वयन गर्ने तहमा दलित तथा सिमान्तकृत समुदायका व्यक्तिहरु नहुनु पनि हो।
जसले त्यो समुदाय प्रतिनिधित्व गर्दैन उसले बाहिरै मिलाउन खोज्ने, घटनालाई ढाकछोप गर्ने हुने गर्छ । त्यसैले सरकारले पनि कार्यान्वयन तहमा त्यस्ता समानुपातिक रुपमा प्रतिनिधित्वको कुरालाई पनि ध्यान दिनुपर्ने जरुरी हुन्छ।
अझै पनि अन्तरजातीय प्रेम र विवाहलाई अघिल्लो पुस्ताले स्वीकार्दैन। त्यसैले यदी हाम्रो पुस्ताले अन्तरजातीय विवाहलााई सम्मान दिने हो भने समाज परिवर्तन हुन्छ जस्तो लाग्छ ।
श्वस्तिका महर्जन, मकवानपुर
म चाहीँ टिस्टुङको पालुङमा जन्मिएकी हुँ। मैले जातजाति भन्ने कुरा नै एसएलसीपछि थाहा पाएको हुँ। अरुले हामीलाई ज्यापु भनेर जिस्क्याउँथे । पहिले रिस उठ्थ्यो तर, अहिले मजा लाग्छ। हामी केही समयपछि काठमाडौं आयौं।
दलितको कुरा आइरहदा नेवारी समुदायभित्र पनि तल्लो र उपल्लो जात भन्ने अहिले पनि कायम छ। नेवार समुदायभित्रै जातीयविभेद अहिले पनि छ । म सानैमा काठमाडौं आएको भए पनि विभिन्न सांकृतिक पर्वमा गाउँ गइरहन्छौं । हामीले त जातीय कुराहरु मान्दैनौं तर, बाजे बजुहरुको सम्मानका लागि पनि त्यसलाई फलो गर्न बाध्य छौं। कतिपयलाई तल्लो जात भनिन्छ, उनीहरुलाई सकेसम्म जान दिइदैन । कथमकदाचित घरमा गइहाले भान्सामा त कुनै हालतमा पनि छिर्न दिइँदैन।
एउटै समुदायमा पनि किन यस्तो विभेद होला भनेर मनमा आइरहन्छ। नेवार समुदायबाट पढेको त छ तर, एजुकेट भएर पनि यस्तो विभेद हट्न सकेको छैन।
पहिलेको समाज र अहिलेको समाजमा धेरै परिवर्तन त आइसकेको छ। तर, हाम्रै पुस्तामा पनि सम्बन्धलाई लिएर माथिल्लो र तल्लो जातको भेद निकै देखेको छु। लभ गर्दा त कुन जातिको हो भनेर गरिँदैन । जब विहे गर्ने समय आउँछ ६/७ वर्षको रिलेसन पनि टुट्ने गरेको छ।
फरक थरको बिहे गर्ने समय आयो भने कुनै न कुनै समस्या आइरहेको हुन्छ। केटा ठूलो जातको र केटी सानो जातको छ भने केटीले निकै दुःख भोगिरहेको छ । केटीलाई कूलदेवता छ भनेर घर नै भित्राउँदैनन्, बुहारी भए पनि घरभित्र छिराउँदैनन्। गुठीमा त समाज त्यो परिवारलाई नै बाइकट नै गरिदिन्छन्। उनीहरु छुट्नै बस्नुपर्ने अवस्था आउँछ। केटी माथिल्ले र केटा तल्लो जातको छ भने विहेपछि राम्रो भएका उदाहरण पनि छन्।
अन्तरजातीय बिहेमा आर्थिक अवस्था र पावरको पनि कुरा आउँदो रहेछ । यदि तल्लो जातको भए पनि आर्थिक अवस्था राम्रो छ र पावरमा छ भने त्यो मानिस मर्नुपर्ने अवस्था आउँदैन। यदि नवराजको पनि आर्थिक अवस्थ राम्रो भएको भए मर्नुपर्ने थिएन की भन्ने पनि कहिलेकाँही सोचाइ आउने गर्छ।
