भारतीय कम्पनी भित्र्याउने गरी ऐन संशोधनः व्यवसायी
काठमाडौ, फागुन १९ : सरकारले भारतबाट अमुल कम्पनी भित्र्याएर स्वदेशी कम्पनी विस्थापन गर्न खाेजेकाे डेरी उद्योगीले आराेप लगाएका छन् । उनीहरूले एक कम्पनील....

काठमाडौ, फागुन १९ : सरकारले भारतबाट अमुल कम्पनी भित्र्याएर स्वदेशी कम्पनी विस्थापन गर्न खाेजेकाे डेरी उद्योगीले आराेप लगाएका छन् । उनीहरूले एक कम्पनीलाई भित्र्याउन कानुननै संशोधन गर्न लागिएकाे बताएका छन् ।
भारतमा उत्पादन भएको दुध त्यहाँ खपत नभइरहेकाले अमुलमार्फत नेपाल ल्याएर बेच्ने चाल रहेको उद्योगीको भनाइ छ । अहिले अफ्रिकी तथा सार्क देशलाई केन्द्रविन्दु बनाएर भारतले आफ्नो दुध खपत गरिरहेको छ ।
संघीय संसद्मा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ दर्ता भएपछि डेरी उद्योगीले आपत्ति समेत जनाएका छन । सरकारले डेरी उद्योगको क्षेत्रमा विदेशी लगानी भित्र्याएर नेपाली उद्योग र किसानलाई समाप्त पार्न खोजेको आरोप लगाउँदै उनीहरूले डेरीको क्षेत्रमा आउने विदेशी लगानीलाई रोक्न आग्रह गरेका छन् ।
डेरी उद्योगी सुमित केडियाले सरकारले आफूहरूलाई उठीवास गराउन चाहेको आरोप लगाए । ‘राज्यले विदेशी लगानी भित्र्याएपछि बाध्य भएर कारोवार छाडेर हामीलाई वैदेशिक रोजगारमा जानुपर्छ या उनीहरूको उद्योगमा काम गर्नुपर्छ,’ उनले भने । डेरी क्षेत्रमा ३० अर्बको लगानी रहेको र एक अर्बभन्दा बढी कर तिरिरहेको उल्लेख गर्दै आवश्यकताअनुसार आपूर्ति भइरहेको अवस्थामा विदेशी लगानी भित्रिनु गलत भएको केडियाका् तर्क छ ।
नेपाल दुध विकास संस्थान (डिडिसी) का महाप्रबन्धक इश्वरीराज न्यौपानेले विदेशी लगानीले नेपालका किसान र उद्योगी धारासायी हुने बताए । ‘सुन्दैछु भारतको अमुल कम्पनी नेपालमा उद्योग स्थापना गरिरहेको छ, यदि त्यस्तो हो भने नेपाली किसान र उद्योगीका लागि दुर्भाग्य हुन्छ, हामी अमुल कम्पनीभन्दा कुनै कुरामा कमजोर छैनौ,’ उनले भने । दुधको क्षेत्रमा आत्मनिर्भर हुन गइरहेको बताउँदै यस अवस्थामा अमुल जस्ता अन्तर्राष्ट्रिय कम्पनी नेपालमा आयो भने किसान र उद्योगी धारासायी हुने उनको दावी छ ।
डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले नेपालीका डेरी उद्योग सक्षम भइसकेको सरकारले स्वीकार गरिसकेको अवस्थामा विदेशी लगानी भित्र्याउन गलत भएको बताए । नेपालमा हाल एक हजार आठ सय ५० डेरी उद्योग क्रियाशिल रहेको बताउँदै उनले सबै उद्योग आफ्नो क्षेत्रमा सफल रहेको दावी गरे । ‘देशको आवश्यकतालाई पूरा गरिरहेका छन् भने विदेशी कम्पनीको आवश्यक छै,’ उनले भने । देशको कुल ग्राहस्थ उत्पादनमा कृषिले मात्र २९ प्रतिशत योगदान दिइरहेको छ । त्यसमा दुध क्षेत्रले नौ प्रतिशत योगदान दिइरहेको बताउँदै उनले यसलाई धारासायी हुनबाट बचाउन सबैको कर्तव्य रहेको बताए ।
दुध क्षेत्रमा ३० अर्ब लगानी रहेको र २० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको उल्लेख गर्दै उनले यस क्षेत्रबाट दैनिक तीन करोड रुपियाँ शहरबाट गाउँमा गइरहेको बताए । नेपालका डेरी उद्योग अमुल कम्पनीभन्दा कुनै रुपमा कमजोर नरहेको बताउँदै उनले भने, ‘भारत जस्तो यहाँका डेरीलाई राज्यले सुविधा दियो भने अमुलभन्दा पनि राम्रो काम गर्न सक्छौं ।’
एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले विभिन्न बहानामा अमुलजस्ता अन्तर्राष्ट्रिय कम्पनी भित्र्याउने काम भइरहेको आरोप लगाए । ‘यो क्षेत्रमा पाँच लाखभन्दा बढी किसान लागेका छन् तर यदि विदेशी लगानी आयो भने ती सबै किसानको हालत के हुने हो ? त्यसको बारेमा कसैले सोचेको छैन,’ उनले भने ।
डिडिसीका सञ्चालक समितिका सदस्य शितलकाजी श्रेष्ठले डेरी क्षेत्रमा विदेशी लगानी आयोस् भनि कृषिमन्त्रीले पनि नचाहेको बताउँदै उनले केही सिमित व्यक्तिको चाहनाले यस्तो चलखेल भइरहेको बताए । ‘देशमा रहेका डेरी उद्योगलाई नै राज्यले राम्रोसँग सञ्चालन ग¥यो, सेवा सुविधा दियो भने विदेशी कम्पनीको आवश्यकता नै पर्दैन,’ उनले भने ।










-1754206481.jpg)