‘भ्यालेन्टाइन मनाउन कुनै विशेष दिन कुर्नु पर्दैन’
विशेषगरी प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे भन्ने वित्तिकै प्रेमील जोडीहरुले मात्र मनाउने भन्ने जनमानसमा बुझाई छ।
काठमाडौं, फागुन २ : नेपालसहित विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस मनाइँदै छ । नेपालमा पनि पर्वकै रुपमा मनाउने चलन बढ्दै गइरहेको छ। विशेषगरी युवावर्गले यसलाई उत्सव वा पर्वकै रुपमा मनाउने गरेका छन्।
यसदिन प्रेमी प्रेमिकाले एकार्कालाई विभिन्न उपहारहरु दिएर माया दर्शाउने र आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्तावसमेत राख्ने प्रचलन छ।
विशेषगरी प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे भन्ने वित्तिकै प्रेमील जोडीहरुले मात्र मनाउने भन्ने जनमानसमा बुझाई छ। तर प्रेम दिवस केवल दुई प्रेमीको लागि मात्र नभएर आफ्नो परिवारसँग माया साटसाट गर्ने अवसरका रुपमा लिने गरिएको मिस नेपाल एवम नायिका नम्रता श्रेष्ठ बताउँछिन्।

पछिल्लो समय प्रेम दिवस परसंस्कृति भएकाले यसका नाममा विकृति बढेको गुनासोहरु पनि धेरै आउने गरेको छ। तर श्रेष्ठले यस दिनका राम्रा र नराम्रा कुराहरु भएपनि सबैले त्यसलाई कन्ट्रोल वा ब्यालेन्स गर्नुपर्ने बताइन्।
‘मेरो सर्कलमा भ्यालेन्टाइन डे मनाएको देखेको छैन्। विभिन्न व्यवसायिक ब्राण्डहरुले सोही अनुसारको स्कीम ल्याएर फाइदा लिने गरेका छन्। भ्यालेन्टाइन डे स्पेसल अफर भनेको आफ्नो व्यापार राम्रो गरिरहनु भएको होला,’ उनी भन्छिन्, ‘अब प्रेम दिवस मनाउने भनेको प्रेम गर्ने मान्छेहरुसँग मनाउने होला। पार्टनर, श्रीमान, श्रीमती वा परिवार सबै मिलेर पनि मनाउन सकिन्छ। कन्ट्रोल र ब्यालेन्स गर्नुपर्छ।’
त्यस्तै नायक तथा निर्माता सलोन बस्नेतले आफूले पनि प्रेम दिवस मनाउँदै आइरहेको बताउँछन्। प्र्रेम दिवसको नाममा विकृति बढ्यो भन्ने भन्दा पनि राम्रो तरिकाले मनाउन प्रयास गर्नुपर्नेमा उनको जोड छ।
-(52)-1739513413.jpg)
प्रेम दिवसलाई राम्रो तरिकाले मनाउने हो भने माया अझ धेरै गाढा हुने दिन भएको उनी बताउँछन्।
अभिनेता अंकित खड्का आफूले कहिल्यै पनि प्रेम दिवस नमनाएको र मनाउन आवश्यक पनि नलाग्ने ठान्छन्।
झकिझकाउका साथ भ्यालेन्टाइन्स डे मनाउँदै गर्दा विकृति पैदा चाँही नगर्न आग्रह गर्दै उनले भने, ‘प्रेम दिवस मनाउने गरेको छैन। मनाउन आवश्यक पनि लाग्दैन। संस्कृति लिनु राम्रो हो तर कुन लिने कुन नलिने भन्ने कुरा हुन्छ।’ उनले प्रेम दिवसको निहुँमा विकृति नफैलाउन आग्रह गरे।
यस्तै, अभिनेत्री सरिना मगर पनि आफूले प्रेम दिवस नमनाएको बताउँछिन्। माया गर्नको लागि प्रेम दिवस नै कुरिराख्न नपर्ने उनको तर्क छ।
‘भ्यालेन्टाइन डे हाम्रा लागि हो जस्तो नै लाग्दैन। आफूमा र आफ्नो हेर्ने नजरमा भरपर्ने कुरा हो,’ उनी भन्छिन्।

भ्यालेन्टाइन डे आफूहरुका लागि नभएको लागेपनि यसले विकृति फैल्याएको जस्तो भने उनलाई लाग्दैन।
‘यो मनाउने नमनाउने आफ्नो इच्छाको कुरा हो । कसैले हरेक दिन भ्यालेन्टाइन्स डे मनाइरहेके हुन्छ। नमनाउनेले कहिले पनि मनाउँदैनन्,’ उनी भन्छिन्। -नेपाल न्युज बैंक












