उत्तर कोरियाली नेता किम गम्भीर विरामी नभएको ट्रम्पको दाबी
काठमाडौं, वैशाख १३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन उन गम्भीर रूपमा अस्वस्थ भएको विवरणहरु ‘सही नभएको’ दाब....

काठमाडौं, वैशाख १३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन उन गम्भीर रूपमा अस्वस्थ भएको विवरणहरु ‘सही नभएको’ दाबी गरेका छन् ।
स्थानीय समय अनुसार बिहीबार ट्रम्पले उन गम्भीर विरामी भएको समाचार असत्य भएको दावी गरेका हुन । “उहाँ विरामी भएको सूचना विभिन्न माध्यमबाट मैले पाएँ, मलाई लाग्छ उहाँ विरामी भएका विवरण अरु असत्य हुन्,” कोभिड–१९ बारे नियमित सञ्चारकर्मीसँगको एक कुराकानीका सन्दर्भमा सोधिएको प्रश्नमा ट्रम्पले भने । मलाई लाग्छ किमको स्वास्थ्य अवस्थाबारेको रिपोर्ट सही छैन ।
मैले सुने अनुसार समाचार सार्वजनिक गर्ने ‘नेटवर्क’ले पूरानो कागजातलाई सूचनाको आधार बनाएको छ ।” उक्त अवसरमा राष्ट्रपति ट्रम्पले उत्तर कोरिया र त्यसका सर्वोच्च नेता किम जोन–उनसँग आफ्नो एकदमै राम्रो सम्वन्ध रहेको स्मरण पनि गरे । नेता किम स्वस्थ अवस्थामै रहेको उनले आशा व्यक्त गरे । उनले यसअघि गत मङ्गलबार उन गम्भीर अस्वस्थ भएको सूचना आएको भन्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
“उहाँ सिकिस्त विरामी हुनुभएको छ भन्ने विवरण मलाई प्राप्त भएको छ, अरु हामीलाई केही थाहा छैन, मैले केबल उहाँको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्न सक्दछु,” ट्रम्पले भने । तर उत्तर कोरियाली सरकारी अधिकारीहरुले भने किम विरामी भएको पुष्टि गरेका छैनन् । उनीहरुले पहिलाभन्दा अहिले कुनै फरक नरहेको दावी गरेका छन् ।












