Kathmandu Press

केआइआइटीबाट फर्किएका नेपाली विद्यार्थीको बयान- हामीमाथि आतंककारीलाई जस्तो व्यवहार भयो

'प्रकृतिको मृत्यु भएको सार्वजनिक भएपछि सबै नेपाली छात्रालाई होस्टेल भित्र थुनेर बाहिरबाट ताला लगाइयो'
केआइआइटीबाट फर्किएका नेपाली विद्यार्थीको बयान- हामीमाथि आतंककारीलाई जस्तो व्यवहार भयो
सबै तस्बिरहरू: नेपाल न्युज बैंक।

भारतको उडिसा राज्यको भूवनेश्वरस्थित कलिंग इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनापछि उत्पन्न परिस्थितको अझै सुलह भएको छैन।

आइतबार केआइआइटीको होस्टेलको कोठाभित्र प्रकृति मृत फेला परेकी थिइन्। त्यसपछि उनको न्याय माग गर्दै केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थीहरू आन्दोलित भएका थिए।

केआइआइटीले आन्दोलित विद्यार्थीमाथि दूर्व्यवहार, कुटपिटपछि होस्टेलबाटै निकालिदिएको थियो। घटना सार्वजनिक भएपछि नेपाल सरकारले तत्काल पहलकदमी लिएको थियो। सरकारले दिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयलाई घटनाबारे बुझेर नेपाली विद्यार्थीलाई होस्टेलमा फिर्ता गर्ने व्यवस्था मिलाउन भनेको थियो।

Hardik ivf

नेपाली विद्यार्थीमाथि भएको व्यवहारबारे सरकारले नै पहलकदमी लिएपछि तत्काल नेपाली विद्यार्थीहरूलाई होस्टेलमा बस्ने व्यवस्था गरिएको थियो। घर फर्किनका लागि बसपार्क र रेलस्टेशन पुगेका नेपाली विद्यार्थीहरूलाई फिर्ता गर्न विश्वविद्यालयका प्रशासनका कर्मचारी र प्रहरी नै पुगेको थियो।

घटनापछि प्रकृतिकी सहपाठी लखनऊ घर भएका आद्विक श्रीवास्तव पक्राउ परेका छन्। उनीसँगै नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने विश्वविद्यालयका कर्मचारी र सुरक्षागार्डसहित ६ जनालाई पक्राउ गरेको थियो।

विश्वविद्यालयले नेपाली विद्यार्थीलाई विश्वविद्यालय फर्कन भनेको थियो।

तर होस्टेलमा सुरक्षा चुनौती रहेको भन्दै बुधबार १२६ जना नेपाली विद्यार्थी रक्सौल हुँदै स्वदेश फर्किएका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले बुधबार १०३ छात्र र २३ छात्रा फर्किएको जानकारी दिए।

निमित्त प्रजिअ गौतमले फर्किएका विद्यार्थीले केआईआइटीका प्रशासनले धम्की र मानसिक यातना दिएको उनीहरूको गुनासो गरेका छन्।

फर्केकामध्ये केही विद्यार्थीसँग नेपाल न्युज बैंकले कुराकानी गरेको छ।

सोही विश्वविद्यालयको एयरोस्पेस संकाय तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी बेदानन्द मण्डलले आइतबारको घटना सम्झिए। प्रकृतिको मृत्यु भएपछि गर्ल्स होस्टेलमा रहेका सबै छात्राहरूलाई कोठाभित्र थुनेर बाहिरबाट ताला लगाइदिएको बताए।

त्यस्तै प्रकृतिको मोबाइल र ल्यापटपमा पनि इन्स्टिच्युट र होस्टेलका कर्मचारीहरूले छेडखानी गरेको उनी बताउँछन्।

Bedanand-Mandal---ink-1739974067.jpeg
'हामीले पछि नाराबाजी गर्न थालेपछि प्रशासनले बोलायो र २ घन्टाजति छलफल भयो। त्यो समयमा प्रकृतिको मोबाइल, ल्यापटपमा छेड्खानी भएको छ। कोठाको सामानहरु सबै मिलाउने काम भएको रहेछ,’ उनले भने।

उनले अभियुक्तविरूद्ध  प्रकृतीले दुई पटकसम्म लिखित उजुरी र त्यो भन्दा बढि प्रशासनमा गएर उजुरी गरेको बताए।

'यसमा केही एक्सन नै भएन। हामीले त्यो केटाको खोजी गर्दा उनीहरु पक्राउ परिसकेका छन् भन्ने कुरा आयो,' उनले भने।

अर्का विद्यार्थी अमिश पाण्डेले पनि सामानहरुको छेड्खानी पुलिसको सहभागितामा विश्वविद्यालय प्रशासनबाट भएको बताए।

यसको साथै, उनले ओडिसाको प्रहरी, विश्वविद्यालयका डिन, प्रशासनका मान्छे, होस्टेलको डाइरेक्टर सबैको अगाडि विद्यार्थीहरुलाई कुटपिट गरेको उनले बताए।

उनले भने, ‘त्यहाँ आन्दोलन गर्ने नेपाली विद्यार्थीहरुलाई विश्वविद्यालय प्रशासनले कुटपिट गरेको थियो। त्यसको भोलिपल्ट विश्वविद्यालयमा भएका जति पनि नेपाली विद्यार्थीहरु छन् उनीहरुलाई अर्को नोटिस नआएसम्मको लागि सस्पेन्ड गरिएको छ भनेर विश्वविद्यालयबाट नोटिस आयो,' उनले भने।

त्यसपछि होस्टल पनि छोडेर जान चेतावनी दिइएको उनले बताए।

'हामी घर आउने तयारी गर्ने क्रममा ओडिसाको पुलिस, विश्वविद्यालयको डिन, प्रशासनका मान्छे, होस्टेलको डाइरेक्टर सबैको अगाडि विद्यार्थीहरुलाई कुटपिट भइरहेको थियो। बसमा राखेर पनि कुटेका थिए के हामी आतंकवादीहरू थियौं’,' उनले भने।  

विश्वविद्यालयकै मान्छे र प्रहरीले नेपाली विद्यार्थीहरूलाई गाडीमा चढाएर बसपार्क र रेलवे स्टेशनमा छाडेको बताए।

Amish-Pandey-ink-1739974067.jpeg
घटनाबारे दुई देशकै ध्याक आकर्षित भएपछि भने कलेज प्रशासन केही नरम बनेका छन्। नेपाली विद्यार्थीहरूलाई दुर्व्यवहार गर्ने कर्मचारीहरूले सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै माफी मागेका छन्।

यसबीच परराष्ट्रमन्त्री आरजु राणा देउवाले ओडिसाका शिक्षामन्त्री मन्त्री सूर्यवंशी सुरजसँग पनि कुराकानी गरेकी छन्।

ओडिसाका मन्त्री सुरजसँगको टेलिफोन वार्तामा मन्त्री राणाले  नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेकी छन्। त्यस्तै नेपाली विद्यार्थीहरूलाई इन्स्टिच्युट फर्किने वातावरण मिलाउन र उनीहरूको सुरक्षा व्यवस्था सुनिश्चित गर्न आग्रह गरेकी छन्। (नेपाल न्युज बैंक)

प्रकाशित मिति: २०:०४ बजे, बुधबार, फागुन ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्