रास्वपाका नेताको भाषणको क्लिपसहितका विवरण पेस गर्न सर्वोच्चको आदेश
सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार निवेदकलाई भाषण सहितका सम्पूर्ण कागजातहरू पेस गर्न आदेश दिएको हो।काठमाडौं, मंसिर १२ : सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेताले सार्वजनिक रूपमा गरेका भाषणको क्लिपसहितका विवरण पेस गर्न आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार निवेदकलाई भाषण सहितका सम्पूर्ण कागजातहरू पेस गर्न आदेश दिएको हो।
अधिवक्ता अनुपम भट्टराईले दायर गरेको अदालतको अवहेलना मुद्दामा निवेदकको तर्फबाट उपस्थित अधिवक्ताद्वय अनुपम भट्टराई तथा उपेन्द्र रावतले बहस गरेका थिए।
‘निवेदकले निवेदनसाथ पेस गरेको कागजातको पूर्णपाठ तथा भिडियो क्लिप तथा सो भिडियोलाई लिपिबद्ध गरी निवेदकबाट यथाशीघ्र पेस गर्न लगाई नियमानुसार पेस गर्नु।’ अदालतको आदेशमा उल्लेख छ।
सर्वोच्चले भिडियोमा भनिएका कुरा उतार गरेर समेत पेस गर्न आदेशमा भनेको छ।
सहकारी ठगी प्रकरणमा अदालतको अनुमतिले थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेको थुनामुक्तिका लागि रास्वपाले गरेको आन्दोलनका क्रममा न्यायलयको जन आस्थामा असर पर्ने गतिविधी गरेको दाबीसहित अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो।
अधिवक्ता भट्टराईले अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको रिट निवेदनमा दावी छ।
रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त मर्हजन, तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, सोविता गौतम लगायतलाई विपक्षी बनाई अदालतको अवहेलना मुद्दा दर्ता गरिएको थियो।