Kathmandu Press

विमलाको निर्णायक गोलमा कीर्गिस्तानमाथि नेपालको जित

१०औं मिनेटमा सविता रानामगरले उपलब्ध गराएको उत्कृष्ट क्रममा बिमलाले हेडिङमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। यो उनको राष्ट्रिय टिममा पहिलो गोल हो।
विमलाको निर्णायक गोलमा कीर्गिस्तानमाथि नेपालको जित

काठमाडाैं, फागुन ५ : चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ। सोमबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालले विमाला चौधरीको निर्णायक गोल मद्दतमा कीर्गिस्तानमाथि १–०को जित निकाल्यो। 

१०औं मिनेटमा सविता रानामगरले उपलब्ध गराएको उत्कृष्ट क्रममा बिमलाले हेडिङमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। यो उनको राष्ट्रिय टिममा पहिलो गोल हो। त्यसपछि पहिलो हाफमा नेपालले कीर्गिस्तानमाथि पूर्ण रुपमा दबाब बनायो। 

तर, नेपाली खेलाडीहरु फिनिसिङमा चुके। पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागतार दुई प्रहार बारमा लागेको थियो।

नेपालले दोस्रो हाफको सुरुआमै सावित्रा भण्डारीलाई मैदान प्रवेश गराउँदै कीर्गिस्तानविरुद्ध थप गोल गर्न रणानीति बनायो। तर, खेल त्यस्तो हुन सकेन। दोस्रो हाफमा कीर्गिस्तानले उत्कृष्ट खेल पस्कँदै नेपाललाई दबाबमा राखेको थियो। 

खेलमा सावित्रा भण्डारीले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न सकिनन्। खेलमा उनी फिका देखिइन्। उनी फ्रान्सबाट आजै बिहान मात्र नेपाल आइपुगेकी थिइन्। लामो ट्राभलको असर खेलमा देखियो।

दोस्रो हाफमा थप गोल नहुँदा नेपालको जितमा विमलाको गोल नै निर्णायक बन्यो।

यो सँगै नेपालले च्याम्पियनसिपमा ३ अंकसहित दोस्रो स्थानमा छ। आजै लेबनानलाई ३–१ले हराएको म्यानमार शीर्ष स्थानमा छ। 

अब नेपालले बिहीबार लेबनानसँग दोस्रो खेल खेल्नेछ।

प्रकाशित मिति: २०:१५ बजे, सोमबार, फागुन ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्