म विवाहित युवती भएकाले पनि भन्छु की परिवारले दुवैको संकृतिलाई उत्तिकै सम्मान गर्नुपर्छ । अन्तरजातीय बिहेको अर्को फाइदा भने दुवैको संस्कृति बुझ्न पाउने अवसर हुन्छ । हामी सानो सानो स्टेप लिएर समाजलाई परिवर्तन गर्न सक्छौं।
त्यसले हामीजस्तो युवाले नै अन्तरजातीय विहेको शुरुवात गर्नुपर्छ। ता कि हामीले .लिएको सानो स्टेपले अर्को पुस्तालाई सहज होस् ।
आदर्श चटनी, विराटनगर
म जन्मिएको बस्ती ०६० सालपछि मात्र बसेकाले सबै जातिको वसोबास थियो। स्कुल र घरमा सबै एकै साथी भएकाले जातको आधारमा कसैलाई छुट्याउने हुँदैनथ्यो। मलाई मधेसी, पहाडी, दलित गैरदलितबीचको विभेदबारे त्यति याद नै छै।
तर, अहिले आएर थाहा भयो कि जातीय आधारमा समाज निकै ठूलो विभाजनमा छ। दलित र गैरदलितको त परको कुरा उपाध्याय बाहुन र जैसी बाहुनमा पनि फरक छ। दलित भित्र पनि कुन जातको दलित भन्ने हुन्छ। जात व्यवस्था टिकाउनुको मुख्य कारण नै रक्त शुद्धता हो। पहिले धर्मले जात व्यवस्थाको आधिकारितका पुष्टि गरिन्थ्यो अहिले आध्यात्मिक गुरुहरुले समेत वैज्ञानिक कारण देखाएर जातीय व्यवस्थालाई टेवा दिइरहेका छन्।
हाम्रो समाजमा अहिले पनि परिवार निकै बलियो संस्थाको रुपमा कायम छ। जसलाई सजिलै भत्काउन सकिँदैन। बा–आमा मात्र होइन नातागोटाले भनेको कुराले पनि उत्तिकै अर्थ राख्छ। यसले गर्दा अन्तरजातीय विवाह नगर्नमा भूमिका खेलिरहेको छ।
अन्तरजातीय विहेबाट जन्मीएको छोराछोरीलाई जातीय फरकपनाको त्यति वास्ता हुँदैन होला । त्यसैले अन्तरजातीय विवाहले अलिकति भए पनि उनीहरुको दिमागमा भएको जात व्यवस्था भत्कीन्छ होला। जातलाई लिएर हुने पारिवारिकक कट्टरपना कम हुँदै जान्छ होला।
तर, जात व्यवस्था भत्काउनको लागि यो नै अन्तिम विकल्प भने होइन। यो सँगसँगै अरु थुप्रै कुराको आवश्यकता पर्छ होला। जस्तो की भूमिहिन दलितहरुलाई के गर्ने ? यस्ता समस्या त कति छन् कति। यस्ता मुद्दाहरुमा मज्जाले काम नगरिकन परिवर्तन सम्भव छैन।
अस्मिता परियार, गोर्खा
मेरो गाउँ गोर्खा भए पनि म काठमाडौं मै हुर्किएँ। काठमाडौंमा विभेदको अनुभूति गर्नु परेन। तर, अहिले पनि गाउँमा जाँदा त्यहाँ जातको आधारमा हुने विभेद अत्यन्तै दर्दनाक छ। म सानै छँदा गाउँमा गएको थिएँ। धारामा गाग्री लिएर पानी भर्न गएँ । अर्को एक जना पनि पानी भर्दै हुनुहुन्थ्यो। उहाँले गाग्री उचालेर माथि राख्नुभयो र एक छिनमा गाग्रीमा भरेको सबै पानी खन्याउनुभयो र गाली पनि गर्नुभयो।
