चीन भ्रमणमा कुनै ऋण सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
सोमबार पूर्वप्रधानमन्त्री तथा पूर्वपराष्ट्रमन्त्रीहरुसँगको छलफलमा ओलीले ऋणसँग सम्बन्धी कुनै सम्झौता नहुने बताएका हुन्।काठमाडौं, मंसिर १० : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने प्रश्ट गरेका छन् । प्रधानमन्त्री ओली आगामी मङ्सिर १७ गतेदेखि चीन भ्रमणमा जाँदै छन्।
सोमबार पूर्वप्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले ऋणसम्बन्धी सम्झौता नहुने प्रश्ट पारेका हुन् । ओलीले बीआरआइ ऋणको परियोजना नभएको बताउँदै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको बताएका थिए।
छलफलमा ओलीले चीनसँग लामो मित्रवत सम्बन्ध रेहको बताउँदै देशको मित्रतालाई थप बहुआयामिक बनाउन भ्रमण गर्न लागिएको बताए।
ओलीले सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिजाउँनुको कुनै अर्थ नरहेको पनि स्पष्ट गरे।
‘विश्व शान्ति र नेपालको हितमा बाहेक हामी अरु कुनै काम हामी गर्दैनौँ । म यसमा ढुक्क हुन आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीले छलफलमा भनेका थिए।
ओलीले चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयन, प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी दिए।
छलफलमा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व परराष्ट्रमन्त्रीहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा. प्रकाशचन्द्र लोहनी, डा विमला राई पौड्याललगायत सहभागी थिए।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको कार्यक्रममा धनुषामा रहेका कारण छलफलमा उपस्थित हुन असमर्थ रहेको जनाइएको छ।