प्रतिष्ठाको लडाईं बन्दै उपनिर्वाचन, प्रचारप्रसारमा दलहरू
आगामी मंसिर १६ गते ४० स्थानमा हुने स्थानीय तह उपनिर्वाचनलाई राजनैतिक दलहरुले जनमत परीक्षणका रूपमा लिएका छन।काठमाडौं, मंसिर १२ : स्थानीय तह उपनिर्वाचन प्रमुख राजनैतिक दलविच प्रतिष्ठाको लडाईं बन्न पुगेको छ।
आगामी मंसिर १६ गते ४० स्थानमा हुने स्थानीय तह उपनिर्वाचनलाई दलहरुले जनमत परीक्षणका रूपमा लिएका छन।
दुई जिल्ला समन्वय समिति प्रमुखसहित ४२ पदका लागि उपनिर्वाचन तोकिएकोमा ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा टीकाकुमार चौधरी(भुल) निर्विरोध निर्वाचित भएका छन्।
यस्तै, रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती पनी निर्विरोध चयन भएका छन्।
कीर्तिपुर नगरपालिका नगर प्रमुखमा कांग्रेस, एमाले, माओवादीलाई प्रमुख प्रतिस्पर्धीका रुपमा हेरिएको छ। यद्धपी कीर्तिपुरमा स्वतन्त्र उम्मेदवार पनि प्रतिश्पर्धामा छन्। २०७९ मा भएको निर्वाचनबाट कांग्रेसका राजकुमार नकर्मी नगर प्रमुखमा निर्वाचित भएका थिए। नगर प्रमुखमा निर्वाचित भएका नकर्मीको निधन भएपछि उक्त पदमा उपनिर्वाचन हुन लागेको हो।
कीर्तिपुरको नगर प्रमुख पदका लागि २० जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिएकामध्ये ११ जना स्वतन्त्र छन् भने कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर, माओवादीबाट शिवशरण महर्जन र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ।
स्वतन्त्रबाट उम्मेदवार बनेका राजमान मानवको पनि चर्चा छ। राष्ट्रिय स्वतन्त्र पार्टीले भने कीर्तिपुरमा उम्मेदवारी दिएको छैन।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले माओवादीका महर्जनलाई समर्थन गरेको छ। कीर्तिपुर नगरपालिकाको वडा न. १ र ४ मा पनि वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै छ।
उपनिर्वाचन हुन लागेका स्थानमध्ये विगतमा कांग्रेसले कीर्तिपुरको मेयरसहित २७ स्थानमा र एमालेले ९ स्थानमा जितेका थिए। मध्यावधि मूल्याङ्कनका रुपमा हेरिएको उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाका साथै वडा तहको चुनावमा दलहरू आफ्नो पक्षमा जित निकाल्न शक्ति केन्द्रित गरेर प्रचारप्रसामा होमिएका छन्।