स्वामीकार्तिकमा एमालेलाई माओवादी उम्मेदवारको समर्थन, नेकपा एसलाई भोट हाल्न माओवादीको सर्कुलर
माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विकले एमालेकी उम्मेदवार सुलोचना भण्डारीलाई समर्थन गरेकी छन्। एमालेलाई समर्थन जनाएका कारण माओवादीभित्र विवाद बढेको हो ।बाजुरा, मंसिर १३ : बाजुराको स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्ष पदमा एकीकृत माओवादीकी उपाध्यक्ष उम्मेदवार राजुकमारी विकले एमाले उम्मेदवारलाई समर्थन गरेपछि विवाद बढेको छ।
विकले पार्टी निर्णय भन्दा विपरित एमालेका उम्मेदवारलाई समर्थन गरेपछि माओवादी केन्द्रले स्वामीकार्तिक गाउँपालिका उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवारलाई मतदान गर्न सर्कुलर गरेको छ। गत मंसिर ५ गते माओवादी केन्द्रकी उम्मेदवार विकले उम्मेवारी फिर्ता गर्दै एमालेलाई समर्थन जनाएकी थिइन्।
माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विकले एमालेकी उम्मेदवार सुलोचना भण्डारीलाई समर्थन गरेकी छन्। एमालेलाई समर्थन जनाएका कारण माओवादीभित्र विवाद बढेको हो । स्वामीकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा माओवादी सम्बद्ध गाउँपालिका समितिले नै एमालेको उम्मेदवारलाई भोट हाल्न निर्देशन गरेको छ।
माओवादी उम्मेदवार विकले एमाले उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादी बाजुरा जिल्ला संयोजक देवीचन्द्र बुढाले यसअघि एक विज्ञप्ति निकालेर आपत्ति जनाएका थिए। माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी राजुकुमारी विक एमालेको चुनाव प्रचारमा हिँडेकी छन्।
यता, माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका सुदूरपश्चिम प्रदेश ईन्चार्ज गिरिराजमणि पोखरेलले एकीकृत समाजवादीकी उम्मेदवार जवा शाहीलाई भोट हाल्न निर्देशन दिँदै पत्रमार्फत सर्कुलर जारी गरेका छन्।
पोखरेलको पत्रमा भनिएको छ, ‘माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएकी राजुकुमारी विकले उम्मेदवारी फिर्ता लिइ एमालेको चुनाव प्रचारमा सहभागी भएको र संयोजन समितिका सचिवसहित केही जिम्मेवार कार्यकर्ता एमालेको उम्मेदवारलाई समर्थन गरी प्रचारमा हिड्नु पार्टीको केन्द्रीय नीति विपरीत छ।’
समाजवादी मोर्चालाई बलियो बनाउने नीतिअनुसार समाजवादीका उम्मेदवारलाई भोट हाल्न निर्देशन दिएको पत्रमा जनाइएको छ।
स्वामीकार्तिकको उपाध्यक्षका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुँदैछ। २०७९ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मैना जोशीको निधन भएसँगै उपाध्यक्ष रिक्त छ।