मलाई थाहा थिएन कि उनले किन त्यस्तो गरे। तर, घरमा गएर सोध्दा थाहा भयो म तल्लो जात भएकोले उहाँले त्यसो गर्नुभएको रहेछ। हाम्रोतिर अहिले जानुभयो भने जातीय विभेद अत्याधिक देख्नुहुनेछ।
विभेदको कारणले पनि होला मलाई अरु समुदायको भन्दा दलित साथीहरु भएपछि सहज लाग्छ। गैरदलितसँग बस्दा उहाँहरुले के सोचिरहनुभएको होला भन्ने जस्ता कुराहरु मनमा खेल्छन्।
अन्तरजातीय विवाह अहिलेसम्म हाम्रो परिवारमा भएको छैन । अझै पनि समाजमा अन्तरजातीय विवाहलाई स्वीकार गरिँदैन । तर, अन्तरजातीय बिहेकै कारणले मानिसहरुको मृत्यू भइरहेको देख्दा चाहीँ यस्तो बिहे नभए हुन्थ्यो भन्ने लाग्न थालेको छ।
यस्तो विवाहले सामाजिक स्वीकार्यता पाए त हुन्थ्यो तर, अहिलेसम्म पनि त्यस्ता विवाहले कुनै परिवर्तन ल्याएजस्तो लागेको छैन। यदि परिवर्तन भएको भए त मैले नि गर्छु भन्ने लाग्थ्यो होला। तर, अहिले मलाई यस्तो गर्नु हुँदैन भन्ने लाग्न थालेको छ। ब्राह्मणदेखि दलितसम्मका सबै जातीले आफ्नो थर हटाएपछि केही परिवर्तन हुन्थ्यो की !
आशिस मिश्र, महोत्तरी
म मधेसी समुदायबाट प्रतिनिधित्व गर्छु। मधेसमा मैले त्यति विभेदको सामना गर्नुपरेन। सायद त्यतिबेला विभेदको सामना गरेको भए अहिले काठमाडौंमा बस्न पनि सक्दैन थिएँ होला। मेरो घरमा पनि विभेदको त्यस्तो घटना भएको सुनको छैन।
तर, अहिले आएर कतै कतै विभेदको सामना गर्नुपर्छ। विद्यार्थी जीवनमा भोगको विभेदले मानसिकतामा गहिरो असर पार्दो रहेछ। आफ्नो विषयमा जिस्केको छ भने पनि म भएको भएर त यो प्रसंग आइरहेको छैन, म नभएको भए अरु नै कुरा हुन्थ्यो की भन्ने अनुभूति हुँदो रहेछ।
अन्तरजातीय विहेको कुरा गर्दा यसले सांस्कृतिक र ऐतिहासिक रुपमा जरा गाडेरै बसेको छ। मधेस र पहाडबीचको बिहे पनि सहज छैन । एउटै जात भयो भने पनि त्यहाँ गोत्रको कुरा आउँछ, गोत्र मिल्यो भने फेरि आर्थिकस्तरको कुरा आउँछ । यी सबै कुरामा पहिलो सर्त भने जात नै हो । हाम्रोतिर अन्तरजातीय भन्दा धार्मिक समुदायको कुरा पनि आउँछ। जस्तो कि हिन्दु, मुस्लिम, मधेस पहाड भन्ने कुरा बढी हेरिन्छ । परिवार र समाजमा पनि जातीय व्यवस्था त हुनैपर्छ भन्ने छलफल हुन्छ।
अन्तरजातीय विहेमा परिवारमा सहमतिमा आउने अहिले पनि निकै गाह्रो कुरा हो । दुवै तर्फको परिवारमा सहमतिमा आएपछि मात्र अन्तजातीय विवाहमा समस्या हुँदैन । मलाई पनि अन्तरजातीय विवाह हुनुपर्छ भन्ने नै लाग्छ । दुवै परिवारको कल्चरल एक्सचेन्ज भयो भने त्यसले कल्चरल सिफ्ट ग्लोबलाइलेजेसन ल्याउन सक्छ। परिवर्तन ल्याउन सक्छ ।
