जय ट्रफी : प्रदेशका टिमविरूद्ध विभागीय टिमको बलियो ब्याटिङ
सन्दीपको नाममा खराब कीर्तिमान, उच्च फर्ममा मयनकाठमाडाैं, पुस २४ : दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी एलिट कप’को दोस्रो चरण आजबाट सुरु भएको छ। जसमा दुई विभागीय टिमले प्रदेशका दुई टिमसँग खेलिरहेका छन्।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा विभागीय टिम नेपाल पुलिस क्लबले घरेलु टोली मधेस प्रदेशसँग खेलिरहँदा जनकपुरस्थित रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश भिडिरहेका छन्।
दुवै खेलमा प्रदेशका टिमविरुद्ध विभागीय टिमले बलियो ब्याटिङ प्रदर्शन गरेका छन्।
इमरान र बासिरको अधशतकमा आर्मीको ठूलो स्कोर
ओपनर इमरान सेख र मिडअर्डर ब्याट्सम्यान बासिर अहमदले अर्धशक प्रहार गरेपछि टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले पहिलो इनिङमा ठूलो स्कोर बनायो। उसले पहिलो इनिङमा छुट्याइएको ६० ओभर नै ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा २७६ रन बनायो। यो जारी प्रतियोगिताको सर्वाधिक ठूलो स्कोर हो।
उसका लागि इमरानले १०४ बलमा ११ चौका प्रहार गर्दै सर्वाधिक ७२ रन बनाए। इमरानले तृतराज दाससँग मिलेर आर्मीलाई उत्कृष्ट सुरुआत दिलाए। यी दुईले पहिलो विकेटका लागि २३.२ ओभरमा १०३ रनको साझेदारी गरे। यो प्रतियोगिताकै सबैभन्दा ठूलो साझेदारी हो। यसमा तृतले ४४ रन बनाए।
त्यसपछि बासिरले ६४ बलमा ८ चौका मद्दतमा ५३ रन बनाए। उनले छैठौं विकेटका लागि कुशल मल्लसँग ६९ रनको उत्कृष्ट साझेदारी गरेका थिए। जसमा कुशलले ४३ बलमा ३३ रन बनाए। त्यअसघि भीम सार्कीले पनि ३२ रनको योगदान दिए।
सन्दीपको नाममा खराब कीर्तिमान
पहिलो खेलमा १० विकेट लिँदै प्लेयर अफ दी म्याच बनेका बागतमीका कप्तान सन्दीप लामिछाने दोस्रो खेलमा भने चल्न सकेनन्।
आर्मीविरुद्ध उनले २२ ओभर बलिङ गर्दै १०३ रन खर्चेर २ विकेट लिए। योससँगै सन्दीप जय ट्रफीमा एकै इनिङमा सय रन बढी दिने पहिलो बलर बने। यस्तै उनले एकै इनिङमा सर्वाधिक ओभर बलिङ गर्ने रेडर्क समेत बनाए। सन्दीपबाहेक बागमतीका लागि विपिन आचार्यले ३ विकेट लिए।
ब्याटिङमा बागमतीको संघर्ष कायमै
प्रतियोगिताको पहिलो खेलमा जस्तै बागमतीले दोस्रो खेलमा पनि ब्याटिङमा सघंर्ष गरिरहेको छ। दिनको खेल सकिँदा बागमतीले २२ ओभरमा ५ विकेटको क्षतिमा १२४ रन बनाएका छ। उसका लागि शुभ कंशकारले सर्वाधिक ३४ रन बनाउँदा उत्तम थापा मगरले २८, रित गौतमले २१ र नन्दन यादवले १८ रन बनाएका छन्। नन्दन र विपिन क्रिजमा छन्।
खेलमा अझै बागमती १५२ रनले पछि छ। बागमतीलाई दबाबमा राख्ने क्रममा बलिङमा आर्मीका आकाश चन्दले ३ र सोमपाल कार्मीले २ विकेट लिएका छन्।
मधेसविरुद्ध बलियो अवस्थामा पुलिस
नारायणी रंगशालामा मधेसलाई १२६ रनमै अलआउट गर्दै आफ्नो इनिङ थालेको पुलिस दिनको खेल सकिँदा १७४–३को बलियो अवस्थामा छ। र, उसले ४५ रनको अग्रता बनाएको छ।
पुलिसलाई ओपनरद्वय कुशल भुर्तेल र दिलिप नाथले उत्कृष्ट सुरुआत दिलाए। यी दुई पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरे। जसमा कुशलले ६८ बलमा १० चौका प्रहार गर्दै ६३ रन बनाउँदा दिलिपले ७९ बलमा ४ चौका मद्दतमा ४० रन बनाए।
यी दुईबाहेक अमित श्रेष्ठले ३४ रन बनाउँदा गुल्सन झाले २० रन बनाए। कप्तान आरिफ सेख १३ रन बनाएर क्रिजमा छन्। बलिङमा मधेसका हरिशंकर साहले २ तथा अभिशेक तिवारीले १ विकेट लिए।
मधेसको खराब ब्याटिङ, मयनको अर्धशतक
आफ्ना दुई स्टार खेलाडीहरू अनिल साह र पवन सर्राफलाई चोटका कारण गुमाएको मधेश प्रतियोगितामा कमजोर टिमका रुपमा थियो। उसले विशेषतः ब्याटिङमा सोही अनुसारको प्रदर्शन गरेको छ। बुधबार नेपाल पुलिस क्लबविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको ऊ १२९ रनमै अलआउट भयो। उसका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके।
पहिलो खेलमा बागमती प्रदेशविरुद्ध दोस्रो इनिङमा शतक बनाएका नेपाली यू–१९ टिमका ओपनर मयन यादवले पुलिसविरुद्ध पनि अर्धशतक बनाए। उनले १०२ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ५७ रन बनाए। यस्तै, निरज यादवले २९ र अभिशेक तिवारीले १७ रन बनाउनुबाहेक अन्यको ब्याट चल्न सकेन।
गुल्सन ५ विकेट लिने पहिलो फास्ट बलर
युवा अलराउन्डर गुल्सन झाले मधेसविरुद्ध उत्कृष्ट बलिङ गरे। उनले मधेसको इनिङ धरासायी बनाउने क्रममा १३ ओभरमा ४ मेडनसहित ४० रन खर्चेर ५ विकेट लिए। योसँगै उनी जारी प्रतियोगितामा एकै इनिङमा ५ विकेट लिने पहिलो फास्ट बलर बनेका छन्।
यसअघि यो उपलब्धि पहिलो चरणमा बागमतीका सन्दीपले दुवै इनिङ तथा आर्मीका साहब आलम र पुलिसकै ललित राजवंशीले हासिल गरेका छन्।
यस्तै, कुशल भुर्तेलले २ तथा ललित राजवंशी र श्रवण यादवले समान १ विकेट लिए।