प्रनिता राई, मोरङ
मेरो जन्म र हुर्काइ विराटनगरमा भयो। जहाँ खस आर्य र मधेसी समुदायको बाहूल्यता थियो भने जनजाति समुदायका हामी मात्र थियौं । त्यसैले मैले धेरै बुलिङको शिकार हुनुपर्यो।
साथीहरु बनाउन पनि गाह्रो भयो। जनजाति समुदायको खाना र संस्कार उनीहरुको भन्दा फरक हुन्थ्यो।
हाम्रो समुदायमा बंगुरको मासुको ठूलो भ्यालु छ, पुजा आजामा पनि चढाउने गरिन्छ। सांस्कृतिक फरकपनाकै कारण घरबाट पनि यस्तो पकाउँदा साथीहरुलाई नल्याउनु नराम्रो हुन्छ भन्नुहुन्थ्यो।
मैले हुर्किँदै गर्दा मजस्तै बोल्ने र आफूजस्तो मानिसहरु नदेखेको कारण आफुलाई एक्लो महशुस गर्थें। पछि काठमाडौं आइसकेपछि भने जनजाति समुदायको मानिसहरुसँग घुलमिल हुने र कुरा गर्ने मौका पाएँ। उनीहरुसँग छुट्टै अपनत्वको महशुस हुन थाल्यो।
मेरा कतिपय फरक समुदायका साथीहरु हुनुहुन्छ। उहाँहरु राजनीति र सामाजिक काममा पनि सक्रिय हुनुहुन्छ। तर, उनले समुदाय र जातीलाई आक्षेप लगाएर कुरा गर्ने र राजनीतिक नेताहरू भाषण दिँदा आफूलाई नमिठो अनुभुति हुन्छ । बारम्बार त्यही कुरा सुन्दा मानसिक रुपमा खराव असर पर्दो रहेछ र सँधै उही जवाफ फर्काउन सम्भव पनि हुँदो रहेनछ । यस्तै कारण पनि साथीहरु छानिदै जाँदोरहेछ भन्ने लाग्छ ।
अहिले पनि अन्तरजातीय विवाह गर्दा धम्की आउने, हत्या हुने घटना साह्रै नै दुःखद हो। यस्तो बेला हामी युवा पुस्ताले सोच्न जरुरी छ कि हामीले कसरी प्रश्न उठाउने। किन यस्तो भइरहेको छ भनेर प्रश्न गर्न जरुरी छ।
अन्तरजातीय विवाहपछि हुने हिंसालाई निरुत्साहित गर्नुपर्छ। यसमा हाम्रै समाजले वाधा सिर्जना गरेको भएकाले त्यसको विरोध र अन्तरजातीय विवाहको अनुसरण हामीबाटै सुरु गर्नुपर्छ।
दलित लाइभ्स म्याटरले प्रस्तुत गरेको ‘कास्ट कन्भरसेसन’ शान्ता नेपालीको निर्देशनमा तयार भएको कार्यक्रम हो, जसलाई वृद्धिका सेञ्च्युरीले सञ्चालन गर्दै आइरहेकी छन्।
प्रत्येक अंकमा सात जना सहभागी हुनेछन्। जातसँग लैङ्गिकता, प्रेम र विवाह, जमिनको स्वामित्व, कला र साहित्य, प्रविधि, न्याय र शिक्षालगायत विविध विषय कसरी अन्तरसम्बन्धित छन् भन्नेबारे ‘कास्ट कन्भरसेसन’ ले प्रष्टता ल्याउने लक्ष्य राखेको छ। कार्यक्रम अहिले हिमालय टेलिभिजनबाट प्रत्येक बिहीबार राति ९:३० बजे प्रसारण भइरहेको छ।